अर्थ राष्ट्रिय समाचार

बाढीपहिरोबाट कृषिमा ६ अर्बसहित १७ अर्बको क्षति

दमक/ बिहीबारदेखि आइतबार साँझसम्म परेको अविरल वर्षाबाट भएको क्षति विवरण सार्वजनिक गरिएको छ । बाढीपहिरोबाट कृषिमा ६ अर्बसहित १७ अर्बको क्षति भएको सरकारले जानकारी दिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा पत्रकार सम्मेलन गर्दै मुख्यसचिव एकनारायण अर्यालले उक्त दिएका हुन् । अर्यालले बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएको बताए । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, काठमाडौं, ललितपुर, सिन्धुली, मकवानपुर बढी प्रभावित भएको उनले बताए ।
बाढीपहिरोबाट २ २४ जनाको मृत्यु, २४ जना बेपत्ता रहेको बताए । विपदमा परी १ सय ५८ जना घाइते भएको र सरकारले चार हजार ३ सय ३१ जनाको उद्धार गरेको जानकारी दिए । विपद्पछि खोज तथा उद्धारका लागि ३० हजार ७ सय ३१ प्रहरी परिचालन गरिएको जानकारी दिए ।
भौतिक पूर्वाधारतर्फ खानेपानीका संरचनामा ३ अर्ब ५५ करोडको क्षति पुर्‍याएको उनले बताए।
सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब रुपैयाँको नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताए ।
सिँचाइका पूर्वाधारमा एक अर्ब रुपैयाँ बराबर क्षति पुगेको उनले बताए । बाढीपहिरोपछि ३७ राजमार्ग अवरूद्ध भएकोमा ९ वटा सञ्चालनमा आइसकेको उनले बताए ।
ऊर्जातर्फ १६ वटा जलविद्युत आयोजनाहरूमा क्षति पुगेको उनले बताए। जसमा कुल ६६७ मेगावाट जडित क्षमता रहेको उनले बताए । कुल १ हजार १ स ३९ मेगावाट क्षमताका १८ वटा निर्माणाधीन जलवियुत परियोजनामा पनि क्षति पुगेको उनले बताए। ५ प्रमुख प्रसारण टावरमा क्षति पुगेको पनि उनले बताए ।
नेपाल दूरसञ्चार कम्पनीको ३१२ साइटमा क्षति पुगेको पनि मुख्यसचिवले जानकारी दिए ।
कृषिमा ६ अर्बको क्षति
शुक्रबार र शनिबार आएको भीषण वर्षाले मुलुकको कृषि क्षेत्रमा करिब ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको विवरण अनुसार बाली, पशुपन्छी धन, माछा लगायतमा ६ अर्ब बढीको क्षति देखिएको हो ।
‘अहिले हामीले प्रारम्भिक तथ्यांक संकलन गरेका छौं । यो अन्तिम तथ्यांक होइन, अहिले धेरै ठाउँबाट विवरण संकलन हुँदैछ,’ कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले भने, ‘पूर्ण विवरण आउन समय लाग्छ ।’
प्रारम्भिक विवरण अनुसार सबैभन्दा धेरै धान खेती नष्ट भएको छ । बाढीले ५८ हजार ४ सय ७६ हेक्टर धानबाली नष्ट भएको छ । बाढीपहिरोले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी ३ अर्ब ५० करोड रुपैयाँ बराबर क्षति भएको हो । यस्तै ७० करोड बराबर १३ हजार हेक्टर अलैंची खेती नष्ट भएको छ ।
अलैंची खेती सबैभन्दा धेरै खोटाङमा नष्ट भएको हो । मधेश प्रदेशको पर्सा लगायत जिल्लामा ८५ हेक्टर क्षेत्रफलको ३४ करोड रुपैयाँ बराबर उखु खेती नष्ट भएको छ । फलफूल बगैंचातर्फ २२ हेक्टर नष्ट भएको प्रारम्भिक विवरण कृषि मन्त्रालयले तयार पारेको छ । कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटमा धेरै बगैंचा नष्ट भएको हो । मन्त्रालयका अनुसार ४ हजार ७ सय ४३ हेक्टर तरकारी बाली नष्ट भएको छ । खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सामा तरकारी बाली धेरै नष्ट भएको हो ।
माछा, पशुजन्यमा पनि डरलाग्दो क्षति
मन्त्रालयका अनुसार कृषि बालीमा मात्र नभई माछापोखरी र पशुपन्छीको पनि ठूलो क्षति भएको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा लगायत जिल्लाका ४ सय ५८ हेक्टर माछापोखरीमा क्षति पुगेको छ । माछामा मात्रै १ अर्ब १३ करोड रुपैयाँ बराबर क्षति भएको छ ।
यस्तै पाँचथर, धनकुटा, तेह्रथुम लगायतका २४ पशुगोठमा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक तथ्यांक छ । यस्तै २६ हजार २ सय ५ पशुपन्छीको बाढीका कारण ज्यान गएको मन्त्रालयको अनुमान छ । पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लामा गरी पशुधनको क्षति भएको हो । यस्तै दुई वटा कोल्डस्टोरमा क्षति पुगेको छ भने १६ करोड बराबरको कृषि सम्बन्धी भौतिक तथा अन्य संरचनामा क्षति पुगेको छ ।
राहत वितरण एकद्वारा प्रणालीमा
मन्त्रालयले राहत वितरण गर्न एकद्वार प्रणाली अपनाउने भएको छ । मन्त्रालयका अनुसार सम्बन्धित पालिका र जिल्ला विपद् व्यवस्थापन समिति समन्वयमा वितरण गर्न अनुरोध गरिएको छ ।
‘राहत वितरण तयारी अवस्थामा छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्देशन प्राप्त हुने बित्तिकै राहत वितरण हुन्छ । यसका लागि तत्काल समन्वय हुनुपर्ने सुझाव प्राप्त भएको छ,’ कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले भने ।

Author

You may also like