देश–समाज सम्पादकीय

चोरी नियन्त्रणमा ध्यान दिन आवश्यक

दमकको वडा नं. ५ स्थित दिपेन्द्र अधिकारीको एक तले पक्कि घरको ताल्चा फुटाएर दिनदहाडै चोर पस्यो । शुक्रबार उक्त चोरले दराजसमेत खोलेर त्यहाँभित्रको सुन चोरी गरी भाग्ने क्रममा स्थानीयले लखेटेर समाएर प्रहरीलाई जिम्मा लगाए । उनी थिए दमक–५ मै बस्ने राजेश बराइली । उनी अन्य ठाउँमा समेत चोरी गरेर झोलाभरी तिलहरी, नौगेडी, लकेट, सिक्री, चुरा, टप, औठी गरी १२ लाख बराबरको ७ तोला सुन र १८ हजार नगद समेत बोकेका थिए । त्यो बरामद गरी प्रहरीले राखेको छ ।
यस्तै त्यसकै भोलिपल्ट अर्थात शनिबार दमक-२ को जिरायतमा रहेको ह्याप्पीमार्ट किराना पसलमा चोरी भयो । चोरले गल्ला फोरेर संकलित रकम ४० हजार रुपैयाँसहित १ लाखको चोरी गरेको सञ्चालक उदय श्रेष्ठले बताए । उक्त पसलबाट चोरले नगदसहित खाद्य सामग्री, इलेक्टोनिक्स सामानलगायत चोरेका थिए । घटनास्थलको अनुसन्धान भईरहेको तर चोर अझै पक्राउ नपरेको अवस्था छ । मोटरसाइकललगायतका अन्य सामग्री चोरी भएपछि पत्रिकामा छाप्नेहरु उत्तिकै छन् ।
यि माथिका दमकको मुख्य बजार क्षेत्रभित्रै भएका चोरीका घटनाले पछिल्लो समय चोरहरुको बिगबिगी हुन थालेको बुझ्न कठिन हुँदैन । बेरोजगार, आर्थिक मन्दी, व्यापार व्यवसाय ठप्प भईरहेको अवस्थामा मानिसहरु दैनिकी कसरी चलाउने भन्ने चिन्तामा रहेका बेला हुने यस्ता चोरीबाट आम दमकबासी चिन्तामा छन् ।
यद्यपि दमकमा विगतको भन्दा चोरीमा निकै कमी आएको प्रहरीको भनाई रहेको छ । प्राप्त विवरण अनुसार २०७८÷०७९ मा २२ वटा मात्र चोरीका घटना भएको छ भने ०७९÷०८० मा बढेर ३८ पुगेको छ । त्यस्तै ०८०/०८१ मा बढेर ५० वटा घटना दर्ता इलाका प्रहरीका कार्यालय दमकमा दर्ता भएका छन । त्यसपछिको चालु आर्थिक वर्षको माघ महिनासम्म ५ वटा मात्र घटना दर्ता भएको देखिन्छ । जसमा श्रावणमा एउटा चोरीको घटना देखिएको छ भने त्यसपछि एकै पटक मंसिरमा २ वटा त्यसपछि माघसम्म १÷१ मात्र घटना दर्ता भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यद्यपि समाजमा भएका घटनाहरु कति इलाकामा पुग्छन त कति पुग्दैन । प्रमाणित भएका घटना मात्र दर्ता हुने गरेको उनीहरुको भनाई छ । यद्यपि पर्याप्त प्रहरी नभईदिएको र सीमित स्रोत र साधनको प्रयोग गरेर सकेसम्म यस्ता घटना हुन नदिन प्रहरी हरपल लागिरहेको उनीहरु बताउँछन् ।
संगठितरूपमा हुने चोरीका घटनामा कमी आए पनि साधारण चोरीका घटनामा भने कमी आउन सकेको छैन । दिनदहाडै यति ठूला ठूला चोरी हुन थालेपछि रातमा झन के हुने हो भन्ने चिन्ता बढाएको छ ।
चोरीका घटना कम गर्न बजार, चोकमा लाइट बत्तिको अभाव देखिन्छ । सबैतिर बत्ति जडान गर्नुपर्ने आवश्यकता देखिएको छ भने सीसी क्यामेरा ठाउँ ठाउँमा हुन आवश्यक छ । यसैगरी प्रहरीको गस्ति बढाउनुपर्ने देखिन्छ । गाडीमा बसेर घुम्नु भन्दा पनि एउटा निश्चत ठाउँमा केही प्रहरी राखिदियो भने त्यसले निकै सहज गराउन सक्छ ।

Author

You may also like