विराटनगर/ मोरङ र खोटाङमा छोराले बाबुको हत्या गरेका छन् । मोरङको सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले हानेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङका निमित्त प्रहरी प्रमुख डिएसपी मञ्जील मुकारुङका अनुसार मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी विवादमा दयालुले शनिबार बिहान सुतिरहेकै ओछ्यानमा पुगेर वृद्ध बुवालाई ढुङ्गाले हानेका थिए । छोराले टाउकामा ढुङ्गा प्रहार गरेपछि गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । कोसीले उपचार सम्भव नहुने भन्दै सुविधासम्पन्न अस्पतालमा रेफर गरेकोमा आर्थिक अवस्था कमजोर भएको परिवारले घरमै लगेको थियो । उनको आइतबार बिहान घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाबुको हत्यामा संलग्न दयालुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, खोटाङमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका हुन् । १ नं. प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान सुवर्णले बुबा ७२ वर्षीय चन्द्रबहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घटनाको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएो प्रहरी टोलीले सुवर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटना सम्बन्धना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

You may also like