काठमाडौं, १७ कार्तिक
नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले प्रतिपक्षीहरुको आवाज नसुनेका कारण नागरिकका समस्या समाधान नभएको दाबी गरेका छन् ।
बिहीबार राष्ट्रियसभामा सम्वोधनकाक्रममा उनले गठवन्धनका नामबाट चलेको सरकारले प्रतिपक्षीका आवाजलाई दबाउन खोजेको समेत आरोप लगाए । प्रतिपक्षीले नागरिकका पीर, समस्याजस्ता समसामयिक विषयहरु उठाए पनि सरकार त्यसप्रति उदासिन बनेको दाहालको भनाई छ ।
मुल्यवृद्धि अकाशिँदा सरकारले नागरिकलाई सहुलियत दिलाउनतर्फ कुनै ध्यान नदिएको, बाढीले जनजीवन समस्यामा पर्दासमेत उपेक्षा गरेको, लम्पीस्किनले पशुधनमा ठूलो नोक्सानीहुँदा समेत किसानलाई राहत उपलव्ध नगराएको भन्दै दाहालले आक्रोश व्यक्त गरे ।
राज्यका संयन्त्रहरु अहिलेको सरकारले कमजोर बनाएको, प्रतिपक्षी दलका शीर्ष नेताहरुमाथि आक्रमण हुँदा र अनर्गल प्रचार भइरहँदा पनि कुनै कारबाही हुन नसकेको नेता दाहालले बताए ।
दाहालले एक अर्को प्रसंगमा बोल्दै इजरायलमा भएको आक्रमणमा परि बेपत्ता पारिएका नेपाली विद्यार्थीको अवस्था सार्वजनिक गर्न सरकार समक्ष माग समेत गरेका छन् ।
राष्ट्रियसभामा सम्वोधनकाक्रममा उनले इजरायलमा भएको आक्रमणमा परि बेपत्ता भएका नेपाली विद्यार्थी कञ्चनपुरका बिपीन जोशीको उद्धार गर्नेतर्फ सरकारले कुनै ध्यान नदिएको समेत बताए । घटनामा परि ज्यान गुमाएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै उनले अहिलेसम्मको अवस्थाबारे थाहा नभएका जोशीको खोजी र उद्धार गर्न तथा अवस्था सार्वजनिक गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यसै गरि मुगुमा ४ जनाको सामुहिक हत्या भएको एक साता हुँदा समेत घटनामा संलग्नहरु प्क्राउ नपर्नु दुःखद भएको भन्दै उनले सो घटनामा संलग्नहरुलाई अविलम्ब पक्राउ गरि कानूनी दायरामा ल्याउन समेत माग गरेका छन् ।