मुख्य

हिमालय आइडलको उपाधि विदिता र सिर्जनालाई

दमक/झापाको दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा ‘हिमालय आइडल २०७९ सिजन–१’ सम्पन्न भएको छ । हिजो मङ्गलबार नृत्य र गायनसँग सम्बन्धित उक्त प्रतियोगितामा गायनतर्फ कक्षा ९ की सिर्जना सिटौलाले हिमालय आइडल २०७९ को सिजन–१ को उपाधि जित्न सफल भइन् । नृत्यतर्फ भने सिनियरमा कक्षा ७ की विदिता लामिछाने आइडल चुनिइन् । नृत्यतर्फकै जुनियरमा कक्षा ५ की यमुना विकले हिमालय आइडल २०७९ जितेको कार्यक्रमको अध्यक्षता गरिरहेका विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितालाई नृत्यतर्फ सिनियर र जुनियर तथा गायनतर्फ भने संयुक्त प्रतिस्पर्धा गराइएको कार्यक्रम सञ्चालक तथा नृत्य एवम् गायन समितिका संयोजक वीरबहादुर लावतीले जानकारी दिए । दमक–२ का वडाध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गायन तथा नृत्यतर्फका विद्यार्थी प्रतिभाहरूले उत्साहवर्धक सहभागिता जनाएका थिए ।
प्रतियोगिताको गायनतर्फ कक्षा ८ की नेहा खड्का ‘फस्ट रनर अप’ तथा कक्षा १० का सन्तोष चौहान ‘सेकेन्ड रनर अप’ घोषित भए । नृत्य जुनियरतर्फ कक्षा ३ की साधना भट्टराई ‘फस्ट रनर अप’ र कक्षा २ की आस्था राई ‘सेकेन्ड रनर अप’ चुनिए । नृत्य सिनियरतर्फ भने कक्षा ८ की मन्जिला ढुङ्गाना ‘फस्ट रनर अप’ छानिइन् । ‘सेकेन्ड रनर अप’ मा कक्षा १० बाट एन्जिला गुरागाईँ र दीक्षा विक छानिएका छन् । विजेतालाई सोही दिन ट्रफी, प्रमाणपत्र र नगदले सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा बोल्दै प्रअ श्रेष्ठले भने, ‘सांस्कारिक, प्राविधिक र व्यावहारिक शिक्षा हिमाविको अपेक्षा हो । यसका लागि विभिन्न विधामा प्रतिस्पर्धा गराउने क्रममा हिमालय आइडल आयोजना गरेका हौँ ।’ पुरस्कारका लागि एभरेस्ट मल्टिटेक्निकल कलेजले ५ हजार १ सय नगद प्रायोजन गरेको थियो । विद्यालयले उपाधि विजेतालाई आगामी वर्ष २०८० का लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने, ‘फस्ट रनर अप’ र ‘सेकेन्ड रनर अप’लाई क्रमशः पचास र तीस प्रतिशत छात्रवृत्ति घोषणा गरेको छ ।
कार्यक्रममा आइडलका अतिरिक्त हिमालय माविबाट एसईई दिने कक्षा १० का छात्रछात्रालाई अबिर तथा खादा लगाएर उच्च अङ्कका साथ सफलताका लागि शुभकामना दिइयो । प्रअ श्रेष्ठले हिमालय माविबाट यसपटक तीन सय छात्रछात्राले एईई परीक्षा दिने जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले हिमालय माध्यमिक विद्यालयलाई देशभरिकै अग्रणी विद्यालय बनाउन आफूले कुनै कसर बाँकी नराखी प्रयत्न गर्ने आश्वासन दिए ।
कार्यक्रममा युवा रेडक्रस सर्कलले वार्षिक कार्यपात्रो अनुसार हालै आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगिताको पनि पुरस्कार वितरण गरिएको थियो । प्रअ श्रेष्ठ र सहायक प्रअ नीलमणि कडुवालले पुरस्कार वितरण गरेको सर्कलका शिक्षक नायक लक्ष्मी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा झरना गुरागाईँ, रोमन राई, भूमिका रिजालको समूह प्रथम, असीमबाबु दाहाल, उज्ज्वल गजमेर, सेमी नाल्बोको समूह द्वितीय तथा मनीष बराल, रमला दर्जी, रेस्मा लिम्बूको समूह तृतीय भएको थियो ।

Author

You may also like