दमक । लोकतन्त्र सबैका लागि समान हुन्छ भन्ने नारा लगाए पनि राष्ट्रसेवकसहित देशभरका चुनावमा खटिएका कर्मचारी मताधिकारबाट बञ्चित हुने गरेका छन ।
प्रतिनिधिसभा निर्वाचन हुँदै गर्दा देशभर झन्डै ६ लाख नेपाली नागरिक, जसले देशको सुरक्षा र व्यवस्था त सम्हाल्नेछन्, तर तिनले आफ्नो मनपर्ने प्रतिनिधिलाई प्रत्यक्षतिर मत दिन पाउने छैनन् ।
निजामती कर्मचारीदेखि म्यादी प्रहरीसम्म र स्वास्थ्यकर्मीदेखि पत्रकारसम्मका ठूलो संख्या स्वदेशमै रहेपनि मतदान गर्न पाउने छैनन् । यो निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छ । यसमध्येको धेरै ठूलो संख्या रोजगारी र अध्ययन निम्ति विदेशमा छ ।
राष्ट्रिय निजामती किताबखानाको सोमबारको तथ्यांक अनुसार, स्थानीय तहका ३१ हजार ४६५, प्रदेशका १३ हजार ७७७ र संघका ४० हजार २६१ गरी कुल ८५ हजार ५०३ निजामती कर्मचारी स्थायी सेवामा छन् ।
प्रत्यक्षतिर मत हाल्नु राष्ट्रसेवकका लागि अपवाद जस्तै हो । निजामती किताबखानाका सूचना अधिकारी शोभाकर पाण्डेका अनुसार, सेवामा रहेका सबैलाई खटाउने अधिकार निर्वाचन आयोगलाई भएकाले यति नै खटिएका छन् भन्ने तथ्यांक छैन । तर, सहसचिवमुनिका अधिकांश कर्मचारी खटिएको अवस्था छ ।
नेपाल प्रहरीमा ७५ हजार ३५७ जनशक्ति कार्यरत छ । निर्वाचन सुरक्षामा नेपाल प्रहरी प्रमुख भूमिकामा हुन्छ । निर्वाचन सुरक्षामा पहिलो घेरा नेपाल प्रहरीको जिम्मामा रहन्छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार, धेरै ठूलो सङ्ख्या निर्वाचन सुरक्षामा परिचालित रहन्छ । बाँकी सङ्ख्या पनि कार्यालय सुरक्षादेखि भीभीआईपी सुरक्षा र आकस्मिक घटनामा ‘¥यापिड रेस्पोन्स टिम’मा खटिँदा प्रत्यक्षतिर भोट हाल्ने सम्भावना न्यून रहन्छ ।
त्यसबाहेक सशस्त्र प्रहरी बल नेपालमा झण्डै ३७ हजार दरबन्दीमध्ये ३४ हजार जनशक्ति कार्यरत छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, अधिकांश जनशक्ति
६ लाख…निर्वाचन सुरक्षासहित अन्य सुरक्षाको ड्युटीमै रहन्छ । त्यहीकारण प्रत्यक्षतिर निर्वाचनमा भोट हाल्न पाउने सम्भावना रहँदैन ।
चुनाव प्रयोजन निम्ति जनपद र शसस्त्र प्रहरीमातहत एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना भएका छन् । ४० दिनसम्म निर्वाचन सुरक्षामा खटिरहँदा यिनीहरू पनि प्रत्यक्षतिर मत दिनबाट वञ्चित हुनेछन् ।
राष्ट्रिय अनुसन्धान विभागमा झण्डै दुई हजार जनशक्ति नियमित जिम्मेवारीमा छ । यो जनशक्ति पनि निर्वाचनको विशेष सूचना र सुरक्षामा केन्द्रित हुँदा आफ्नो निर्वाचन क्षेत्रमा पुगेर प्रत्यक्षतिर भोट हाल्ने अवसर पाउँदैन । राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीका अनुसार, विभागमा एक हजार ९२१ जनशक्ति कार्यरत छ ।
त्यसबाहेक तलब सुविधा लिने थप पाँच सयको हाराहारीको जनशक्ति भने नियमित जिम्मेवारीमा पर्दैन । तर, निर्वाचनमा सूचना संकलनका काममा सक्रिय हुनुपर्छ ।
नेपाली सेनाको झण्डै ९५ हजार फोर्स पनि निर्वाचन सुरक्षा, ब्यारेकको ड्युटी र सिनियर अफिसरहरूको सुरक्षामा खट्ने गर्छ । यो फोर्सले पनि प्रत्यक्षतिर मतदान सहभागी हुन सक्दैनन् ।
त्यसबाहेक स्वास्थ्यकर्मीहरूको धेरै ठूलो सङ्ख्या पनि घर–पायकको ड्युटीमा खटिनेबाहेक निर्वाचनमा भोट हाल्न जान पाउँदैन । पत्रकार, आकस्मिक गाडीका चालकसहित धेरैले निर्वाचनमा भोट दिन जाने अवसर पाउँदैनन् । स्वास्थ्यकर्मी, पत्रकार, आकस्मिक प्रकृतिका सेवामा काम गर्नेहरूको त यकिन तथ्याङ्कसमेत छैन ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितका सुरक्षामा खट्नेका लागि समानुपातिक मताधिकार निर्वाचन आयोगले प्रदान गरेको छ । तर, निर्वाचन आयोगसँग पनि उनीहरूमध्ये कतिले समानुपातिकतिर कतिले मतदान गर्छन् भन्ने तथ्याङ्क छैन । किनभने सुरक्षा व्यवस्था र तत्कालको आवश्यकता हेरेर समानुपातिकतिर मतमा सहभागी गराउने/नगराउने अधिकार आयोगले फिल्डमा खटिएका कमान्डरलाई प्रदान गरेको छ ।
समानुपातिकतर्फ अस्थायी मतदाताको रूपमा कति राष्ट्रसेवकले मतदान गर्छन् भनी यकिन गर्न नसकिने निर्वाचन आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन महाशाखाका प्रमुख ऋषिराम भुसालले जानकारी दिए ।
निर्वाचन आयोगले स्वदेशमै रहेका हकमा अन्तरजिल्ला मताधिकार विषयमा छलफल गरेको थियो । तर, आयोगले अन्तरजिल्ला मतदान निम्ति सहज देखेन ।
अझ पर्यवेक्षकले पनि मतदान गर्न पाउँदैनन् । निर्वाचनको निष्पक्षता र तटथता अवलोकन गर्न गैरसरकारी क्षेत्रबाट खट्ने पर्यवेक्षकहरूका लागि आफैँले भोट हाल्ने ठाउँमा पर्यवेक्षण गर्न नपाउने व्यवस्था छ । धेरैजसो पर्यवेक्षकहरू आफ्नो मतदान केन्द्रमा गएर मतदान गरेपछि नजिकका अन्य मतदान केन्द्रबाट पर्यवेक्षणको काम सुरु गर्छन् । तर, धेरै जना पर्यवेक्षकहरू अन्तरजिल्लाको जिम्मेवारीमा हुँदा उनीहरू पनि मतदानको अधिकारबाट वञ्चित रहन्छन् ।
निर्वाचन आयोगले सुरक्षाकर्मीसहित इजाजतप्राप्त वृद्धाश्रमसहित करिब दुई लाखको मात्र अस्थायी मतदाता नामावली तयार पारेको छ । “हामीले ऐनको व्यवस्था अनुसार अस्थायी मतदाता नामावली सङ्कलन गरेका थियौँ । जसअनुसार करिब दुई लाख अस्थायी मतदाता छन्,” भुसालले भने, “मतदान केन्द्रमा रहने कर्मचारी, सुरक्षाकर्मी, म्यादी प्रहरीले पनि अस्थायी मतदान गर्न पाउँछन् । मतदान गरेपछि मात्रै सङ्ख्या यकिन हुन्छ ।”

Author

You may also like