देश–समाज राष्ट्रिय समाचार स्थानीय

प्रधानमन्त्री शुशिलाले पाइन् ऐतिहासिक सफलता: बधाईको बाढी

दमक/ अनेक चुनौती र आशंकाहरुका विचमा प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले प्रतिनिधीसभाको निर्वाचन गराएको छ । जेनजी आन्दोलन पछि नागरिक सरकारको रुपमा गठन भएको सरकारका कतिपय मन्त्रीहरुनै विचैमा राजिनामा दिएर चुनावमा जाँदा उनलाई थप चुनौती पनि सिर्जना भएको थियो । कतिले निर्वाचन सारिने आशंका पनि गरेका थिए । तर उनले सवै चुनोती र आशंकाको सामना गर्दै निर्वाचन गराएकी छन् । चुनावमा जसले जिते वा हारे पनि यो निर्वाचनबाट कार्कीको हिम्मत, अडान र जिम्मेवारीबोधले ताज पहिरिएको छ । यो लोकतान्त्रिक उत्सव प्रधानमन्त्री कार्कीकै चट्टानी अडान, दृढता, अगुवाई र नेतृत्वमा सम्पन्न भएको छ ।
सरकार गठन भएदेखि नै यसको स्थायित्व र प्रभावकारिताबारे विभिन्न कोणबाट प्रश्न उठाइएका थिए । कतिपयले यसलाई अस्थायी र कमजोर सरकारको रूपमा चित्रण गर्ने प्रयास पनि गरेका थिए । त्यस माथि निर्वाचन नजिकिँदै गर्दा सरकारभित्रैका केही मन्त्रीहरूले पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा होमिनु प्रधानमन्त्री कार्कीका लागि थप राजनीतिक चुनौती बन्यो । सरकारको नेतृत्व गरिरहेकै बेला आफ्नै टिमका सदस्यहरू बाहिरिनु कुनै पनि प्रधानमन्त्रीका लागि सहज परिस्थिति थिएन तर उनी आँफै सम्हालिईन र परिस्थितिलाई सम्हालिन् ।
यसबीच देशभरि विभिन्न खाले अनुमान र आशंकाहरू फैलिएका थिए । सुरक्षा अवस्था, राजनीतिक ध्रुवीकरण, र प्रशासनिक तयारीका विषयमा प्रश्न उठाइँदै गर्दा कतिपयले निर्वाचन सारिने सम्भावना पनि औँल्याएका थिए । तर ती सबै अनुमानलाई प्रधानमन्त्री कार्कीले दृढतापूर्वक अस्वीकार गरि रहिन् । उनले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै तय गरिएको समयमै निर्वाचन सम्पन्न गराउने अडान लिइन् । सरकारले सुरक्षा व्यवस्थादेखि प्रशासनिक तयारीसम्म सबै पक्षलाई सक्रिय बनाएर निर्वाचनको वातावरण तयार ग¥यो । विभिन्न कठिनाइका बाबजुद देशभरका मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर प्रदान गरियो । यसले लोकतान्त्रिक प्रक्रियाप्रति नागरिकको विश्वास कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ ।
निर्वाचनमा कसले जित्छ वा हार्छ भन्ने कुरा लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक परिणाम हो । तर परिणाम जे आए पनि यो निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीले देखाएको साहस, अडान र जिम्मेवारीबोध सह्रानिय देखियो । कठिन परिस्थितिमा पनि निर्णयमा अडिग रहनु र लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउनु उनको नेतृत्वको मुख्य विशेषता बनेको छ । यस अर्थमा हेर्दा यो निर्वाचन केवल राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा मात्र होइन, नेतृत्वको दृढता र लोकतान्त्रिक प्रतिबद्धताको पनि परीक्षा थियो । र त्यो परीक्षामा प्रधानमन्त्री सुशिला कार्कीले आफ्नो हिम्मत, धैर्य र जिम्मेवारीबोधले एउटा अझ अग्लो छवि निर्माण गर्न सफल भएकी छन् ।
उनी आँफै पनि जिम्मेवार, अनुभवी र राज्य सञ्चालनलाई नजिकबाट नियालेकी महिला हुन् । एकातर्फ उनले पहिलो महिला प्रधानन्यायाधीष बनेर इतिहास रचेकी थिईन् भने पहिलो महिला प्रधानमन्त्री बन्ने इतिहास पनि उनकै नाममा रहयो । यो निर्वाचन गराउने जिम्मेवारीबाट उनले पहिलो महिला प्रधानमन्त्रीको इतिहास मात्र बनाईनन् सफल अन्तरीम प्रधानमन्त्रीको इतिहास पनि दर्ज गरेकी छन् । यो सफलतामा उनको बलियो सारथीका रुपमा गृहमन्त्री ओमप्रकाश अर्यालको पनि साथ रहयो । त्यस पछि निर्वाचन आयोग, मन्त्रीमण्डलका सदस्यको सहयोग त हुनेनै भयो । तर अगुवाई र नेतृत्वको दृष्टिकोणबाट प्रधानमन्त्री कार्कीनै यो निर्वाचनको ‘नायक’ को रुपमा स्थापित भएकी छन् । त्यसैले निर्वाचनमा बिजयीहरुलाई भन्दा पहिले, ‘बधाई सुशिला कार्की’ ।
दलहरुले दिए धन्यवाद
सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशिला कार्कीलाई स्वदेश तथा विदेशबाट बधाईको ओईरो लागेको छ । कतिपयले प्रधान्त्री कार्कीलाईनै बधाई दिएका छन् भने कतिले सरकारका लागि बधाई सन्देश जारी गरेका छन् ।
आफुलाई भावि प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावी मैदानमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गरेका छन् । निर्वाचन सकिएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले आभार दर्शाएका हुन् । बालेनले सुशीलालाई ‘आमा’ सम्वोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’ उनी झापा ५ बाट चुनावी प्रतिष्पर्धामा थिए ।
उनीसँगै प्रतिष्पर्धामा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि देशभर शान्तिपूर्ण मतदान भएको भन्दै सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । ओलीले निर्वाचनको सुरक्षा र निष्पक्षतामा प्रश्न उठाउँदै आएका थिए । विहीवार राती वक्तव्यमार्फत ओलीले भनेका छन्– देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनु भएका अपूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद। निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधि साथीहरूलाई पनि धन्यवाद ।
यस्तै भावि प्रधानमन्त्रीकै रुपमा चुनावमा होमिएका नेपाली कांग्रेसका सभापति गगन थापाले पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन गराएकोमा सरकारलाई धन्यवाद दिएका छन् । निर्वाचन सकिएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले भनेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं ।’ यसै गरि जनमत पार्टीका अध्यक्ष सीके राउतले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएका छन् । उनले विज्ञप्ति जारी गरी प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका हुन् ।
कुटनीतिक क्षेत्रबाट बधाई
नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात विभिन्न देशले बधाई दिएका छन् । नेपाललाई भारत, चीन, अमेरिका, स्विजरल्यान्ड, इजरालय लगायतका देशले बधाई दिएका छन् ।
निर्वाचन सम्पन्न भएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवाले एक प्रेस नोट जारी गर्दै पछिल्लो असाधारण परिस्थितिबीच पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकामा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता साथै विभिन्न सरोकारवालाहरुलाई बधाई दिएका छन् । उनले यस निर्वाचनमा नेपाल सरकारको अनुरोधमा लजिस्टिक सामग्रीहरू उपलब्ध समेत गराएको जनाएका छन् । त्यस्तै दुई देश र जनताबीचको मजबुत एवम् बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन बन्ने नयाँ सरकारसँग काम गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।
त्यस्तै नेपालस्थित अमेरिकन राजदुतावासले नेपाललाई निर्वाचन सम्पन्न गराएकोमा धन्यवाद भनेको छ । आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको राजदूतावासको भनाइ छ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सामाजिक सञ्जाल एक्समा एक स्टाटस लेख्दै नेपालमा यति शान्तिपूर्ण, व्यवस्थित र सहज रूपमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएकोमा बधाई दिएका छन् । उनले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा नेपालीहरूलाई हार्दिक शुभकामना समेत दिएका छन् । यसैगरी नेपालका लागि स्विजरल्याण्डका राजदूत ड्यानिएल म्युलीले पनि निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन् । उनले यसलाई लोकतान्त्रिक प्रक्रियामार्फत नेपाल र नेपाली जनताका आकंक्षााहरू पूरा गर्ने दिशातर्फको एक महत्त्वपूर्ण कदम भएको बताएका छन् ।
इजरायली राजदूत श्मुलिक बासले पनि नेपाललाई बधाई दिएका छन् । लोकतन्त्रलाई सुदृढ गर्न र सबै नेपालीका आकांकक्षाहरूलाई अगाडि बढाउन निर्वाचन महत्वपूर्ण कदम भएको उनले बताएका छन् । साथै इजरायल नेपालसँगको घनिष्ठ मित्रता र सहयोगलाई निरन्तरता दिन तत्पर रहेको जनाएको छ ।

Author

You may also like