देश–समाज राष्ट्रिय समाचार स्थानीय

नेपाली बस्ति डुबानमा पार्न कोशी नदीको बहाव छेक्दै भारत

दमक/ सीमा क्षेत्रबाट अपत्यारिलो प्रकारले नेपालका भुभाग अतिक्रमण गर्दै आएको भारतले पछिल्लो समय भारतीय भुभाग जोगाउने वहानामा नेपाली भुभाग डुबाउने गरी कोशीको वहाव नेपालतिर फर्काउन थालेको छ । नेपाल–भारत कोशी–सम्झौता–१९५४ विपरित भारतले नेपाली भुभाग डुबाउने गरी खन्न सुरु गरेपछि नेपालका प्रभावितहरुले विरोध गरेका छन्।


सप्तकोशी नदिको प्राकृतिक बहाव नेपालतर्फ फर्काउन कोशी परियोजनाका भारतीय अधिकारीहरुले सप्तरीस्थित तिलाठी कोईलाडी गाउँपालिको टिकुलियामा स्काभेटरले गहिरो पाइलट च्यानल खन्ने काम सुरु गरिसकेको छ ।
प्राकृतिक रुपमा बग्ने गरेको मुख्य भंगालोलाई पश्चिमी तटबन्धतर्फ धकेल्ने उद्देश्यले भारतीय पक्षले पाइलट च्यानल खन्ने काम सुरु गरेको हो ।
पश्चिमी किनारबाट खनिरहँदा तटबन्ध भत्किने र यसले टिकुलियाँ, बनरझुला, डल्बा, रम्पुरा लगायतका बस्ती बाढीको उच्च जोखिममा पर्ने खतरा बढाएको छ । प्राकृतिक बहाब परिवर्तन गर्न बर्सेनी कोशी परियोजनले सप्तकोशी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल गहिरो बनाउदै नेपाल तर्फ बाढीको जोखिम बढ्दै गएको छ ।
कोशी परियोजनाले भारतको बिहार राज्य अन्तर्गतका ५ जिल्ला जोगाउन कोशी नदीको प्राकृतिक बहावलाई पश्चिमी तटबन्धतर्फ धकेल्न भारतीय पक्षले ‘पाइलट च्यानल’ खनिरहेको छ । अहिले नदीमा ३०÷३५ वटा स्काइपर (माटो काट्ने ट्याक्टर) र एउटा स्काभेटरको सहायताले ‘पाइलट च्यानल’ खन्ने काम गरिरहेको छ । ठूलै लगानीमा खन्न लागेको ‘पाइलट च्यानल’ ले पश्चिमी भू–भागमा बसोबास गर्ने नेपाली नागरिकमा भने बाढीको जोखिम थप बढ्ने चिन्ता थपिएको छ । प्राकृतिक रुपमा बग्ने गरेको मुख्य भंगालोलाई पश्चिमी तटबन्धतर्फ धकेल्ने उद्देश्यले भारतीय पक्षले यहाँ च्यानलाइज गर्दैछन्,’ हनुमाननगर कंकालिनी नगरपालिका–१४ का वडाध्यक्ष कृष्ण यादवले बताए । उनले भने, ‘यसले नेपाली भूमिका आधा दर्जन बस्ती बाढीको उच्च जोखिममा पर्ने निश्चित छ ।’


चैत १३ गतेदेखि सुरु भएको ‘पाइलट च्यानल’ खन्ने कार्यमा स्थानीय बासिन्दाले अवरोध समेत गरेका थिए । अवरोधपछि सात दिन नदीमा खन्ने काम पनि रोकियो । गत बुधवार दिनदेखि पुनः ‘पाइलट च्यानल’ खन्ने कार्यलाई तीव्रता दिइएको स्थानीयहरुले बताएका छन । तर, निर्माण कम्पनीका प्रतिनिधि भने सो कार्यबारे जानकारी दिन मान्दैनन् ।
बहुचर्चित कोशी सम्झौताअनुसार ब्यारेज, तटबन्ध लगायतका संरचनाको मर्मत–सम्भार गर्ने जिम्मेवारी भारतीय पक्षको हो । तर, उनीहरुले ठोस् तटबन्ध बनाउनुपर्नेमा मर्मतका नाममा बोरामा बालुवा हालेर थुनछेक गरेर बर्सेनि स्थानीय बासिन्दा जोखिममा पार्ने गरेका छन् । पूर्वी तटबन्धमा अझ जोखिम कायमै रहँदा भारत बिहार राज्यका अररिया, सहर्सा, सुपौल, पूर्णियासहितका भू–भाग डुबानमा पर्नसक्ने खतरा छ । भारततर्फको जोखिम कम गर्न नै ती ‘पाइलट च्यानल’ खन्न लागिएको हो । ‘पाइलट च्यानल’ पनि डेढ महिनाभित्रै सम्पन्न गरिसक्नुपर्ने निर्माण कम्पनीका प्रतिनिधि नै बताउँछन् । परियोजनाका विराटनगरस्थित सम्पर्क कार्यालयका सह भू–आर्जन सम्पर्क अधिकृत चैतन्य सिटौलाले आफूहरुसँग समन्वय भएरै ‘पाइलट च्यानल’ खन्ने कार्य भइरहेको बताए ।
तर, कति किलोमिटरसम्म ‘पाइलट च्यानल’ खन्ने, चौडाइ र गहिराइ कति हुने विषयमा उनी स्पष्ट छैनन् । प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपालतर्फका सिँचाइ विभाग र भारतीय पक्षबीच छलफल भई सो निर्माण कार्य अघि बढाएको विषय जानकारीमा आएको बताए । नेपाल–भारत कोशी–सम्झौता–१९५४ विपरित वर्षो लगाएर च्यानल खनिएको थियो । कोशीको प्राकृतिक बहाव भारत विहार लोकहा पुनर्वासस्थित स्पर नम्बर २०–५० मा पुगेको बेला च्यानल खनेर पश्चिम तटबन्ध तर्फ सप्तकोशीको पानी फर्काउन लागेका छन् । नेपाली भूभाग डुबानमा पर्ने गरी भारतीय पक्षले च्यानल खन्ने काम गरिरहेको हनुमाननगर कंकालनी नगरपालिका मेयर बिरेन्द्र माझीले बताए । अर्को स्थानमा प्यालोट च्यानल खन्ने काम भएपनि बढी प्रभावित हनुमानगर कंकालनी नगरकाका वडाहरुमा पर्ने भएता पनि आफुहरु संग कुनै सवन्वय नभएको मेयर माझीले बताए ।
न त योजना बनाउँदा सवन्वय गर्ने गरेका छन् मेयर माझीले भने –‘न त कुनै सवन्वय नै गरेको छ ।’ परियोजनाले जर्बजस्ती नेपाली भूभागको जग्गामा हस्तक्षेप गर्दै आएको छ । नेपाली भूभागमा निर्माण गरिएको पश्चिमी तटबन्धको मर्मत समेत लामो समयदेखि नभएको स्थानीयहरुले बताउदै आएका छन् । तटबन्धको मर्मत नगरेपनि कालोपत्रे परियोजनाले गर्ने गरेको उनले बताए । बर्षेनि हनुमाननगरकंकालनी नगरपालिका १, ५ , ७ , ८, १३, १४ वडा डुबानमा पर्नुको साथै जोखिममा पर्ने गरेको छ ।

Author

You may also like