:— बाबुराम क्षेत्री —ः
दमक/ प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिखेर पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा पर्दैछन् । सत्ता बाहिरका सबै दल तथा विभिन्न संघसंगठनहरुले विभिन्न मागसहित आन्दोलनमार्फत उनलाई घेराबन्दीमा पारिरहेका छन् ।
त्यसो त प्रतिशोधपूर्ण तरिकाले विभिन्न व्यक्तिहरुलाई लेखेको र बोलेकै आधारमा पक्राउ गरी आधारहिन आरोपमा जेलमा हाल्न थालेपछि ती दल र समूहका व्यक्तिहरुले समेत प्रधानमन्त्री ओलीलाई चुनौति दिईरहेका छन् । जता जाँदा पनि निकै ठूलो सुरक्षानीतिका साथ जानुपर्ने बाध्यताले उनी असुरक्षित छन भन्ने पनि देखाइरहेको छ । चाहे स्वदेशमा होस् वा विदेशमा खेलमैदानमा होस् वा आन्दोलनमा उनी विरुद्धमा नाराबाजी भईरहेका छन् ।
उता एमालेभित्र आफूलाई मात्र देख्ने र विरोध गर्नेहरुलाई पाखा लगाउँदै आएका ओलीले अघिल्लो महिनाको अन्तिम साता ‘एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्’, भन्ने प्रधानमन्त्रीको चुनौतिपूर्ण अभिव्यक्ति चिर्न यतिखेर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लागिपरेकी छन् । यि र यस्ता उनका चाहना अनुसारअभिव्यक्ति हरेक कार्यक्रममा दिएका छन् । उनले यस विषयमा बोलेका विषयलाई हेर्ने हो भने साँच्चनै अबको २० वर्ष एमालेमा कुनै नयाँ व्यक्ति नेतृत्व तहमा आउने देखिन्न । प्रधानमन्त्री ओली पार्टी विरोधीप्रति त्यतिमै सीमित भएनन् ।
उनले आउँदो अधिवेशनबाट पनि पुनः अध्यक्ष नै हुने आशयका अभिव्यक्ति समेत धेरै दिएका छन् । रुपन्देहीमा भएको जागरणसभामा ‘केपी ओली बिनाको अभियान चलाउनेले १५÷२० वर्ष पर्खिनुस्, अनि भेटिन्छ केपी ओलीबिनाको एमाले’, उनको भनाई थियो ।
ओलीविनाको अभियान कसले चलाइरहेको छ? ओलीले सार्वजनिक रुपमा खुलाएनन् तर, पछिल्लो समय ओली आफ्नो विकल्प खोजिएको विषयमा जानकार छन् र प्रतिकार गरिरहेका छन् ।
२३ चैतमा मात्रै उनले कास्कीको पोखरामा जिल्ला कमिटीमा निर्वाचितहरुको सपथ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘पोर परार मेरो सबै कपाल झरेको थियो, अहिले कपाल पलाउन थालेको छ– रोपेको होइन आफैं पलाउन थालेको छ २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ ।’
ओलीका यि अभिव्यक्ति त्यतिकै आएका भने होइनन, अझै पटक पटक पार्टीको नेतृत्वमा रहने विचार पोखेका हुन । अबको एक वर्षपछि अर्थात् ०८३ मंसिरमा हुने ११औँ महाधिवेशनबाट पनि उनी आफै अध्यक्ष बन्न चाहेको देखिन्छ नेकपा एमाले पार्टीको विधानअनुसार हरेक पाँच वर्षमा महाधिवेशन हुने र ओलीका अनुसार २० वर्ष अरुले नच्याए हुने भन्ने अभिव्यक्तिले अझै धेरै पटक पार्टी अध्यक्ष बन्ने चाहना बोकेका छन् । यहि चाहनाले हुनसक्छ ७४ वर्षीया ओलीले ७० वर्षे उमेरहदलाई हालका लागि निलम्बन गरेर पार्टी अध्यक्ष बन्ने आफ्नो ढोका खुल्ला गरिसकेका छन् ।
ओलीका प्रतिष्पर्धीका रुपमा देखिएका भीम रावल मात्र होइन लामो समय पार्टीमा योगदान गरेका नेताहरु वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाललगवायतको पार्टीभित्र फरक मत राख्ने नेता, कार्यकर्ता सबैलाई कारवाही गरेर पाखा लगाईसकेका छन् । त्यसो त ओलीले गरेका कामको विरोध गर्ने जिल्ला तहका नेताहरूलाई पनि छोेडेनन, यस्ता नेता, कार्यकर्ता कैयौ पार्टी बाहिर छन् । तिनीहरु सबै एमालेमा नयाँ नेतृत्वको पखाईमा रहेका छन् ।
पार्टीभित्र यति गर्दा पनि ओलीभित्रको डर भने अझै यथावत नै रहेको देखिन्छ । पछिल्लो समयमा उनलाई मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई पुनः जनताको माझमा लैजानुपर्ने उद्घोससहित अगाडि बढेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको डर थपिएको छ । उनले दोस्रो राष्ट्रपति कार्यकाल सकिनासाथ एमाले पार्टी सदस्यता पुनः लिएकी थिइन् त्यसपछि भण्डारी देश दौडाडामा रहेकी छन् जसले गर्दा ओलीलाई सशंकित बनाएको छ ।
आवश्यक परे पार्टी नेतृत्व लिन पनि तयार रहेको भण्डारीले पटक–पटक भन्दै आइरहेकी छिन् ओलीभन्दा १० वर्ष कम ६४ वर्षीया उनले केही दिनअघि एक अन्तर्वार्तामा ओलीलाई चेतावनी शैलीमा आफू अध्यक्ष बन्न तयार रहेको बताएर खुल्ला चुनौति दिएका छन् ।
एक अनलाईमा प्रकाशित अन्तर्वार्तामा पार्टी नेतृत्वमा आउने विषय र तपाईंलाई फर्काउने विषयले एमाले ध्रुवीकरण हुने र फेरि ओलीबाट कार्यकर्ताले कारबाही त भोग्नुपर्ने होइन भन्ने आशयको प्रश्नमा भण्डारीले प्रतिप्रश्न गर्दै भनेकी छिन– ‘पार्टीको भावी नेतृत्वको बारेमा छलफल गर्दा कसरी कोबाट खतरा हुन्छ र ?’
उनले आफूलाई जिम्मेवारीमा फर्काउने इच्छा व्यक्त गर्नेहरूलाई अझ बढी कामको जिम्मेवारी दिनुपर्ने बताएका छिन् ‘मलाई सम्मान गर्ने, मसँग सम्पर्क गर्ने, मलाई नेतृत्वमा आउनुपर्छ भनेर इच्छा व्यक्त गर्नेहरूलाई त उहाँहरूले अझ बढी कामको जिम्मेवारी दिनुपर्छ नि त !’ उनले भनेकी छिन्। भण्डारीले एमाले अध्यक्ष ओलीलाई मोरङबाट प्रष्टरुपमा चुनौती दिइसकेकी छिन्। ओलीले पार्टीको कुनै पनि भातृ संगठनमा निर्वाचन हुन नदिइरहेको समयमा मोरङ जिल्ला १० औं महाधिवेशनले ओलीपक्षलाई पाखा लगाई दिएको दृष्टान्त नेतृत्व परिवर्तनका लािग कार्यकर्ताले दिएको खुल्ला चुनौति हो ।