देशमा बेरोजगारी बढेका कारणले हरेक घरबाट नेपाली विदेशिने गरेको समाचार अब नौलो भएन । वर्षौदेखि लेख्दै आएको यो समस्याको मूलजड पत्ता लगाएर त्यसलाई रोक्ने प्रयत्नमा सरकार सफल हुन सकिरहेको छैन । यो राज्यको मूल समस्याको रुपमा रहेको बेरोजगारी हटाउन र विदेश पलायन रोक्ने माध्यम भनेको साना तथा मझौला उद्योग नै हुने गर्दछ । घरभित्रैबाट घरेलु उद्योग चलाएर आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण उर्लाबारीको एउटा सामान्य कच्चा पदार्थ मकैको खोस्टा बनेको छ ।
सुन्दा सामान्य लाग्ने तर असामान्य उपयोग हुने यस्ता वस्तुहरु नेपालका कुना कुना, घरघरमा रहेका छन् तर त्यसको उपयोगीता थाहा नपाएर त्यतिकै खेर गइरहेका देखिन्छन् । उर्लाबारीमा एकजना महिलाले यस्तै वस्तु मकैको खोस्टालाई आकृतिमा ढालेर रोजगारीको माध्यम बनाएर मनग्गे आयआर्जन गरिरहेकी छिन् । परापुर्वकालदेखि नै वस्तुको आहाराको रुपमा प्रयोग हुँदै आएको मकैको खोस्टा आजकाल मानिसको छातिमा टाँसिन थालेको छ । त्यो खोस्टाबाट उनले कार्यक्रममा प्रयोग हुने ब्याज बनाएर हजारौं मानिसको छातीमा टाँसिसकेकी छन् । नरमाया खनाल दंगालले उर्लाबारी–७ मा हस्तकला उद्योग मार्फत यस्ता सामग्री बनाएर बजार बिस्तार गरिरहेकी छिन् । उनलाई अर्डरको थुप्रो लागेर काममा भ्याईनभ्याई छ ।
नरमायले खोस्टा मात्र होइन, खोलाबगरमा पाइने सिरुझार, केराको थामलगायत कम महत्वमा पर्ने या खेर जाने बस्तुमा कला र सीप मिश्रण गरेर उनले आकर्षक र उत्कृष्ट हस्तकलाका सामग्री तयार गर्ने गरेकी छिन् । उनले तयार पार्ने मकैको खोस्टाको फूल, ब्याच र ढक्कीलाई धेरैले रुचाउने गरेका छन् । यो एउटा उदाहरण मात्र हो । यस्ता सैयौं वस्तुहरु छन् जसलाई सरकारले प्राथमिकता दिएर अगाडि बढाउँदा र संरक्षण गर्दा मात्रै पनि उद्योगको रुप लिन्छन् ।
त्यसो त नेपालका कुना कन्दरामा पाइने कच्चा पदार्थबाट सञ्चालित घरेलु तथा लघु उद्योगहरु धेरै बन्द भईसकेका छन् । संरक्षणको अभावमा विभिन्न संकटको सामना गर्दै ति उद्योगहरु बन्द भएका हुन । सरकारले साँच्चिकै इच्छा शक्ति देखायो, मेरा जनतालाई देशभित्रै रोजगारी दिएर आत्मनिर्भरमुखी व्यापार व्यवसायमा लगाउँछु भन्ने चाहना मात्रै राख्यो भने रोजगार उत्पादनमा कुनै सकस हुँदैन ।
यहाँका हरेक पातपतिंगरदेखि हिजोका दिनमा काम नलाग्ने भनेको सबै वस्तुहरु आज काम दिने र कुनै कुनै आकृति बनाउन सकिने भएका छन् । धातुका मूर्ति, ढुंगाका हस्तकला, पौभा, थांका, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलन, बाँसका वस्तु, प्लाइउडका लागि आवश्यक विरुवा उतिस, सौर, मौवा, मसला, कदम लगाउन प्रोत्साहित गर्ने, कागजका लागि पहाडी जिल्लामा अर्गेलीको खेति, कोदोबाट जाँड मात्र नभएर त्यसको पिठोबाट बिस्कुट बनउन विभिन्न प्रकृतिका अचार, मासुको अचार, बाटेको धुप, सिन्की, मस्यौरा, सुत्केरी मसला लगायतका खाद्यान्न उत्पादनलाई प्रोत्साहित, संरक्षण र प्रवर्धन गर्न सकिन्छ ।
ऊन र रेशममा आधारित हाते बुनाईका राडी पाखी, गलैंचा, पस्मिना, पोसाक, हातेकागज, परम्परागत मूर्तिकला तामा, पित्तल, ढलौट, काँस र जर्मन सिल्भरजस्ता धातुबाट हस्तनिर्मित भाँडावर्तन तथा हस्तकलाका सामानलाई घरेलु उद्योगकै रुपमा अगाडि बढाउन सकिन्छ । चक्कु, चुलेसी, खुकुरी, हँसिया, कुटो, कोदालोजस्ता परम्परागत औजारहरू हुन् । सुन, चाँदीबाट हस्तनिर्मित गरगहना, वस्तु, भाँडा वर्तनहरूलाई पनि साना उद्योगकै रूपमा परिभाषित गरिएको छ । जुट, सवाई घाँस, चोया, बाबियो, सुती धागो, अल्लो आदि प्राकृतिक रेशामा आधारित उद्योग, पौभा, थांका चित्र र अन्य परम्परागत चित्रकला पनि यसैमा पर्छ । मुकुन्डो तथा परम्परागत संस्कृति दर्शाउने पुतली र खेलौना, परम्परागत संस्कृति, बाजागाजा र कला दर्शाउने विभिन्न प्रकारका हस्तकलाका वस्तु यसैमा पर्छ । काठ, हाड, सिङ तथा माटो, चट्टान र खनिजका कलात्मक वस्तुहरू, सेरामिक्स तथा माटाका भाँडाकुँडा साना तथा घरेलु उद्योगमा पर्छन् । यी उद्योगहरूबाट उत्पादित वस्तु पर्यटकहरूको रोजाईमा पर्ने गर्छ । यस्ता सामानहरु संकलन गर्ने, संरक्षण गर्ने, तालिम दिने र त्यसको बजारीकरणमा सहयोगी भूमिका सरकारले खेलिदिने हो भने हजारौं साना, मझौला उद्योगबाट लाखौंको रोजगारी सृजना हुने आधार बन्न सक्दछ । साना तथा घरेलु एवं कुटीर उद्योगको स्थापना गर्न सकेको खण्डमा एकातिर खेर गइरहेको प्राकृतिक साधनहरूको सदुपयोग गर्नसकेमा स्थानीय स्तरमा नै रोजगारी सिर्जना भई बिदेसिनुपर्ने बाध्यताको अन्त्य हुन जान्छ । साना उद्योगहरूको स्थापना गर्न ठूलो पुँजीको जरुरत पनि पर्दैन । यसका निम्ति कुनै ठूलो प्राविधिक दक्षता वा ज्ञानको पनि आवश्यकता पर्दैन । तसर्थ, सीमित साधन भएको हाम्रो मुलुकका निमित्त कुटीर, घरेलु तथा साना उद्योगहरू नै आर्थिक उन्नतिको एक मात्र उपयुक्त माध्यम हुनसक्छ त्यतातिर ध्यान पुर्‍याउँन आवश्यक देखिन्छ ।

Author

You may also like