दमक, १७ कार्तिक
सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निणर्य बदर गरे लगत्तै बिहीबार नै उनलाई प्रहरीले पक्राउ गरेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निणर्य बदर गर्ने आदेश गर्यो । अदालतले उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएपछि उनी नेपालगञ्जबाट पक्राउ परे । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले जनाए ।
सर्वोच्चको फैसलापछि उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको छ ।
आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निणर्य खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
सरकारको निणर्यविरुद्ध चेतनकी श्रीमती भारती असोज १७ देखि अनशन समेत बसेकी थिइन् । दशैंका बेला स्थगित अनशन उनले फेरि सुरु गरेकी थिइन् भने कार्तिक १३ मा अनशनस्थलमै उनी बेहोस समेत भएकी थिइन् । ढकाललाई पुनः सजायको फैसला सुनाएपछि भारती निकै भावुक हुँदै सर्वोच्च अदालत परिसरको भूँइमा ढोगेकी थिइन् ।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २०७२ असार २८ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा ढकालमाथि मुद्धा लागेको थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि ढकाल जिल्ला कारागार, दाङबाट छुटेका थिए । ढकालको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो ।