देश–समाज सम्पादकीय

विपदमा परेकाहरुको अवस्था तीन तहका सरकारले बुझ्न आवश्यक

नेपालमा दिनदिनै अनाहकमा मानिसहरुको ज्यान जाने क्रम बढ्दो छ । जानजानी हिंसात्मक घटनाबाट उत्तिकै ज्यान गईरहेको सन्दर्भमा विपदबाट ज्यान गुमाउनेको संख्या अझ डरलाग्दो छ । गतवर्ष ८ हजार ८ सय बढी विपद्जन्य घटनाबाट ७ सय ४५ को ज्यान गएको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्था प्राधिकरणसँग छ । सो अवधिमा ७ सय २ जना घाइते भएका छन भने ६९ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ । त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुंगा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको छ ।
आगो पनि जीवनको लागि उत्तिकै आवश्यक छ । तर यही आगोले विकराल रूप लियो भने विपद् शुरू हुन्छ । यस प्रकार पानी, हावा, आगो जस्ता प्रकृतिको स्रोत, आफ्नो लघु रूपमा जहाँ मानिसका लागि नभई नहुने तत्वको रूपमा रहन्छ भने त्यसको भयावह रूप मानिसको लागि जोखिमपूर्ण हुन्छ । मानिसलाई बिचल्लीमा पार्दछ । विपद् वा विपत्तिले सामान्य दैनिक जनजीवनलाई अस्तव्यस्त र छिन्नभिन्न तुल्याइदिन्छ । धनजनको क्षति हुन्छ । सामान्य जीवनमा व्यवधान सिर्जना हुन्छ । भौगोलिक, वातावरणीय वा मौसमी सक्रियता, गतिशीलता वा अव्यवस्थाबाट उत्पन्न हुने बाढी, सुक्खा, जलसंकट, वन विनाश विपद् हुन् । आँधी, आगलागी, मरुस्थलीकरण, भूकम्प, ज्वालामुखी, उल्का, चट्याङ, हिमताल, सामुहिक आँधी, सुनामी, फ्लू, एन्टिबायोटिक प्रतिरोध, ग्लोबल वार्मिङ, अत्यधिक जनसंख्या, परमाणु युद्ध सामग्री आदि सबै विपद् हुन् । तर जुनसुकै किसिमको विपद् भए पनि त्यसको सामना गर्नु मूल विषय हो । यद्यपि यस्ता विपत्तिहरूको सिर्जना गराउनमा अप्रत्यक्ष रूपमा मानवीय भूमिका समेत रहेको हुन्छ । विपद्मा परेको मानिस असामान्य स्थितिको सामना गरिरहेको हुन्छ । जीवन संकटमा परेको बेला के गर्ने, नगर्ने भन्ने अवस्था हुन्छ । विपद्को सामना गर्दा हार्नुको अर्थ मृत्यु हुनु हो । अर्थात् विपदमा परेका बेला धैर्य र धर्मलाई छाड्न हुँदैन । धैर्य भनेको आलस्य होइन, होशियारीपूर्ण प्रयास हो । त्यस्तै यहाँ धर्म भनेको सनातन, बौद्ध, जैन, इस्लाम आदि धर्म होइन । धर्म भनेको मानिसको गुण वा मूल वृत्ति प्राकृतिक स्वभाव, स्वाभाविक गुण, सहज वृत्ति आदि भनेर बुझ्नुपर्छ ।
विपद्का सम्भावनाहरू पहिचान गरी तिनलाई रोक्ने प्रयास गर्न, विपद् आइहालेमा त्यसबाट हुने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न र विपद् आइपरेपछि त्यसको सामना गर्न गरिने आवश्यक पूर्वतयारी, योजना, संयन्त्र निर्माण, स्रोतसाधनको व्यवस्था र सांगठनिक एवं मानवीय क्षमता विकास सम्बन्धी सम्पूर्ण कार्यहरूलाई समग्रमा विपद् व्यवस्थापन भनिन्छ । विपद् आउनुपूर्व, विपद्को समयमा र विपद्पछिको अवस्थामा योजना, संगठन, स्रोतसाधन परिचालन, समन्वय, नियन्त्रण र अनुगमन तथा मूल्यांकन गर्ने कार्य नै विपद् व्यवस्थापन हो । यसमा पूर्व तयारी गर्ने, योजना बनाउने, क्षमता विकास गर्ने, स्रोतसाधनको परिचालन गर्ने, जोखिम न्यूनीकरण गर्ने, उद्धार तथा मानवीय सहायता प्रदान गर्ने, पुनःस्थापना र पुनः निर्माण गर्ने जस्ता क्रियाकलाप पर्दछन् । भूकम्प होस्, बाढी होस्, आगलागी होस् वा अन्य कुनै प्रकारको विपद् होस् । त्यस्तो विपद्को स्थितिमा राज्यले गर्ने कार्य त राज्यले गर्ला नै तर विपद्मा परेका मानिसले वास्तवमा तत्काल के गर्नुपर्छ । यो कुरा निश्चय पनि निकै महत्वपूर्ण छ । आपत्मा परेका मानिस वयस्क वा सोचसमझवाला मात्र हुन्छन् भन्ने होइन । वृद्ध, बालबालिका, शिशु, अपांगता भएका पनि हुन्छन् । विपदमा परेर अंगभंग भएका, आर्थिक अवस्थाको सुधार गर्न नसकेका आम मानिसलाई सरकार भएको अनुभूति दिलाउन सक्नु नै साँच्चिकै लोकतान्त्रिक गणतन्त्र संस्थागत कार्यान्वयन हुनेछ । तर अहिलेसम्म सरकारबाट त्यो अनुभूति नभइदिएका कारण आम मानिस निराश भई आन्दोलनको सहारा लिन बाध्य भएका छन् ।

Author

You may also like