देश–समाज समाचार स्थानीय

फोहोर डम्पिङ साइडको अव्यवस्थाले चलखेलमा मद्दत : दमक आसपास हात्तीको त्रास

दमक/ दमक नगरपालिका वडा नं. २ र वडा नं. ३ हात्तीको बदमासीले त्रसित बनेको छ । हरेक दिनजसो आउने हात्तीले कतै न कतै केही न केही बदमासी गरेर जाने गरेको स्थानीयबासीको गुनासो छ । उनीहरु भन्छन– दमक नगरपालिकाले दमक बजारको फोहोरलाई व्यवस्थापन गरिदिए हात्ती आउने क्रम कम हुने थियो । जंगलभित्र खानेकुरा नपाएर भोकाएको हात्ती फोहोरकै कारणले आउने र बस्तिमा पस्ने गरेको स्थानीयबासीको भनाई छ । हात्तीको कारणले स्थानीयबासी रातमा ढुक्कले सुत्न सक्ने अवस्थामा छैनन् । हतार र अत्यास मनले झुकझुक हुँदै उनीहरु विक्षिप्त र त्रासदीपूर्ण मनले ओछ्यानमा ढल्कन्छन तर निदाउन भने सक्दैनन ।
प्रायः हात्ती पनि राती नै आउने गरेको छ । कहिले एउटा, कहिले दुईवटा कहिले बथानै पनि आउने गरेका छन् । दैनिक रोजीरोटीलाई थाँती राखेर हात्तीको पछाडि दौडिनुपर्ने दिनचर्या त्यहाँका बासिँदाको बनेको स्थानीय अभिनारायण चम्लागाई बताउँछन् । हात्तीले दिनु दूःख दिएको छ । अरुलाई सुन्दा सामान्य लाग्ला तर हामी कतिखेर मरिने हो वा जायजेथा कतिखेर ध्वस्त हुने हो भन्ने चिन्तामा रहन्छौं । यो क्षेत्रमा हात्तीको बदमासी आजको होइन । यसको दीर्घकालिन समस्या समाधानको लागि फोहोर यता ल्याउन छोड्नु प¥र्यो कि फोहोर हात्तीले नदेख्ने प्रविधिको विकास गर्नुप¥र्यो । यतिखेर त्यो फोहोरकै कारणले हात्ती आउने र लामो समयसम्म त्यतै अलमलिने र बास बस्ने गरेको उनी सुनाउँछन् ।
दुःखजिलो गरेर भोलिका लागि जोहो गरेको अन्नपात हात्तीले छिनभरमै सिध्याइँदिँदा भोलि के खाने भन्ने चिन्ता थपिएको वडा नं. ३ कै अञ्जु निरौला बताउँछिन् । श्रीमान विदेशमा, दुईटा नानीको साथमा घरमा एक्लै बसेकी निरौलाको घरमा गतहप्ता हात्तीले खाना पकाउने ठाउँसहित घरको गाह्रो र झ्याल नै भत्काइदियो । राती निदाएको बेलामा गन्ड्याङ र गुण्डुङ गरेको सुनेपछि अत्तालिँदै बाहिर निस्कँदा सबै लथालिंग पारिसकेको रहेछ । गोठमा एउटा भैंसी थियो सुरुमा त्यही भैंसी फुकेछ भन्ने लागेर धपाउन गएको त हात्ती पो रहेछ अनि चिच्याएर कराए पनि छिमेकीहरु भेला भएर कोलाहल गर्ने, राँको बाल्ने, थाल ठटाउने गरेपछि एक घण्टापछि बल्ल जंगलभित्र गयो । तोरीबारी माड्दै आएको हात्तीले घरमा विध्वस मच्चाएर जंगलभित्र छिरेको थियो । अर्को हात्तीले अलि परतिर जंगलमा देखिएको भएपनि गाउँ भने एउटा हात्ती पसेको उनी बताउँछिन् । स्थानीय सरकार, वन कार्यालय कसैले पनि आफ्नो समस्या बुझ्न नआएको दुखेसो पनि गरिन् । एक्लै बस्दा समस्या होला भनेर भत्किएको गाह्रो आफैले बनाउन लगाए । अब फेरी कहिले आएर के गर्ने हो कुनै पत्तो नभएको उनी सुनाउँछिन् । उनी भन्छिन– हात्तीको दीर्घकालीन समाधानको उपाय सरकारले गरिदिए हुने र सबैभन्दा पहिला दमक बजारको फोहोर यतातिर नफ्याकिँदिँदा पनि हात्ती आउने क्रम अलि रोकिन्थ्यो भन्ने लाग्छ ।
हात्तीले भौतिक क्षति मात्र गरेको छैन मंसिरमा दमक ३ कै ४५ वर्षीया मिन बहादुर भण्डारीको ज्यान समेत लिएको छ । दीपज्योति टोलका सुविन भट्टराईको भान्सा घर हात्तीले भत्काउन थालेपछि सहयोगका लागि आएका भण्डारीलाई सय मिटर परसम्म खेदाएर हात्तीले भण्डारीको ज्यान दिएको प्रत्यक्षदर्शी बताउँछन् । यस अघि पनि पटक पटक मानविय क्षति हात्तीबाट भोग्दै आएका त्यहाँ स्थानीयबासीका लागि ज्यान जोगाउन निकै धौधौ परेको छ ।
अर्का स्थानीय रविन भण्डारीको दिनचर्या पनि उस्तै बताउँछन् । दिनहुँ जसो आउने हात्तीले टिकी खान नदिने अवस्था सिर्जना भएको छ । हात्तीले धेरै क्षति बालनालीलाई गर्ने र घरमा आएर घर भत्काउने, बाहिर राखेका सामानहरु तोडफोड गर्ने, मटरसाइकल नै लडाइदिने, फुटाइदिने गरेको भण्डारीले बताए । उनी पनि हात्ती पीडित हुन तर क्षतिपुर्ति दिँदैछ भन्ने सुनेको छु तर अहिलेसम्म नलिएको बताउँछन् । उनी जंगलभित्र हात्तीको खानाको व्यवस्थापन मिलाउन सक्दा, फोहोरलाई बाहिर नदेखिने गरी व्यवस्थापन मिलाइदिँदा हात्ती आउने क्रम रोकिन्थ्यो कि भन्ने लाग्छ– उनी समाधानको पाटो सुझाउँछन् । दमक नगरपालिकाले अव्यवस्थित रुपमा फ्याकेको फोहोरलाई व्यवस्थित गर्न जरुरी छ, उनी थप्छन्– फोहोर फाल्नु अगाडि हात्तीले यतिसारो दुःख दिएको थिएन ।
वन विभागका कर्मचारी तथा स्थानीय दुर्गाप्रसाद ढकाल सुरुमै फोहोरमैलातिर गए । २ वर्षदेखि हात्ती यो क्षेत्रमा बसिरहेको पनि उनले बताए । फोहोर मैला कहिँ कतै लगेर सुरक्षित राखिदिए वा व्यवस्थापन मिलाइदिए अरु त केही नभए पनि राती सुत्न चाहि आनन्दले पाइन्थ्यो कि भन्ने भा छ । उनले सामान्य गुजारा गर्न घाँसदाउरा गर्नै पर्छ । अहिले त जंगल पस्यो भने निस्किन पाइन्छ कि पाइन्न भन्ने भा छ । खेतीपाती थोरै । घाँसदाउरालाई जंगलै जानुपर्ने बाध्यता । अहिले त यहाँ सन्नाटा छाएको छ भन्दा पनि हुन्छ । न जंगल पस्न सकिन्छ नत घरमा सुत्ननै
त्रासै…अनि अब बाँच्ने पो कसरी ढकालले भने ।
अर्का स्थानीय केशव उप्रेती भन्छन–अहिलेको यो भेगका मान्छेको दिनचर्या नै साइकल होहल्ला, थाल, भाँडाकुँडा ठटाउने, हाइहाइ र हुइहुइ गर्ने मात्र भएको छ । फोहोरकै कारणले हात्ती यो भेगमा बसेको भन्नेमा उनी पनि ढुक्क छन । हात्ती व्यवस्थापनको सन्दर्भमा उनी संरक्षण स्थलको छनोट गरेर त्यहाँ भित्र सीमित गरिदिँदा चाहि राम्रो हुन्थ्यो । त्यति सरकारले गरिदिए आजै मरिन्छ कि भोलि नै मरिन्छ । खानै नपाई पो हो कि भन्ने पिर हटछ भन्ने लागेको उनी बताउँछन् । फोहोरकै कारणले हात्ती आयो भनेको सुनेर होला नगरपालिकाले त्यो फोहोर पुर्न थालेको भए पनि हात्तीले खोसलेर निकाल्ने र त्यही बस्ने गरेको उनी बताउँछन् ।
स्थानीयबासीको चिन्ता दुर गर्न जनप्रतिनिधिलाई समेत हम्मे हम्मे परेको छ । दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बराल रात परेपछि पुल्ठो लिएर निस्कन्छन् । उनका छिमेकी कोही थाल ठटाउँछन्, कोही शंंख फुक्न थाल्छन् । अनि कोही पटका पड्काउँदै सडकमा निस्कन्छन् । हरेक दिन जसो यस्तै कर्म विभिन्न तौरतरिका अपनाएर हात्ती धपाउनु उनीहरुको पनि दिनचर्या बनेको छ ।
त्यसो त हात्ती लखेट्न जिल्ला वन कार्यालयले साइरनजडित गाडी पठाए पनि आतंक नघटेको वडाअध्यक्ष बराल बताउँछन् । ‘कहिलेकाहीं गाडी साइरन बजाउँदै आउँछ, त्यति बेला त गाउँले पनि पछिपछि कुद्छन्, हात्ती लखेट्न सजिलै हुन्छ’, बराल भन्छन्, ‘गाडी नआएको दिन हात्ती गाउँ पस्ने डरले रातभर निद्रै पर्दैन ।’
‘एकहुल हात्ती भारतको बाटो हुँदै यता पसेका छन्’, बरालले थपे, ‘बेलुका ७ बजेदेखि धेरैलाई यस्तै हैरानी छ । हैरानी पनि नहोस् कसरी, हरेक वर्ष यि दुई वडाभित्र दर्जनौं मानिसहरुको घरखेतमा हात्तीले विध्वंस मच्चाइदिन्छन । ‘नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसकिएको बाध्यता वडाअध्यक्ष बरालले सुनाए । उनी भन्छन ‘जिउ र धनको सुरक्षाका लागि थाल ठटाउनु र पटका पड्काउन बाध्य भएका छौं । वडाअध्यक्ष बरालले हात्ती दैनिक आउने गरेको छ । खास गरी हंसेदुम्से सामुदायिक वन क्षेत्रबाट हात्ती बस्तीमा आउने गरेको उनले सुनाए । घर भत्काउने, बालनाली नष्ट गर्ने काम निरन्तर गरिरहेको छ । सामान्य क्षतिको लागि वडाले नै दिँदै आएको र ठूलो क्षतिको लागि वन मन्त्रालयअन्तर्गतबाट उपलब्ध गराउन पहल गर्ने गरेको उनले बताए ।
उनले भने खास गरेर हात्ती बेलडाँगी, माथि सिरानमा फोहोर लगेर थुपारिएको कारणले पनि बढी मात्रामा आइरहेको स्वीकार गर्छन । विगतमा हात्ती नआउने होइन आउथ्यो । एकरात, दुई रात बसेर जाने गरेको थियो तर त्यो क्रम बढेर अहिले लामो समयसम्म हात्ती बसिरहने गरेको छ । त्यो कारण फोहोर नै भएको र उसले खाने चिजबिजहरु फोहोरमा प्राप्त हुने हुनाले पनि त्यस्तो भएको छ । उनले अहिले पनि दैनिक ४ वटा हात्ती वडा नं. २ र ३ मा आइरहेको बताए । उनले भने–फोहोरलाई व्यवस्थापन गर्नका लागि प्रदेश सरकार र संघीय सरकारलाई पनि पत्राचार गरिएको भए पनि हात्ती र मान्छेकोबीचमा द्वन्द्व चलिरहेको बताए । उनले भने हात्तीबाट मानविय क्षतिमा यो वर्ष एक जनाको मृत्यु भएको र २ जना घाइते भएको वडाअध्यक्ष बरालले सुनाए । प्रहरीको मुचुल्काको आधारमा ३०÷३५ जनालाई सामान्य क्षतिपुर्तिको रकम वडाको तर्फबाट उपलब्ध गराएको पनि उनले बताए । फोहोर मैलाको दिर्घकालिन समाधानको लागि वडा नं. ३ को बासिन्दाको तर्फबाट अनुरोध गरे बमोजिम कुहिने र नकुहिने फोहोर छुट्याएर ल्याउने काम भईरहेको र कुहिने फोहोरलाई प्रशोधन गरेर ग्यास उत्पादन हुने काम भईरहेको छ । तर पनि नकुहिने फोहोरको समस्याले गर्दा फोहोर मैला छान्नका लागि सेक्रिगेसन मेसिन आवश्यक छ । हात्ती प्रभावित क्षेत्र विपद अन्तर्गतबाट सो मेसिनको लागि फोहोर सहजीकरण गर्ने संस्थालाई उपलब्ध गराउन प्रक्रियामा रहेको उनले बताए । त्यो मेसिनले छानेपछि कति नष्ट गर्ने कतिलाई प्रयोग गर्ने भएपछि त्यहाँ फोहोर रहँदैन त्यसैले उक्त मेसिन ल्याउने प्रक्रियामा गएको वडाअध्यक्ष बरालले स्पष्ट पारे । उनले राहतको सन्दर्भमा छुट्नु भएका वा कसरी राहत लिने भनेर थाहा नपाउनु भएका स्थानीयबासीलाई मापदण्ड पुरा गरेर प्रहरीको मुचुल्का लिएर आउन आग्रह गरे । उनले कसैको हात्तीले उपद्रो गरेर क्षति पु¥याएको भए वा कसैको छुटेको भए प्रहरीलाई भनेर मुचुल्का बनाएर राहतको लागि आउन आब्ह्वान पनि गरे । यसैगरी यहि समस्याको समाधानका लागि दमक नगरपालिकाले विभिन्न चरणमा छलफल चलाएर दिर्घकालिन समाधानको बाटो खोजिरहेको बताएको छ ।

Author

You may also like