अन्तर्राष्ट्रिय देश–समाज मुख्य

इजरायलबाट शव ल्याउन अझै ढिलाइ

दमक, २९ असोज-
इजरायलमा विद्रोही गरिरहेको समूह हमासको आक्रमणमा मृत्यु भएका १० नेपालीको शव ल्याउन अझै केहि दिन लाग्ने भएको छ ।
इजरायल आफैं हमास विरुद्ध युद्धरत रहेको साथै सवै देशका मानिसहरुको शव पहिचान भइनसकेकाले शव व्यवस्थापनमा समस्या भइरहेको बुझिएको छ । दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किबुज अलुमिनमा आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पठाउन ढिलो भएको बुझिएको छ । असोज २० मा किबुज अलुमिन प्रवेश गरी हमास लडाकुले अन्धाधुन्ध गोली र ग्रिनेड प्रहार गर्दा १० नेपाली मारिएका थिए । चार जना घाइते छन् भने एकको अवस्था अज्ञात छ ।
इजरायली अधिकारीका अनुसार शवलाई प्लास्टिकमा सिलबन्दी गरी ट्रकको फ्रिजमा राखिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विभिन्न देशक नागरिक सहित १ हजार ३ सय शवको पहिचान गरिसक्न समय लाग्ने भएको जनाइएको छ । डीएनए, फिंगरप्रिन्ट र दाँत हेरी पहिचान गरिने सरकारी जानकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विदेशीसहित सबैको फिंगरप्रिन्ट राखिनेछ ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपाली मारिएको खबर पाएलगत्तै उचित ढंगले शव व्यवस्थापन गर्न इजरायली पक्षसँग समन्वय गरिएको बताएकी छन् । ‘घटनास्थलबाट नेपालीको शव संकलन गर्ने बेला नै हामीले राहदानीको कपी पठाइदिएका छौं,’ उनले भनिन्, ‘शवलाई क्षेत्रगत हिसाबले अलगअलग रूपमा छुट्याएर राखिएको छ ।’
-इजरायलकै खर्चमा शव पठाइने –
इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव इजरायल सरकारले नै उसको खर्चमा पठाउने भएको छ ।
शव नेपाल सरकारले नै ल्याउने कि के गर्ने भन्ने थियो । तर, इजरायल सरकारले आफ्नै खर्चमा शव पठाउने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले शव नेपाल ल्याउदा लाग्ने सम्पूणर् खर्च इजरायलले व्यहोर्ने जानकारी आएको वताएको छ ।

You may also like