Banner राजनीति समाचार

सरकारप्रति सांसदहरुको व्यापक असन्तुष्टि

दमक, १७ कार्तिक

प्रतिनिधिसभामा चालु संसदको अन्तिम बैठकमा बोल्दै सांसदहरुले सरकारप्रति व्यापक असन्तुष्ठि व्यक्त गरेका छन् । संसद प्रभावकारी बन्न नसकेको अर्कातर्फको असन्तुष्ठि पनि उस्तै देखियो । यहाँसम्मकी सत्ता पक्षकै सांसदले समेत उभिएर विरोध जनाएका थिए ।
बिहीबारको बैठकमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले सरकारले नै संसद्लाई प्रभावकारी बनाउन भूमिका खेल्न नसकेको आरोप लगाए । उनले चालु अधिवेशनको उपलब्धि समेत निराशाजनक रहेको बताए । उनले भने ‘अरू कसैको कारणले होइन, सरकारकै कारणले हो । सरकारले नै संसद्लाई प्रभावकारी बन्न दिएन ।’ उनले सरकारले जनताका लागि प्रभावकारी गतिविधि गर्न नसकेको भन्दै व्यापक असन्तुष्ठि व्यक्त गरे ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले देउवा, ओली र प्रचण्डको हातमा सार्वभौम सत्ता घुमेको आरोप लगाउँदै सरकार उपयोगी बन्नै नसकेको बैठकमा टिप्पणी गरे । उनले नेपाल टाइटानिक डुबेजस्तै डुबिराखेको प्रतिक्रिया दिए । उनले देश डुबिरहेको अवस्था संसदको कामबारबाहीले देखाइरहेको बताए ।
‘म जनतासँग क्षमा माग्न चाहन्छु । र भन्न चाहन्छु-यो देश टाइटानिक डुबेजस्तै डुबिराखेको छ । यो डुबाउने अरु कोही होइन, यसका चालकहरु नै हुन् ।’ उनले भने । देश डुबिराख्दा नेता र कर्मचारी सुरक्षित रहेको तर जनता डुब्न लागेको उनको टिप्पणी छ संसदमा कसले के उठायो र कसले के विषय ल्यायो भन्ने विषयले कुनै अर्थ नराख्ने उनको भनाइ छ । ‘यहाँ राखिएका कुनै पनि कुरा वा तपाईंहरुले हालेको कुन संशोधन पारित भयो ?’ उनले सांसदलाई भने । ३४ वर्षमा देशलाई कहाँ पुर्यायौं ? सोच्नुपर्दैन ?’ ठूला दललाई उनको प्रश्न छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि भन्ने आशंका उत्पन्न भएको बताएका छन् । सत्तारुढ दलका जनहित विपरितका गतिविधिले राजावादीहरुले गतिविधि बढाएर संघीयता खारेज गर्नेतर्फको काममा मलजल पुगिरहेको हुनसक्नेतर्फ संकेत गरे । उनले माधव नेपाल र वर्षमानपुनप्रति लक्षित गर्दै भने ‘के संसद कक्षाकोठा हो कि असल नीति निर्माण बनाउने ठाउँ हो ?
बैठकमा बोल्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले यो व्यवस्था गुम्छ कि भनेर धेरै सांसदहरूमा चिन्ता देखिएको बताउँदै कसका कारण व्यवस्था खतरामा छ छुट्याउन आग्रह गरे । सो क्रममा उनले भने- ‘यो व्यवस्था गुम्छ कि भनेर धेरैमा चिन्ता देखियो । तर म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु, के यो व्यवस्था, यो संविधान, अरू कसैका कारण खतरामा छ कि तपाई हाम्रै चरित्र, तपाई हाम्रै व्यवहारका कारणले खतरामा छ ? यो कुरा छुट्याउन जरुरी छ । हामीले व्यवस्था जोगाउनका लागि प्राथमिकता दिएको भए आज यो चिन्ता गर्ने अवस्था आउने थिएन । अहिले हामी यो व्यवस्था जोगाइरहेका छौँ कि आफ्ना मान्छे जोगाइरहेका छौँ छातीमा हात राखेर सोच्ने बेला आएको छ ।’
बैठकमा बोल्ने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा चुनौतीहरू र समस्याहरू रहेको भन्दै त्यसलाई महसुस गर्नुपर्ने बताए । ‘ती चुनौती र समस्याहरू हाम्रै नालायकीका कारणले आएका छन् अरूका कारणले होइन । अरूलाई दोष पन्छाएर पुग्दैन’, नेपालले आफ्नै अयोग्यता र सिस्टम बसाल्न नसक्दा समस्या सिर्जना भएको बताए ।
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले अहिलेको अवस्थामा देशले सङ्घीयता धान्न नसक्ने बताएका छन् । उनले लोकतन्त्र गुम्यो भने यसलाई प्राप्त गर्न कठिन हुने उल्लेख गर्दै लोकतन्त्र गए दलहरूकै कारण जाने उल्लेख गरे । उनले भने ‘यो लोकतन्त्रको खतरा को देखि छ भने हामीबाट नै छ ।’
-सत्तापक्षबाटै बिरोध-
उता, सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बिहीबार प्रतिनिधिसभामा मौन उभिएर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि सांसद गौतमका लागि समय दिएका थिए । तर उनी केहि नबोली उभिएको उभिएै मात्र गरे । सांसद गौतमले मौन उभिएर विरोध जनाएपछि प्रतिपक्षी सांसदहरूले ढ्याप-ढ्याप गरेर उनको विरोधमा समर्थन जनाएका थिए ।

You may also like