श्रावणको महिना शिव साधना गर्ने सनातन हिन्दु धर्मावलम्बीहरुको लागि दैहिक, दैविक र भौतिक ताप, चिन्ता र दुःख बाट छुटकारा र मुक्ति पाउनको लागि अत्यन्त नै अनुकूल समय मानिन्छ । यस महिनामा भगवान महाकाल शिव र भगवती महाकाली दुर्गाको यस धरा धाममा जहां पनि निराकार र साकार शक्ति स्वरूपको अनुभूति गर्न सकिन्छ। शिव र शक्तिको चेतना संग आबद्ध हुन तथा त्यस शक्ति भित्र आफूलाई समाहित गरी परम चेतना सँग जोडिनको बालकको वृद्धको युवाको महिलाको पुरुष सबै अत्यन्त उल्लास, हर्ष र आनन्दका साथ आफ्नो जीवनका सुख दुःखलाई भगवान शिवको अगाडि सुनाउन श्रद्धा भक्तिका साथ शिवको आराधनामा लागेका भेटिन्छन् । मानव जीवन अत्यन्त दुर्लभ योनि हो । जन्म र मृत्युको चौरासी लाख योनिको चक्कर काटेपछि जति बेला बेला पाप र पुण्यको हिसाब किताब बराबर हुन्छ त्यति वेला मानव शरीर प्राप्त गर्ने सुयोग प्राप्त हुने भएकोले चौरासी लाख योनिको धारण गराउने आदि शक्ति पराम्बा भगवती महाकाली प्रति नतमस्तक हुनु र समर्पित भई कृपा प्राप्त गर्नु प्रत्येक मानिसको कर्तव्य हो । भगवान शिव औढर दानी हुनुहुन्छ र, दयालु होइबक्सिन्छ । यस सृष्टिका हरेक प्राणीको ईश्वर भगवान भोलेनाथ नै भएकोले उहाँलाई पशुपतिनाथको नामले पनि चिनिन्छ । श्रावण महिनामा जो शिव भक्त बोलबम बनेर बोलबम बोलबम भन्दै प्रसिद्ध ज्योतिर्लिङ्ग भएको शिव मन्दिरमा कावरमा गंगाजल बोकी भगवान शिवलाई जल अर्पण गर्दछ त्यसले शिव र शक्तिको कृपा प्राप्त गर्दछ भन्ने पौराणिक आख्यान र जनश्रुति रहेको छ। । प्रायजसो साउन महिना भरि स्थानीय शिव मन्दिरमा पनि भगवान भोलेनाथ महादेवलाई जल र बेलपत्र चढाउने हरुको घुँइचो लाग्ने गरेको पाइन्छ। नेपालमा पशुपतिनाथको मन्दिरमा दर्शन गर्न यति बेला भारतीय शिवभक्तहरुको ठूलो भीड लागि रहेको भेटाउन सकिन्छ।भगवान शिवलाई पाउन र खुसी पार्न अत्यन्त नै सजिलो छ । भगवान पशुपतिनाथ मन्दिरमा शिवको जुन ज्योतिर्लिङ्ग स्थापित छ । त्यसमा पूर्वको ढोकाबाट दर्शन गर्न जाँदा शिवको तत्पुरुष स्वरूपको दर्शन हुन्छ भने दक्षिण ढोकाबाट भगवान शिवको अघोर्मुख स्वरूपको दर्शन हुन्छ, ईशान कोणबाट भगवान ईशान मुखको दर्शन र उत्तर ढोकाबाट भगवान वामदेवको तथा पश्चिमतिर फर्की सद्योजात मुखको दर्शन गर्नु पर्छ । पश्चिम ढोकाबाट अन्तिम पटक दर्शन गर्न जाँदा पशुपतिनाथको पाँच वटै मुखको दर्शन गरी मनोकामना पूर्तिको लागि भगवान शिवसंग प्रार्थना गर्नुपर्छ ।
भगवान शिवको साधना गर्नु घोर अर्थात् कठिन नभएकोले यसलाई अघोर भनिएको छ । शिवको अघोर साधना भित्रै गरिने पूजा विधिहरू फरक फरक हुन सक्दछन । सजिलो भन्दा सजिलो पूजा विधि भनेको भगवानलाई जल र पुष्प अर्पण गर्नु हो । शिवलाई प्रसन्न पार्न कुनै जप, तप, मन्त्र आदिको आवश्यकता छैन भन्ने मान्यता अघोर साधनासंग सम्बन्धित छ ।
उपनिषदमा भगवान शिवसंग स्वस्थ र अमृत जीवनको लागि यसरी प्रार्थना गरिएको छ । शुद्ध गन्ध युक्त शरीर, आत्मा र समाजको बल वृद्धि गर्ने रुद्र रूप भगवान जगदीश्वर हामीहरू निरन्तर स्तुति गर्दछौं । प्रभुको कृपाले जसरी खरबुजा फल पाके पछि आफ्नो लहराको बन्धनबाट छुटि अमृत तुल्य हुन्छ, त्यसरी नै हाम्रो जीवन मृत्युको बन्धनबाट मुक्त गरी अमृततुल्य बनाई दिनुहोस् । वेदमा भगवान शिवलाई यसरी प्रार्थना गरिएको छ, हे प्रभु, हामीलाई असत्यबाट हटाई सत्यमार्गमा लगाई दिनु होस । जीवनमा रहेको अन्धकारलाई हटाई शुभ ज्योति कण फैलाई दिनु होस । प्रभु, जन्म र मृत्युको भव बन्धनबाट मलाई मुक्त गरी दिनुहोस् ।
मानिसको मन अज्ञानताले भरिएको छ । यो अज्ञानता भनेको हामी र तपाईंको मन भित्रैको अज्ञानता हो । अन्धकारको कुनै सीमा छैन । मन भित्रको अँध्यारोपना हटाउन कति उज्यालो चाहिँदो रहेछ त्यो तपाईंको आन्तरिक आध्यात्मिक शक्तिमा भर पर्दछ । तपाईंको मन भित्रको आंतरिक उर्जाले नै ईश्वरको शक्तिसंग तपाईंको साक्षात्कार गराउन सक्दछ । कर्म फलमा आधारित अँध्यारोपनालाई उज्यालोको ओकाली र ओरालीमा डो¥याउने कार्य पनि कर्म फलमा आधारित हुन्छ । भगवान शिवको आराधना र तपस्या गरी मनोकामना पूर्ति भएको कथाले धैरै श्रद्धालुजनहरुको हौसला र उत्साह बढेको पाईन्छ । भगवान शिव सर्वव्यापी हुनुहुन्छ । भनिन्छ लंकामा राजा रावणले पनि भगवान शिवको कठोर तपस्या गरी शिवबाट वरदान प्राप्त गरेका थिए । शक्ति र शिवको सन्तुलनबाट नै संसार चलायमान रहेको छ । शिवको कृपाले नै शक्तिबाट संसारको जीवन चक्र चलिरहेको छ । भगवान शिवले देवासुर संग्रामको समयमा देवता र असुरहरूले गरेका समुन्द्र मन्थनबाट हलाहल अर्थात् विष कलश प्राप्त भएपछि त्रासले देवता र असुर समुह दुबै खलबली मच्चिएको थियो । भगवान शिवले आफै हलाहल पान गरी देव र दानव दुवैलाई सन्तुष्ट गर्नु भएको थियो । भगवान रामले लंकामा राजा रावणलाई परास्त गर्न दक्षिण भारतको रामेश्वरमा ज्योतिर्लिङ्ग स्थापना गरी भगवान शिवसंग लङ्का विजयको लागि शक्ति प्राप्त गर्नु भएको थियो । भगवान शिव जस्ता ज्ञानी, ध्यानी र दाता देव दानव, यक्ष, गन्धर्व कहीँ छैन । साउन महिना हिन्दुहरूको लागि यस कारणले पनि महत्वपूर्ण छ किन कि हिमालयदेखि कन्याकुमारीसम्म सर्वत्र हरहर महादेव र ओम नमः शिवाय मन्त्रको गुञ्जायमान भइरहेको हुन्छ । पहेंलो बस्त्र धारण गरी शिव आराधना गर्नेहरूको बोलबम यात्राले अहिले समग्र संसारको ध्यान आकर्षित गरेको छ । शिव भक्तहरूले सकेसम्म यो साउन भरि नै माछा, मासु, मदिरा र पियाज, लसुनलाई पनि पूर्ण रूपमा उपभोग गर्न निषेध गरेका हुन्छन् । काम, क्रोध, लोभ मोह र अहंकारलाई नियन्त्रण गरेका हुन्छन् । काम वासनालाई समेत दमन गरेका हुन्छन् । भगवान शिव समस्त प्राणीहरूको रक्षक हुनुहुन्छ । सबै किसिमका पापकर्महरूको ध्वंस गर्न सक्षम हुनुहुन्छ । भगवान शिव परम ईश्वर हुनुहुन्छ । गजराजको चर्म लगाउनुहुन्छ तथा सबै देवताहरूमा श्रेष्ठ मानिनुहुन्छ । भगवान शिवको जटाजुटमा माता गंगाजीको अविरल प्रवाह प्रवाहित भइ रहनु भएको छ । त्यस्ता एकमात्र कामारि श्री महादेवजीको स्मरण गरेपछि मानिसले सबै किसिमका दुःख र कष्टबाट छुटकारा प्राप्त गर्न सक्दछन । भगवान शिव कैलाशनाथ हुनुहुन्छ । सबै गणहरूको गणनाथ हुनुहुन्छ । भगवान शिव नीलकण्ठ हुनुहुन्छ । भगवान शिवका अनेकौं रूपहरू छन् । संसारको उत्पत्तिका आदि कारण भगवान शिव नै हुनुहुन्छ । भगवान शिव समस्त जगतको प्रकाश स्वरुप हुनुहुन्छ । भगवान शिव आफ्नो शरीरमा चिताको भष्म लगाएर रमाउनुहुन्छ । भगवान शिव सँग श्री पार्वतीजी हुनुहुन्छ त्यस्ता पञ्चमुख महादेवको भजन नगरी प्राणीहरूले आत्म कल्याण प्राप्त गर्न सक्दैन । महादेव पार्वती वल्लभ हुनुहुन्छ। हे महेश्वर, हे त्रिशुलीन, हे जटाजूट धारिन, हे विश्वरुप, एकमात्र तपाईं शिव नै जगतमा व्याप्त हुनुहुन्छ, भगवान शिव परमात्मा हुनुहुन्छ इच्छारहित हुनुहुन्छ। निराकार हुनुहुन्छ। र प्रणव ध्वनि अर्थात् ओम नमः शिवायको जप गरेर जान्न सकिन्छ । भगवान शिवबाट नै सम्पूर्ण विश्वको उत्पत्ति र पालन हुन्छ । र अन्त्यमा फेरि भगवान शिवमा नै सम्पूर्ण जगत वीलिन हुन्छ । त्यस्ता भगवान शिवलाई किन भजन नगर्ने भन्ने कुरामा विचार गर्नुपर्दछ। भगवान शिवलाई साकार र निराकार दुवै रुपमा पाउन सकिन्छ तथा भेटाउन सकिन्छ तर शिवलाई भेटाउन आफूलाई पूर्णरूपमा शिवप्रति समर्पित हुनुपर्दछ। भगवान शिव पृथ्वी होइन, जल होइन, आगो होइन, वायु होइन, आकाश होइन, तन्द्रा होइन, निद्रा होइन, ग्रीष्म होइन, शीत होइन र भगवान शिवको न कुनै देश छ, न कुनै भेष छ । भगवान शिवको कुनै मूर्ति छैन । तर पनि भगवान शिव त्रिमूर्ति हुनुहुन्छ र पञ्चमुखी हुनुहुन्छ । भगवान शिवलाई भगवान शिवकै योगबाट जान्न सकिन्छ । भगवान शिव अजन्मा हुनुहुन्छ, नित्य हुनुहुन्छ, सर्वत्र व्यापी हुनुहुन्छ ।
सबै कारणहरूको पनि कारण हुनुहुन्छ ,कल्याण स्वरुप हुनुहुन्छ, प्रकाशहरूको पनि प्रकाश स्वरुप हुनुहुन्छ, त्यस्ता अनन्त व्यापी भगवान शिवलाई नमन र प्रणाम गर्नु पर्दछ। हे प्रभु, हे विभो, हे विश्वनाथ, हे महादेव, हे शम्भु, हे महेश्वर, हे पार्वती वल्लभ, हे शान्त, हे कामारि, हे त्रिपुरारी, शिव बाहेक संसारमा कोही पनि श्रेष्ठ छैन, मान्य छैन र गणना गर्न लायक छैन ।यो लिङ्गस्वरूप समस्त जगत नै शिव बाट उत्पन्न हुन्छ र शिव शक्ति मै विलीन हुन्छ । हर हर महादेव ।

Author

You may also like