—: सत्यन्द्रलाल कर्ण :—
विश्वमा शान्ति, स्थिरता र विकाश प्रायः जसो सबै मुलुकका सरकारहरुको प्रमुख राजनीतिक मुद्धा र प्राथमिकता रहँदै आएको छ । विश्वको जल्दो बल्दो परिवर्तित राजनीतिमा ‘अर्थ(राजनीति’ को आयामहरुको परिपेक्ष्य र सन्दर्भहरुको घनीभूत रुपमा विश्लेषण गर्दा आजको तरल र संक्रमणशील, विरोधाभासपूर्ण, द्वन्द्वात्मक, भूराजनीतिको दृश्य पटलमा विश्वको कुनै पनि देशमा भने जस्तो र सोचे जस्तो आर्थिक, समामजिक र सांस्कृतिक सन्तुलन बहाल हुने अवस्था दिन प्रतिदिन खस्किँदै जाने र कमजोर बन्दै जाने अवस्था विधमान छ । विकसित र महाशक्ति भनाउँदा राष्टहरुले आफ्नो आर्थिक, राजनीतिक र सामाजिक अवस्थालाई अझ दीगो र भरपर्दो बनाउने प्रयासमा दिनानुदिन नयाँ नयाँ मुलुकहरु संग नयाँ नयाँ तरीका र सोच बाट प्रेरित भएर ध्रुवीकरण हुँदै जाने अभ्यासमा लागेका छन्, विज्ञान र प्रविधिलाई विकाशको उच्चतम अवस्थामा पुर्याएर उच्चतम उपभोगको तहसम्म पुग्न विश्वका समस्त प्राकृतिक श्रोत साधनहरुलाई पूर्ण रुपमा सिध्याउने नाफा मूलक व्यापार नीतिको पक्षमा लागेर धर्तीको धान्ने क्षमतालाई घटाउँदै लगि रहेका छन् । धर्तीलोकमा मानिसहरु बस्न लायक न भएमा मंगल ग्रह वा चन्द्रलोकमा बस्ती बसाल्ने योजना पनि बनाई रहेका देखिन्छन् । व्यापारीकरणको माध्यमबाट विश्वमा आश र त्रास फैलाउने कार्य बढ्दै छ । कुनै पनि नियामक संस्थाहरुले बेथितिहरुलाई नियंत्रण गर्ने हिम्मत जुटाउन सकि रहेको छैन । आतंकवाद र धार्मिक अन्ध सहिष्णुताले संसार निरर्थक बन्दै गई रहेको छ । विश्व बजारीकरण र विश्वव्यापीकरण तथा भूमण्डलीकरणको आर्थिक पूँजीवादी निति केही देशहरुको पक्षमा मात्र देखिएकोले गरीब देशअरुको अवस्था तप्त मरुभूमिमा शीतल जलको खोजी गर्ने कार्य जत्तिकै कठिन भई रहेको छ । तर, पनि संसारमा व्यापारको गलाकाट प्रतिस्पर्धा अर्थात घाँटी निमोठ्ने र धनी बन्ने प्रतिस्पर्धा बढ्दै छ । संसारमा सुख शान्ति र दिगो तथा स्वतःस्फूर्त आर्थिक विकाश र सम्पन्नताको अवस्थालाई कमजोर बन्दै छ । विश्वको अर्थतन्त्रलाई हाँक्ने रणनीति दिन प्रति दिन पेचिलो, बोझिलो र अस्वस्थकर बन्दै गएको छ । शक्तिशाली देशहरुले निर्माण गर्ने गरेको तन्त्र, मन्त्र र यन्त्रहरुबाट गरीब देशहरुलाई हाँक्ने धनी देशहरुलाई जति सजिलो देखिए पनि विस्तारै विस्तारै गरीब देशहरुमा उत्पन्न हुँदै गरेको राजनीतिक र आर्थिक अस्तव्यस्तता तथा व्यापक प्रशासनीक भ्रष्टचार लगायतका कार्यहरु सांगठनिक रुपके नै चलि रहेकोले धनी देशहरुको लागि कुनै दिन गलाको पाशो बन्ला भन्न सकिन्न । अमेरिका जस्तो विश्वका सुपर शक्तिशाली देशहरुमा पनि अवैध प्रवासीहरुको समस्या विकराल रुप धारण गर्दै गएकोले ठूलो मानवीय समस्या बढ्दै जाने अवस्था विधमान छ ।
विश्वको अर्थ व्यवस्थालाई हुँईकाउने र उल्का लगाउने आर्थिक चरहरुमा दिन प्रति दिन परिवर्तन तथा शंका र उपशंकाहरुको बादल मँडारिदै जाने अभ्यास संगै अत्यास पनि बढ्दै छ । संसार भरि कम्यूनिस्टहरुको रजाईतन्त्र खडा गर्ने भिजन देखाउने कार्लमाक्र्स, लेनीन र माउत्सेतुङ विश्वको राजनीतिमा असान्दर्भिक बन्दै गईरहेको छ । धेरै लामो समयसम्म विश्वलाई नै आफ्नो द्वन्द्वात्मक भौतिकवादको विचारबाट उत्प्रेरित गराएर वर्ग संघर्षको माध्यमबाट संसारमा साम्यवाद ल्याउने सपना अब तुहिँदै छ । रुस, चीन, उत्तर कोरिया लगायतका कम्युनिष्ट खेमाका देशहरु अब आफ्नै देशभित्र पनि लोकतन्त्र र मानव अधिकार लगायतका मागहरुलाई सम्बोधन गर्न सकि रहेका छैनन् । तानाशाह हाँस्दा जनता पनि हाँस्नु पर्ने र तानाशाह रुँदा जनता पनि रुनुपर्ने विवसतामा बाँचिरहेका उत्तर कोरियाली जनता यही पृथ्वीको भूगोल भित्र पर्ने यस्तो देश हो जो संग दुनियालाई ध्वस्त पार्न सक्ने परमाणु अस्त्र शस्त्रको भंडार छ । चीनमा कुनै पनि सरकारी कानून विरोधमा बोल्न र लेख्न पूर्ण रुपमा बिषेध गरिएको छ । चीनका जनताका लागि कार्लमाक्र्स र लेनीन र माउत्सेतुंगले देखेका सपनाहरु जनतालाई स्वर्गको बगैचामा डुलाउनु नै भएर नर्कलोकको फलामे पिँजडामा बन्दी बनाउने कार्य अहिले पनि निर्वाध रुपमा चलि रहेको छ ।
आर्थिक सम्पन्नताको हिसबले चीन र रुस दुनियाँको महाशक्तिशाली मुकुक भए पनि त्यहाँ नागरीक स्वतन्त्रताको स्थिति खस्किँदो छ । कथित कम्युनिष्ट देशहरुमा पनि साम्यवादी आर्थिक नितिलाई विसर्जन गर्दै पूँजी प्रधान अर्थतन्त्र र आर्थिक नीतिलाई अंगिकार गर्ने बाध्यात्मक अवस्था विधमान छ । न, त साम्यवादी आर्थिक प्रणालीले नागरिकहरुलाई सम्मान सहित जीवन यापनको व्यवस्था प्रत्याभूत गर्न सक्यो न त पूँजीवादी आर्थिक प्रणालीले दुनियालाई आश्ववस्त पारेर विश्वबाट गरीबीलाई हटाउने कुरालाई प्रत्याभूत गर्न सक्यो । यस्तो अवस्थामा अन्य विकल्पलाई पनि खुल्ला राख्नु पर्ने कुरामा विश्वका प्रब्द्ध वर्गहरुको ध्यान आकर्षित हुन थालेको छ । पूजीवादी आर्थिक नीतिलाई आफ्नो पक्षमा पार्न अहिले पनि अमेरिका, वेलायत, जर्मनी, फ्रांस लगायतका अतिविकसित र सम्पन्न मुलुकहरुले अहिले पनि विश्वलाई पूँजीवादी आर्थिक विश्लेषण कै माध्यमबाट परिचालन गर्दै जाने नितिमा अलमल गरि रहेका भेटिन्छन् । अत्याधिक नाफा मुखी र आरामदायक तथा विलासिताका उत्पादनहरुको माग र बजार बढ्दै जाँदा पनि त्यस्ता साधनहरुको मूल्यमा हुँदै गई हरको अत्याधिक मुद्रास्फीति अर्थात मूल्य वृद्धि हुँदै जाने अवस्थाले जति बेला पनि विश्वमा मन्दी अर्थात माल सामान न बिक्ने अवस्था सृजना हुन सक्ने कुराहरु कोरोना काल जस्तै फेरि उत्पन्न हुन सक्ने संभावना बढ्दै छ ।
अहिले विश्वमा धनीदेशहरुले पनि भने जस्तै पूँजीवादी आर्थिक प्रणाली लागु भई रहेको अवस्थामा पनि संसारका धनी देशहरु किन सर्वाधिक खुशी देखिने र हाँसि रहने अनुहारको रुपमा देखिएनन; यो विश्वकै लागि पनि आश्चर्य चकित पार्ने सत्य र तथ्य हो । धनले आम्दानी र उपभोगले मात्र मानवलाई सबै किसिमको सुख र शान्ति प्रदान गर्न सकिदैन । त्यसैले बुद्धको जीवन दर्शनमा आधारित अत्यन्त धार्मिक र संयमित जीवन बाँच्नु पर्दछ । संसारमा आम्दानी बढ्दै छ, उत्पादन बढ्दै छ, जीवन स्तर बढ्दै छ, शिक्षा र स्वास्थ्यको अवस्था सुूिँदै छ तर यी सबै कुराहरुले पनि संसारको मानिसहरुको सुख र संतुष्टिको चाहनालाई मापन गर्न सक्दैन । संसारमा सबै भन्दा बढी सुखी देखिने र निरन्तर हाँसिनै रहने मुलुकमा अहिले सबै भन्दा माथि पुगेको भूटान मात्र हो जसले बुद्धको उपदेश, बुद्धको अर्थशास्त्र र बुद्धको जीवन दर्शनलाई आफ्नो देशको आर्थिक नितिको प्रमुख आधार बनाएको छ । अत्याधिक उपभोग गर्दै जाने लोभ लालचले मानिसलाई स्वार्थ बनाउँदै लगेको छ जसलाई बुद्धिष्ट आर्थिक विचारबाट मात्र सन्तुष्ट पार्न सकिन्छ । वातावरण विनाश, वन जंगलको विनाश, हरित ग्यास प्रभाव माटोको उब्जनी शक्ति घट्दै जाने, प्रदुषण बढ्दै जाने जलवायु संकट बढ्दै जाने जस्ता समस्याहरु विश्वमा दिन प्रतिदिन बढ्दै छ । मानव जातिको कल्याणलाई अधिकतम बनाउँदै जाने लक्षयबाट विकसित संसार अझ पनि धेरै टाढा छ । अधिकतम मात्रामा नाफा कमाउने र प्राकृतिक श्रोत साधनहरुको भण्डारलाई रित्याउँदै जाने सोच पूँजीबादी संसारको विनाशकारी सोच हो जसबाट संसारलाई जोगाउनु जरुरी छ । अहिले दुनियाका ठूला ठूला नगर र महानगरहरु प्रदुषित बन्दै छ । विश्वलाई नै ईसाई करण गर्ने, इस्लामिक राष्टू बनाउने र यहुदीकरण गर्दै जाने सोचबाट विकसित पूँजीबादी आर्थिक प्रणालीलाई नयाँ तरीकाले सुधार र परिस्कार गर्नु जरुरी छ । किनकि यसले मानवता प्रति सम्मान दिन सकेको छैन । धर्म, संस्कृति र परम्पराहरुलाई सम्मान गर्दैन । मानव जीवनको अन्तिम लक्ष्य धन कमाउनु मात्र होइन कि जीवनको परम लक्ष्य ईश्वरको अनुभूति गर्नु र मोक्ष अर्थात आत्म निर्वाणको लागि प्रयास गर्नु तथा प्रकृतिले दिएको छ त्यसैबाट संतुष्टि प्राप्त गर्नु र बहुजन हिताय र बहुजन सुखायको लागि बुद्धीस्त अर्थशास्त्रका विचारहरुलाई मनन गर्नु तथा आफ्नो जीवनमा उतार्नु पनि हो ।