देश–समाज समाचार स्थानीय

झापासहित तीन जिल्लामा दुर्घटना न्यूनीकरणका लागिलागू भयो ‘टाइमकार्ड’


दमक/ झापामा कात्तिक महिनामै मात्र दुर्घटनाबाट १४ जनाको ज्यान गएको छ भने प्रदेशमा १५ दिनमा २५ जनाको ज्यान गएको छ । दुर्घटनाको यो कहालीलाग्दो अवस्था न्यूनीकरणका लागि अनेकन उपाय लगाईदैछ । तीब्र गतिका कारण बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न शनिबारदेखि झापासहित तीन जिल्लामा ‘टाइमकार्ड’ लागू गरिएको छ ।
शनिबार बिहान मेचीनगरको काँकडभिट्टामा एक कार्यक्रममार्फत् झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले टाइमकार्डको शुभारम्भ गरेका हुन् । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागू गरिएको हो । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई ‘टाइमकार्ड’ लागू हुने र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।
तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट जाने सवारीसाधनलाई झापाका तीन ठाउँमा निरन्तर चेकिङ हुने भएको छ । पूर्वबाट जाने सवारीसाधनहरुका लागि काँकडभिट्टा, बिर्तामोड र केर्खामा चेकिङ हुन्छ भने पश्चिमबाट आउनेहरुका लाागि दमकको तारावारी , लक्ष्मीपुर र काँकडभिट्टामा चेकिङ हुने प्रहरी निरीक्षक पौडेलले बताए । यसअघि २०७६ सालमा पनि झापामा टाइमकार्ड लागु गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन ।
यसैगरी मोरङको सुन्दरहरैचा ७ स्थित गछिया चोकमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक डीआईजी चन्द्रकुबेर खापुङले टाइम कार्डको सुरुवात गरे । पहिलो चरणमा पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा देखि कोशी ब्यारेज र कोशी राजमार्गको विराटनगरदेखि धरानसम्म रुटमा चल्ने यात्रुबाहक सवारीसाधनलाई लक्षित गरी टाइमकार्ड लागु गरिएको हो । टाइमकार्ड अनुसार विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दुरीका लागि ४५ मिनेटको समय अवधि तोकिएको छ भने इटहरीदेखि धरानसम्म २० किलोमिटर दुरीका लागि ३८ मिनेटको समय अवधि तोकिएको छ ।
काँकरभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दुरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ । कोशी प्रदेशमा दैनिक दुईदेखि तीन जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ । पछिल्लो १५ दिनको अवधिमा मात्रै कोशी प्रदेशमा भएको सवारी दुर्घटनामा २५ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
मध्यम दूरीका सवारीसाधनलाई लक्षित
टाइमकार्डले मुख्यतः मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्ष्यित गरेको छ। तोकिएको समयभन्दा बाहिर सवारीसाधन चलाएमा झापाका तीन स्थानमा नियमित चेकिङ गरिनेछ । पूर्वतर्फ जाने सवारीसाधनको काँकरभिट्टा, बिर्तामोड, र केर्खामा जाँच हुनेछ भने पश्चिमतर्फ आउने सवारीका लागि दमकको ताराबारी, लक्ष्मीपुर, र काँकरभिट्टामा जाँच गरिनेछ ।
समयसीमा निर्धारण
टाइमकार्डअनुसार काँकरभिट्टादेखि बिर्तामोडको १७ किलोमिटर दूरीका लागि ३० मिनेटको समय तोकिएको छ । त्यस्तै, बिर्तामोडदेखि केर्खाको २९ किलोमिटर दूरीका लागि ५१ मिनेटको समय निर्धारण गरिएको छ । दुर्घटनाको चक्र तोड्ने प्रयास
झापामा गत कात्तिक महिनामा १४ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । यसअघि २०७६ सालमा पनि टाइमकार्ड लागू भएको थियो तर प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन् । यसपटक ट्राफिक प्रहरीको सहकार्यमा नियमलाई कडाईका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस कार्यले झापा, मोरङ र सुनसरीका सडक दुर्घटनाको दरलाई उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको जनाइएको छ ।
त्यसो त विगत १७ वर्षमा ३५ हजार जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७१/७२ सालयता १० वर्षमा मात्र २४ हजार ९५ जनाको मृत्यु भएको छ। २०५२ सालदेखि १० वर्षसम्म चलेको माओवादी सशस्त्र–द्वन्द्वमा समेत यति धेरै मानिसको मृत्यु भएको थिएन । इन्सेकको रिपोर्टअनुसार त्यति बेला विद्रोही र सरकार पक्षबाट लगभग साढे १३ हजारको ज्यान गएको थियो। उक्त द्वन्द्वमा मृत्यु भएका जति मानिस २०६४ सालदेखि २०७१ सालबीचको सात वर्षमै मरेका थिए ।
घाइतेको संख्या झन् भयावह छ । विगत १७ वर्षमा लगभग ७८ हजार जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार हातखुट्टा गुमाएका, टाउको फुटेका, ढाड भाँचिएका, शरीरका अंग नचल्नेलगायत जटिल समस्या भोगेकाहरू गम्भीर घाइते हुन्। यो अवधिमा साधारण घाइतेको संख्या दुई लाखभन्दा माथि छ।
अन्तर्राष्ट्रिय निकायले गरेका अनुसन्धानले दुर्घटनाको अवस्था झन् भयावह देखाउँछ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल प्रहरीको तथ्यांकमा ठूलो अन्तर छ। प्रहरीका अनुसार नेपालमा २०७८/७९ मा भएका सवारी दुर्घटनामा दुई हजार ८८३ जनाको मृत्यु भएको थियो । तर डब्लूएचओले सोही वर्ष आठ हजार ४७९ जनाको मृत्यु भएको जनाएको छ । नेपालमा सवारी दुर्घटनामा हरेक दिन औसत आठ जनाको दरले मृत्यु हुने गरेको सरकारी तथ्यांक छ। तर डब्लूएचओका अनुसार नेपालमा हरेक दिन औसत १३ जनाले ज्यान गुमाउँछन् ।
नेपाल प्रहरीको तथ्यांकमाथि प्रश्न पनि उठ्छ । सडक सुरक्षाविज्ञ भगवती सेढाईं प्रहरीको तथ्यांक ‘अन्डररिपोर्टेड’ रहेको बताउँछिन् । उनी भन्छिन्, “प्रहरीले रिपोर्ट गरेको तथ्यांकमा मिसिङ छ ।”
विश्वभर हरेक वर्ष दुर्घटनामा लगभग १२ लाख मानिसको मृत्यु हुन्छ । मृत्युको १२औँ प्रमुख कारण दुर्घटना हो । बालबालिका र युवापुस्ता झन् जोखिममा छन्। डब्लूएचओको २०२३ मा प्रकाशित रिपोर्टअनुसार बालबालिका र युवाको मृत्यु हुने प्रमुख कारण चाहिँ दुर्घटना नै हो ।

Author

You may also like