दमक/ ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा झापाको दमक नगरपालिका, भद्रपुर नगरपालिका र मोरङको उर्लाबारी नगरपालिकाले भव्य कार्यक्रमका साथ इतिहासका साक्षीको रुपमा रहेका ज्येष्ठ नागरिकलाई सम्मानसहितका कार्यक्रम सम्पन्न गरेका छन् ।
ज्येष्ठ नागरिक संघ दमक नगर समितिले पनि अक्षयकोष दाता र ज्येष्ठ आमा बुवालाई सम्मान गरेर सो दिवस मनाएको छ । त्यस अवसरमा संघको दोश्रो वार्षिक साधारण सभा पनि सम्पन्न गरिएको छ ।
दिवसका अवसरमा सम्मानित हुने अक्षयकोष दातामा तिलमाया संग्रौला, रघुनाथ खरेल र अर्जुन सिटौला रहेका छन् भने आजीवन ज्येष्ठ सदस्यहरु यामबहादुर अधिकारी, चन्द्रप्रसाद नेपाल, तेजप्रसाद कार्की, सरस्वती अधिकारी ढुंगाना र निलकण्ठ भट्टराईलाई सम्मान पत्र, दोसल्ला र मालाले सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका–८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश), ज्येष्ठ नागरिक संघ दमकका अध्यक्ष लक्ष्मीप्रसाद थपलिया र पूर्वअध्यक्ष रघुनाथ खरेल, कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका सचिव जयप्रसाद संग्रौला, हरि नेपाल स्मृति प्रतिष्ठानका अध्यक्ष नेत्रप्रसाद दाहालले सम्मान पत्र, दोसल्ला, माला र टीका लगाएर सम्मान गरे । सम्मान पश्चात् शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष दाहालले ज्येष्ठ नागरिकको संरक्षण, सम्मान र मर्यादा गर्नु राज्यको दायित्व भएको बताए । कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका सचिव संग्रौला, सामाजिक व्यक्तित्व लक्ष्मीप्रसाद संग्रौला, हरि नेपाल स्मृति प्रतिष्ठानका अध्यक्ष नेत्रप्रसाद दाहाल, संघका पूर्वअध्यक्ष रघुनाथ खरेल र लेखा समिति संयोजक कृष्णप्रसाद लुइँटेलले शुभकामना मन्तव्य राख्दै ज्येष्ठ नागरिकहरुमाथि हुने गरेका दुव्र्यवहार न्यूनीकरण गर्दै नयाँ पुस्तामा नैतिक शिक्षा दिइ ज्येष्ठहरुप्रति आदर र सम्मानभाव जगाउनुपर्ने खाँचो औंल्याए ।
साधारण सभा समेत रहेको सो कार्यक्रममा संघका अध्यक्ष थपलियाको तर्फबाट सचिव गंगाप्रसाद संग्रौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष बेनु प्रसाद चुडालले गरेको कोषाध्यक्ष तुलाराम बाँस्तोलाले जानकारी गराए ।
यसैगरी, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दमक नगरपालिका वडा नं.–५ जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको सभाहलमा उक्त प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा “अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस” को अवसरमा यस कार्यालयका प्रहरी निरिक्षक लंक बहादुर श्रेष्ठ लगायत अन्य प्रहरी कर्मचारीहरुबाट जेष्ठ नागरिकहरु तथा स्थानियहरुलाई जेष्ठ नागरिकहरुको हक अधिकारहरुको बारेमा जानकारी गराई सचेतनामुलक पर्चा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
यसैगरी, झापाको भद्रपुरबाट प्राप्त समाचार अनुसार मंगलबार आयोजित कार्यक्रममा १० जना जेष्ठ नागरिलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ भद्रपुर नगर कमिटिले ३४ औ जेष्ठ नागरिक दिवसको सन्दर्भमा भद्रपुर नगरपालिका भित्रका १० वटै वार्डबाट प्रत्येक वार्डको १, १ जनाका दरले १० जना जेष्ठ हरुलाई सम्मान गरिएको हो । ७० वर्ष माथिका सम्मानित जेष्ठ नागरिकलाई कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, अध्यक्ष हेमप्रसाद खनाल, सचिव ईश्वरीप्रसाद पोखरेल लगायतले सम्मानपत्र सहित नगद र दोसल्ला ओडाएर सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पोखरेल, उपप्रमुख राधा कार्की, सम्मानित व्यक्तित्वलगायतले मन्तव्य राखेका थिए । खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ईश्वरप्रसाद पोखरेलले र स्वागत मन्तव्य उपाध्यक्ष परमानन्द मिश्रले गरेक थिए ।
यसैगरी मोरङको उर्लाबारीबाट प्राप्त समाचार अनुसार नगरपालिकाले नगरका २७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज नगरपालिकामा आयोजित कार्यक्रममा ९० वर्ष उमेर पूरा भएका नगरका ९ वटा वडाका ३/३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । ‘सम्मानित बुढ्यौली ः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सबलीकरण’ भन्ने नारासहित नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा २७ जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप दोसल्ला ओढाइ, मह र घिउ प्रदान गरिएको छ । नगर प्रमुख खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले उनीहरुलाई सम्मान गरे ।
सो अवसरमा नगर प्रमुख खरेलले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक रहेको बताउँदै उनीहरूको सीप र ज्ञानलाई उचित सदुपयोग गरी समाजमा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्च पाउने वातावरण बनाउने जिम्मेवारी घरपरिवार, समाजको रहेको बताए । ज्येष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर नभई सन्तानले नै वृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवद्र्धन गरेर मात्र सम्भव रहेको उनले बताए ।
कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेलले ज्येष्ठ नागरिकले आफ्नो जीवनमा केही न केही गरेर समाजमा महत्वपूर्ण योगदान दिएको बताउँदै उनीहरुको विगत र वर्तमानका योगदानलाई उचित मूल्याङ्कन गर्नु आवश्यक रहेको बताइन् । पछिल्ला दिनहरुमा परिवारबाट नै ज्येष्ठ नागरिकहरु अपहेलित हुने क्रम बढेको पाइएको बताउँदै उनले यसरी अन्यायमा पर्नुभएका ज्येष्ठ नागरिकलाई न्याय दिलाउन नगर न्यायिक समिति सक्रिय रहेको बताइन् । कार्यक्रममा ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका केन्द्रीय अध्यक्ष प्रमोद निरौला, उर्लाबारी नगर अध्यक्ष पदमप्रसाद गौतमलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका पदाधिकारी तथा सदस्यलगायतको उल्लेख्य उपस्थिति रहेको थियो । नगरपालिकाले ज्येष्ठ नागरिक दिवसको अवसरमा वर्षेनि सम्मान कार्यक्रम गर्दै आएको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाले जानकारी दिइन् ।
