जेबी खड्का-
गौरादह, २५ असोज-
महारानीझोडा सहकारी संस्थाले पछिल्लो एक आर्थिक बर्षमा आर्थिक बर्षमा ४५ लाख ३२ हजार ५ सय ८६ नाफा आर्जन गरेको छ ।
संस्थाको बुधबारको २१ औं बार्षिक साधारणसभामा लेखा समिति संयोजक रीता पौडेलले आर्थिक बर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन र आर्थिक बर्ष २०८०/०८१ को योजना प्रस्ताव सम्बन्धि आय- ब्यय विवरण प्रस्तुत गर्दै सो विवरण सार्वजनिक गरिन् । प्रतिवेदनमा, संस्थाले आर्थिक बर्ष २०७९/०८० मा ७२ करोड ४० लाख ३ हजार ४ सय ७१ रुपैयाँको कुल कारोवार गरेको उल्लेख छ । संस्थामा ५ करोड १२ लाख ४७ हजार ५ सय ६९ शेयर पूँजी रहेको संस्थाले गत आर्थिक बर्षमा ४५ लाख ३२ हजार ५ सय ८६ नाफा गरेको जानकारी गराएको छ ।
साधारणसभामा संस्थाकी अध्यक्ष मिना ढकालले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । ढकालद्वारा प्रस्तुत प्रतिवेदनमा संस्था २५ औं साधारणसभासम्म आइपुग्दा प्रधान कार्यालय स्कुलचौनबाट सुरु भइ हालसम्म गौरादह ४ मा कृषि बीउ उत्पादन उद्योग, साइलेज उत्पादन उद्योग, चाक्लाबन्दी खेती, सामुदायिक कृषि यान्त्रिकरण सेवा, दुग्ध संकलन कार्यक्रम जस्ता कृषकसँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरु सन्चालन गर्दै आएको उल्लेख गरिएको छ । त्यस्तै संस्थाले सेयर सदस्यहरुलाई मृत्यु राहत कोष, सानाकिसान अनुशरण कार्यक्रम, सुत्केरी पोषण कार्यक्रम, रेमिटेन्स सेवा, एकीकृत कृषि भवन निर्माण कार्यक्रम आदि संचालन गर्दै आएको उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट शुभकामना मन्तव्य राख्दै नगर प्रमुख छत्रपती सुवेदीले स्थानीय सहकारी सँग हातेमालो गरेर नगरपालिका अगाडी बढ्न चाहेको बताए । कृषि क्षेत्रको उत्थानका लागि आवश्यक तालिम लगायतका कार्यक्रमहरु सम्बन्धित सहकारीसँग समन्वय गरेर साझेदारी कार्यक्रम संचालन गर्दै आएको कुरा अवगत गराए । कार्यक्रममा जुरोपानी बहुउद्देश्यीय सहकारिकी उपाध्यक्ष सुलोचना राजवंशी, उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष युवराज लुइँटेल, जिल्ला समन्वय समिति झापाका सदस्य कपिलमणी काफ्ले, वडा नम्बर ४ का वडाध्यक्ष दुर्गामणि बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।