मुख्य स्थानीय

आदिवासी जनजातिको खाना महोत्सव

गौरीगञ्ज, ०१ माघ। झापाको गौरीगञ्जमा आदिवासी जनजातिको मौलिक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

आदिवासी जनजाति महासंघ गौरीगञ्जले पहिलो पटक आयोजना गरेको खाना महोत्सवको उद्घाटन् गर्र्दै गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले भौतिक विकास निर्माण मात्र विकास नभई यहाँ रहेको मौलिक संस्कृति र खानपानको संरक्षण गर्नु अझै महत्वपूर्ण विकास भएको बताइन् । उनले मौलिक संस्कृति र खानपानको संरक्षणमा पालिकाले ध्यान दिने पनि बताइन् ।

गौरीगञ्ज माविको खेलमैदानमा भएको महोत्सवमा स्थानीय १२ वटा जातजातिको मौलिक लोक नृत्यसहितको खानाका परिकार राखिएको थियो । जसमा पाँच हजार भन्दा बढीले त्यसको अवलोकन गरेको उल्लेख छ ।

आदिवासी जनजाति महासंघ गौरीगंजका अध्यक्ष गंगाप्रसाद राजवंशीका अनुसार विभिन्न जनजातिहरुले आफ्नो मौलिक खाना, संस्कृति झल्कने नृत्य र आफ्ना परम्परागत बाजागाजा पनि प्रदर्शन गरेका छन् । हराउँदै खाएका खानाका परिकारको संरक्षणका लागि सबैको ध्यान केन्द्रित गर्ने प्रमुख उदेश्य रहेको उनले सुनाए ।

राजवंशी, ताजपुरिया र गनगाई जातिको मौलिक खाद्य परिकार भाक्का, पिठ घुम्नीमुरी, गुन्जुर र सिद्ल, नेवारको यमरी, सन्थालको खिचडी, राई जातिको तरूल, मकै र कोदो , फापरको रोटी, सेलरोटी, लिम्बूको फिलिङ्गेको अचार, मेसुको अचार, तामाङ्गको सखरखण्ड, संथालको खिचडीलगायतका मौलिक परिकार महोत्सवमा आउनेलाई निःशुल्क चखाइएको थियो ।

गौरीगञ्जमा भएका आदिवासी जनजातिको एकता कायम गर्ने, स्थानीय जातजातिको खानपिन र संस्कारसँगै उनीहरुको संस्कृति र भेषभुषाको जगेर्ना र संरक्षण गर्ने कार्यमा महोत्सव सफल भएको गाँउपालिकाका पूर्व अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए । गौरीगञ्ज गाउँपालिकामा राजवंशी, ताजपुरिया, गन्गाई, सन्थाल, नेवार, राई, लिम्बु, तामाङ्ग, मगर, भुजेललगायत आदिवासी जनजातिको बसोबास रहेको आदिवासी जनजाति महासंघका उपाध्यक्ष आत्माराम राजवंशीले जानकारी दिए ।

Author

You may also like