भद्रपुर/सरकारले तोके बमोजिमको तलब सुविधा दिन झापाको भद्रपुर नगरपालिकासमक्ष माग गरिएको छ । नेपाल शिक्षक महासंघ नगर समिति भद्रपुरले विद्यालय कर्मचारी, बाल कक्षा शिक्षक तथा कार्यालय सहयोगीहरुलाई संघीय सरकारले तोके बमोजिमको तलब सुबिधालाई भद्रपुर नगरपालिकाले नगर सभाबाट बजेट नछुटाएको भन्दै विभिन्न आन्दोलनका कार्यक्रम सहित नगर उपप्रमुखलाई अपिल पत्र बुझाएको छ । महासंघ भद्रपुर अध्यक्ष गणेश गिरीको नेतृत्वमा नगरका क्रियाशील ६ वटा पेशागत संगठनका प्रतिनिधिहरुसहितको टोलीले आइतबार नगरपालिका गएर उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई दुई बुँदे आन्दोलनका कार्यक्रम सहित अपिल पत्र बुझाएका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत यसै अपिलमार्फत तलब बृद्धिलाई तत्काल समेट्न जानकारी गराउने र यही असार १४ देखि १८ गतेसम्म आफूहरुको माग सुनुवाई नभएमा दैनिक २ घण्टा नगरपालिकामा सरोकारवाला शिक्षक शिक्षिकाहरु शान्तिपूर्ण धर्नामा बस्ने र माग सुनुवाई नभएमा थप आन्दोलन गर्ने रहेको छ ।
अपील पत्र ग्रहण गर्दै नगर उपप्रमुख श्रेष्ठले नगरपालिकाले विभिन्न शीर्षकबाट प्राप्त हुने कर समयमा प्राप्त हुन नसकेकोले साढे ६ करोड बजेट घाटा रहेको बताउँदै मागप्रति छलफल गरी वार्ताबाट समस्याको समाधान गरिने बताइन् । नगर शिक्षा शाखा प्रमुख प्रेम भुजेलले संघीय सरकारले हचुवाको भरमा तलब बृद्धिको बजेट ल्याएको बताउँदै सरकारले तोकेको तलबलाई स्थानीय तहले कार्यान्वयन गर्न नसक्ने बताए । सरकारले १५ हजार रुपैयाँ सम्पूर्ण विद्यालय कर्मचारी, कार्यालय सहयोगी तथा बाल शिक्षकलाई प्रदान गर्ने निर्णय पारित गरेको थियो । नगरपालिकाले यहि असार ९ र १० गते सम्पन्न नगर सभाबाट बाल शिक्षकहरुको ३ हजार र कर्मचारीहरुको २ हजार मात्र बृद्धि गर्ने निर्णय गरेको थियो । झापाका सबै स्थानीय तहहरुले संघीय सरकारको बजेट बक्तव्य अनुसार नै तलब बृद्धि गरे पनि भद्रपुर नगरपालिकोकाले मात्र कार्यान्वयन नगर्दा आन्दोलन गर्नु परेको अपिलमा उल्लेख छ । तत्काल माग सम्वोधन गर्न समेत महासंघले नगरपालिकालाई आग्रह गरेको छ ।