विराटनगर, २८ असोज –
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको आज आइतबार दिउँसोको शपथग्रहणपछि मन्त्रीमण्डल समेत विस्तार हुने भएको छ ।
कांग्रेस अगुवाईको गठबन्धनबाट विद्रोह गर्दै नेकपा एमालेको मुख्य सहयोगमा आवश्यक संसद संख्या पुर्याएर सरकार निर्माणको प्रक्रियामा मुख्यमन्त्री बनेका कार्कीले कांग्रेसबाट एक र एमालेबाट एक जनालाई आइतबारै मन्त्रीमा नियुक्त गरी सपथ गराउने समेत बुझिएको छ । जसमा, एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने भएको स्रोतले बतायो । शनिबार मुख्यमन्त्री बनेका कार्कीले मन्त्री नियुक्ती गर्ने विषयमा सोही दिन एमालेसँग छलफल गरेका थिए ।
एमालेका ३९ र कांग्रेसका ८ सांसदले समर्थन गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै निवेदन दिएका थिए । हस्ताक्षरको सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेश गरेका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबीच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए ।
यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजिनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिने प्रक्रिया केदार कार्कीले पुरा गरेका थिए ।