अन्तर्राष्ट्रिय पत्रपत्रिका

चिनियाँ राष्ट्रपति सी भ्रमणका एजेण्डा

भक्तपुर , चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ।

यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएका छन्। भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त छन्।

 

किमाथान्का–धनकुटा–हिले सडक निर्माण, हिल्सा नाकाको विकाससँगै रेलमार्ग निर्माण पनि एजेन्डामा समावेश छ। यस्तै गल्छी–रसुवागढी–केरुङ प्रसारण लाइन र कर्णाली जलविद्युत् आयोजनामा पनि छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आग्रहमा उनका पति महासचिव मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि चिनियाँ सहयोग मागिनेछ।

चिनियाँ दूतावासका अधिकारी पनि सहयोग परियोजनाबारे छलफलमा व्यस्त छन्। परियोजना सूचीलाई आवश्यक परामर्श गरेर अन्तिम रूप दिन विदेशमन्त्री वाङ यीको भ्रमणमै छलफल भएको थियो। बीआरआई परियोजनाअन्तर्गत राष्ट्रपति सीले ठूलो सहायता घोषणा गर्ने संकेत मिलेको परराष्ट्र अधिकारीले बताए। केरुङ–काठमाडौं रेल निर्माणको सम्झौतामा चीनले सहयोग घोषणा गर्न सक्नेछ।
‘असोज २५ मा काठमाडौं आएर २६ गते स्वदेश फर्कने प्रारम्भिक तयारी छ,’ परराष्ट्रका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, ‘हामी एजेन्डालगायत अन्य विषयमा छलफलमा छौं।’ सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने तयारी छ।

यसअघि विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थोउ नेपाल आएर सीको भ्रमण निश्चित गरेका थिए। राष्ट्रपतिको भ्रमणअघि चिनियाँ विदेशमन्त्री र विदेश विभागका प्रमुख तयारीका लागि सम्बन्धित मुलुकमा जाने चिनियाँ चलन छ।

सन् १९९६ को अन्त्यमा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको दुईदिने भ्रमण गरेपछि चिनियाँ राष्ट्रपति नेपाल आएका छैनन्। तत्कालीन राष्ट्रपति हु दुई कार्यकालसम्म नेपाल आएनन् भने सीले पनि पहिलो कार्यकालमा नेपाल भ्रमण गरेनन्। चिनियाँ राष्ट्रपति सी भारतको चेन्नाईमा ‘उहान दोस्रो’ वार्तामा सहभागी भएर काठमाडौं आउन लागेका हुन्। त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ। यसका लागि राष्ट्रपति सी असोज २३ गते बिहान चेन्नाई पुग्नेछन्

एयर चाइनाको विमानले बुधबार राष्ट्रपति सीको भ्रमणको परीक्षण उडान गरेको छ। बेइजिङबाट आएको उक्त विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गरेको थियो। जहाज अवतरण–उडान पूर्वअभ्यासका क्रममा उक्त उडान भएको र केही सामग्रीसमेत ल्याइएको बताइएको छ। सीले नेपाल आउँदा आफू चढ्ने गाडी र जामरसमेत सँगै ल्याउनेछन्। नेपाली सुरक्षा निकायका अधिकारीसँगको परामर्शमा परीक्षण उडान गरिएको बताइएको छ। अन्नपूर्ण पोष्टबाट शाभार ।

You may also like