काठमान्डू संधै इतिहासको साक्षी बनेर बाँच्ने गर्छ । यसले हर समयका अकल्पनीय रंगहरूलाई हेरेको छ । देखेको छ । र बुझेको छ । यसले आफ्ना नयनभरी जिन्दावादका दृष्यहरू बोकेको छ । मूर्दावादका दृष्यहरू बोकेको छ । ढल्दै र ढाल्दै गरेका लाशहरू देखेको छ । भोका र थकित मान्छेहरूको एकमुठी चाउचाउ र अलिकति पानीसंग राज्यसंग मुकाविला गरिरहेका तन्नेरीहरू पनि देखेको छ । भुके चप्पल लगाएर उदाएका मान्छे अरबौंको संपत्तीका मालिक भएको पनि देखेको छ । राज्य लुट्न सिंह दरवार पसेका मानिसहरूको लावालस्कर पनि देखेको छ ।
आज काठमान्डू इतिहासका गह्रौं भारी बोकेर वर्तमान र भविष्यको अँध्यारो यात्रा तय गरिरहेको छ ।
काडमान्डूले तिघ्राको लडाई देखेको छ । अनि तिनैको जीत, तिनैको राज्य, तिनैको सत्ता देखेको छ । उसलाई पोलिरहेको छ भतभती, यस्तो बलको भरमा राज्य पाइने जंगली युगबाट कसरी मूक्ति पाउने ? काठमान्डू अब टाउकाको संख्या र तिनको लडाईंबाट प्राप्त ‘उपलब्धी’ लाई कसरी जोगाउन सक्छ ? किनभने् त्यस्तो ‘उपलब्धी’ त २००७ सालमा पनि आएको थियो ‘उपलब्धी’ तिघ्राको बलले । टिकाउन सकेन काठमान्डूले । १०१७ सालमा पनि आएको थियो ‘उपलब्धी’ तिघ्राको बलले । त्यसलाई पनि टिकाउन सकेन काठमान्डूले । २०४६ सालमा पनि ल्याइएको थियो, आएको थियो ‘उपलब्धी’ तिघ्राको बलले । त्यसलाई पनि टिकाउन सकेन काडमान्डूले । २०६३ सालमा पनि ल्याइएको थियो, आएको थियो ‘उपलब्धी’ तिघ्रको बलले । आज काडमान्डू त्यसलाई पनि टिकाइरहेको छैन । आज अर्को कुनै प्रकारको ‘उपलब्धी’ तिघ्रको बलले आयो भने पनि काठमान्डूले त्यसलाई जोगाउन सक्दैन । अर्को तिघ्रो जन्मिन्छ र यसलाई परास्त गरेर राज्य संयन्त्र कब्जा गर्ने छ ।
यो तिघ्राको ‘उपलब्धी’ को श्रङ्खला कहिलेसम्म रचना गरिरहनु काठमान्डूले ?
बल अर्थात् तिघ्राको ‘उपलब्धी’ सभ्य, शिक्षित र बिकसीत समाजमा कहिल्यै हुँदैन । यस्ता तिघ्राको ‘उपलब्धी’ लाई गौरव गरेर राजनीतिको बाटो लिनेहरूले मुलुकमा स्थिरता, बिकास, शान्ति र सभ्यता पस्किन सक्दैनन् । यस्ता मुलुकहरू प्राय ‘असफल’ मुलुकमा गनिन्छन् । असभ्य मुलुकमा गनिन्छन् । अशिक्षित पिछडिएको मुलुकमा गनिन्छन् । किनकि ती संधैं तिघ्रको जीतलाई ‘जनताको जीत’ भनेर कुरूप परिभाषा लगाइदिन्छन् । अफ्रिकाका धेरै मुलुकहरू यस्तै ‘तिघ्रे’ राजनीतिको उपलब्धीलाई ‘महान’ भनेर कुलिन्छन् । त्यही भएर त्यहाँ न त स्थिरता छ, न न शान्ति छ, न त विकास छ, न त सभ्यता छ । यो ‘तिघ्रे’ वर्गमा ल्याटिन अमेरिकी केही मुलुकहरू जस्तै भेनेजुएला, कोलम्बिया, पेरू र एशियाका केही मुलुकहरू जस्तै पाकिस्तान, अफगानिस्तान, बंगलादेश, म्यानमार, भियतनाम, मध्यपूर्वका मुलुकहरू पर्छन् । यी मुलुकहरूमा हर राजनीतिको कोर्स अर्थात् बाटो ‘तिघ्रा’ ले तय गर्छ । निक्र्योल गर्छ । अनि जब तिघ्रा कमजोर हुन थाल्छन्, अर्को तिघ्रे निस्किन्छ र पहिलेको तिघ्रेलाई विस्थापित गर्छ, अनि बाहिर आएर फुक्छ बेस्सरी, ‘जनताको चाहना बमोजिम महान परिवर्तन भएको छ ।’ जसरी आज माओवादी पार्टी यो बिम्बकमा बिराजमान भएको छ ।
वाहा ! कति गज्जपको राजनीति ?
‘तिघ्रे प्रजातन्त्र !’
भेनेजुएलामा यही भइरहेको छ । कोलम्बियामा यही भइरहेको छ । अर्जेन्टिना र पेरू पनि रून्छन् कनै कुनै बेला ‘तिघ्रे प्रजातन्त्र’ का आयामहरूले । अफ्रिकाका अधिकांश देशहरू यस्तै ‘तिघ्राको’ ‘तिघ्राका लागि, तिघ्राले’ मोडलको प्रजातन्त्रको मारमा छन् । क्यामरून, नाइजेरिया, बुर्किना फासो जस्ता मुलुकहरू रोइरहेका छन् यस्तै ‘तिघ्रे प्रजातन्त्र’का आयामहरूले ।
मध्यपूर्वका प्यालेष्टाइन्, इजराइल, सिरिया पनि यस्तै
‘तिघ्रे’ प्रजातन्त्रको अभ्यास गरिरहन्छन् ।
दक्षिण एसियाली मुलुकहरू जस्तै अफगानिस्तान, पाकिस्तान, नेपाल, बंगलादेश यस्तै ‘तिघ्रे’ प्रजातन्त्रको अभ्यास गरिरहेका छन् । नेपालले ‘तिघ्रे प्रजातन्त्र’ को अभ्यास २००७ सालदेखि गरिरहेको छ । १०४ बर्षे राणाका तिघ्रा खिएपछि प्रजातन्त्र आयो अर्को ‘प्रजातन्त्रे’ तिघ्रा मार्पmत । २०४६ मा पञ्चायतका ३० बर्षमा तिघ्रा खिएपछि कांग्रेस कम्युनिष्का बलिया तिघ्रामा चन्द्र शेखरको मलमपट्टी दलेपछि प्रजातन्त्र आयो ।
२०६३ सालमा रञ्जीत रे तथा श्यामशरणहरूले दश बर्ष बन्दुक पड्काएका माओवादीका बलिया तिघ्रामा मलमपट्टी लगाएपछि गणतन्त्र आएरै छाड्यो । आज फेरि अर्को तिघ्रावाला आएर परिवर्तन खोज्दैछ । भोलि त्यसलाई पनि पछार्ने अर्को तिघ्रावाला आएर यसलाई फेरि पछार्ने छ । यो ‘तिघ्रे प्रजातन्त्र’ अर्थात ‘तिघ्रे लोकतन्त्र’ निरन्तर बदलिरहनेछ । अनि मेरा हजुरबाले पनि तिघ्रे प्रजातन्त्र ल्याउन मरे, मेरा बाले पनि त्यही तिघ्रे प्रजातन्त्र ल्याउन मरे, मेरो पुस्ता पनि आज तिघ्रे प्रजातन्त्र ल्याउन मर्दैछ । सहिद हुँदैछ । मेरो छोर पनि त्यही तिघ्रे प्रजातन्त्रको लागि मर्ने छ । मेरो नाति पनि त्यही तिघ्रे प्रजातन्त्रको लागि मर्ने छ ।
यो शिलशिला कहिलेसम्म राख्ने ?
तर सभ्य, बिकसित, शिक्षित मुलुकहरूमा ‘राजनीतिको कोर्स’ ‘तिघ्राले’ तय गर्दैन । त्यहाँ जनताको अभिमतले तय गर्छ । त्यहाँ न त कसैसंग कुस्ती खेल्नु पर्छ, न त कसैलाई ‘पाँडे’ गाली गर्नु पर्छ । न त कसैलाई झुटो बोल्नु पर्छ । नैतिकता र इमान्दारिताको उत्कर्ष प्रस्तुत गरेर राजनीति हुन्छ र मुलुकलाई सभ्य, बिकसित, शिक्षत र सक्षम बनाइन्छ । जनताका आवाजको संबोधन गरिन्छ । भिन्न विचारहरूलाई बाँच्न दिइन्छ । अनि त्यहाँ सभ्य तरिकाले मतान्तरहरूलाई निक्र्योल गरिन्छ । त्यो पनि उन्नत प्रजातान्त्रिक बिधिबाट । त्यो भनेको जनमतसङ्ग्रह नै हो । यसरी मात्र जनताको अभिमतको सम्बोधन हुन्छ । जस्तो कि अष्ट्रेलियामा गणतन्त्रको माग हुँदा सन् १९९९ मा जनमतसंग्रह गराइयो र त्यसमा राजसंस्थालाई निरन्तरता दिनेको जीत भयो । त्यसले तिघ्राको राजनीतिलाई संधैको लागि समाप्त गरिदियो । आज त्यहाँ कसैले पनि यो कुरा उठाउँदैन । बेलायत युरोपेली युनियनमा नबस्ने भनेर जनताको आवाज उठेपछि बस्ने कि छाड्ने भनेर सन् २०१६ मा जनमतसंग्रह गराइयो । इयुबाट छुटिनेको जीत भयो । बेलायत इयुबाट अलग्गियो । संधैका लागि तिघ्रे राजनीतिको अंत्या भयो । आज त्यहाँ यो विषयमा कसैले कुरा उठाउँदैन ।
हामी चाहिं ‘तिघ्रे प्रजातन्त्र’ को अर्थात् ‘तिघ्रे राजनीति’ को अंत्य कहिले गर्छौ ? काठमान्डूले यो गर्न सक्ला ? अनि यसले आफ्नै आँखा अगाडि मान्छेको लाश ढलेको गीत गाउन बन्द गर्दा ? अनि हामी सभ्य बन्न कोषिश गरौंला ?
मैले गारै देखेको छु किनभने यो समय दलहरूले गर्ने ‘सफल प्रजातान्त्रि अभ्यास’ भनेको यही ‘तिघ्रे प्रजातान्त्रिक अभ्यास’ नै हो । यसैमा मात्र तिनको भलो भइरहन्छ ।