दमक/ शनिबार आएको अविरल वर्षापछि नख्खु खोलामा टहरामाथि बसेका चार जनालाई खोलाले बगाउँदा गृहमन्त्री लेखकले बचाउन नसकिएको भनेर राखेको टिप्रुपणीको प्रधानमन्त्रीले बचाउ गरेका छन् । मंगलबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकको बचाउ गरेका हुन् ।
पछि बगाएकामध्ये तीन जनाको चणिकलाल तामाङले पौडिएर उद्धार गरेका थिए । प्रधानमन्त्री तामाङलाईसमेत सम्झँदै धन्यवाद दिए ।
त्यस विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रारम्भिक रिपोर्टिङको आधारमा गृहमन्त्री लेखकले सूचना प्रवाह गर्दा सामान्य त्रुटि भएको बताएका हुन् । ‘कहीँकही मौसमको कारणले हेलिकप्टर जान सकेन भन्ने कुरा, अब गृहमन्त्री मान्छे बगेको त्यहाँको रिपोर्ट आयो, आफै गएर त हेर्न सक्ने कुरा आएन । मान्छे बगे, त्यहाँ टिप्न सकिएन रेस्क्यु गर्न सकिएन, बगाएर लग्यो भन्ने भएपछि बचाउन सकिएन भनेर त्यहाँका मान्छेहरूले जे रिपोर्ट दिए गृहमन्त्री जीले त्यही भाषामा भन्नुभयो,’ ओलीले भने ।
यसैलाई आधार मानेर अपराधीकरण र अयोग्य ठहर्याउन नमिल्ने पनि उनले बताए । ‘अब प्रारम्भिक जानकारी पूर्ण जानकारी कहिलेकाहीँ आइनसकेको हुनसकेको हुन्छ । जानकारी दिँदै नदिनु पनि राम्रो भएन, त्यसकारण कहिलेकाहीँ प्रारम्भिक जानकारी फरक पर्नसक्छ,’ उनले भने, ‘एकपल्ट खोलामा बग्दै जाँदा खेरि, म पनि केही किलोमिटर बगेको थिएँ। अनि आफै पारी निस्केको थिएँ। मान्छेहरूले देख्दाखेरि, देखेका भए– कसैले देखेकै थिएन म बगेको त्यसकारण कसैले देखेका भए बग्यो नै भन्ठान्थे। त्यसकारण यसलाई धेरै ठूलो अपराधको रूपमा, अयोग्ताको रूपमा, प्रारम्भिक सूचना त्यसलाई पब्लिकमा राख्नु, त्यो चाहि अपराधको रूपमा लिन हुँदैन जस्तो मलाई लाग्छ।’
