देश–समाज समाचार स्थानीय

कमल नगर अस्पतालमा फागुन १ गते निशुल्क स्वास्थ्य शिविर

दमक । जिल्लाको कमल गाउँपालिकाले सञ्चालनमा ल्याएको कमल नगर आधारभूत अस्पतालले यहि फागुन १ गते वृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
अस्पताल स्थापनाको पहिलो वर्ष पूरा भई दोश्रो वर्ष प्रवेश गरेको अवसरमा एक दिने वृहत तथा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरिएको हो । कमल २ क्याम्पास्थित अस्पतालमा सञ्चालन हुने शिविर विहान १० वजेदेखि शुरु भई दिउँसो ४ वजेसम्म चल्ने छ ।
शिविरमा विराटनगरस्थित विराट टिचिङ हस्पिटल ,दमकको विर्ताज्योति आँखा अस्पताल र आमा डेन्टलको प्राविधिक सहयोग रहने अस्पतालका प्रमुख दिपक प्रसाद दाहालले बताए । अस्पतालमा विराट टिचिङ हस्पिटलले मासिक रुपमा मानसिक रोग सम्बन्धी सेवा र आमा डेन्टलले चिकित्सकीय सेवा उपलव्ध गराउदै आएको छ ।
निशुल्क शिविरको सवै तयारी अन्तिम चरणमा रहेको अस्पतालले जनाएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श, आवश्यक औषधिहरु समेत निशुल्क वितरण गरिने छ । निःशुल्क स्वास्थ्य परीक्षण अन्तर्गत उच्च रक्तचाप, मधुमेह,दम, छाती,मुटु सम्बन्धी इन्टरनल मेडिसिन सेवा, मानसिक रोग, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बालरोग , आँखाको जाँच, दन्त जाँच सेवा उपलव्ध रहने उनले बताएका छन् ।

शिविरमा चिकित्सकहरुद्धारा स्वास्थ्य जीवनशैलीका लागि अपनाउनु पर्ने खानपान,आहारविहारका बारेमा समेत जानकारी प्रदान गर्ने छन् ।

यसैवीच, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले सूचना निकालेर अस्पतालको बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य समस्या झेलिआएका पालिकाबासीले सेवा लिन अनुरोध गरेको छ ।

Author

You may also like