विमल लामिछाने
दमक, ६ असोज/ पूर्वाधार विकासका हिसाबले दमक अरु नगरको तुलनामा अगाडी छ । दमकमा बिभिन्न विकासका परियोेजना सञ्चालनमा छन् । देशले नै गौरव गर्न लायक केही परियोजना निर्माणाधीन छन् भने, अन्य केही योेजना निर्माण प्रक्रियाको चरणमा रहेका छन् ।
सरकार परिर्वतनसँगै भएको (विनियोजन विधेयक) बजेट संशोधनले दमकका गौरवका योजना प्रभावित हुनेमा दमकबासीको चिन्ता बढिरहेका बेला निर्माणाधीन अवस्थामा रहेका विकास योजना प्रभावित नहुने दमक नगरपालिकोका प्रमुख रोमनाथ ओलीले बताएका छन् ।
दमकमा औद्योगिक पार्क, विश्वकै अग्लो बुद्धको मूर्ति, भ्यू टावर, सभागृह, बहुतले बस पार्क, सपिङ कम्प्लेक्स, रोज गार्डेन पार्क, बहुजातीय सांस्कृतिक संग्राहलय, विज्ञान पार्क, लगायतका योजनाहरु दमकको गहनाको रुपमा रहेकाले यी सबै योजनाहरुको निर्माण कार्य तिब्र गतिमा अगाडी बढ्ने दमक नगरपालिका उपमेयर गीता अधिकारीले बताइन् ।
झापाको दमक नगरपालिका –३ दापगाछीमा भ्यू–टावर निर्माण करिब ६० प्रतिशत काम सम्पन्न भइसकेले असार अन्तिमसम्ममा निर्माण सम्पन्न हुने उपमेयर अधिकारीको भनाइ छ । २५ तले टावर निर्माणको संघीय सरकार अन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर निर्माण कार्य अघि बढाइएको हो ।
भ्यू–टावर पाँच बिगाहा जमिनमा बन्दै छ । जसका लागि स्थानीयले १० धुरदेखि एक बिगाहासम्म जग्गा दमक नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका छन् ।
यसैगरी झापामा औद्योगिक पार्क निर्माण अघिल्लो वर्षकै साउनमा लगानी बोर्डले स्वीकृति दिइसकेको छ । लगानी बोर्डले स्वीकृति दिएसँगै झापा क्षेत्र नम्बर – ५ का तीनवटा पालिकाको संयुक्त जग्गामा ‘चाइना –नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ निर्माण हुने भएको हो । गौरादह नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिकाको जग्गामा पार्क निर्माण हुने र यो बहुवर्षे योजना भएकाले सरकार परिर्वतन र बजेटको हेरफेरले कुनै असर नगर्नेमा आफू विश्वस्त रहेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।
सन् २०१७ मा चीनबाट आएको टोलीले पार्क निर्माण गर्ने विषयमा सो क्षेत्रको अवलोकन गरेको थियो । लगानी बोर्डको बैठकले पार्क निर्माण गर्नका लागि ६४ अर्ब रुपैयाँको लगानी स्वीकृत गरिसकेको छ । पार्क निर्माणको जिम्मा दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिलाई दिइएको छ ।
नगरको अर्को ठूलो योजना बुद्ध मूर्ति बनाउने हो । दमकको हंसे–दुम्से सामुदायिक वन क्षेत्रमा ५ सय ४२ फिट आग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनामा नगरपालिका कार्यालयले डीपीआर तयार गरिसकेको छ । यसको निर्माण तयारीका लागि घेराबारा भइरहेको उपमेयर अधिकारीले जानकारी दिइन् । १५ अर्बभन्दा बढीको लगानीमा बुद्धमूर्ती निर्माण गर्न लागिएको हो ।
यसैगरी दमक नगरपालिका– ९ मा ‘दमक सभागृह’ निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको नगरपालिकाले जनाएको छ । प्रदेश १– कै ठूलो भनिएको सभागृह १ विगाह क्षेत्रफलमा निर्माण भइरहेको छ ।
संघीय सरकारको ३४ करोड रुपैयाँ लगानीमा उक्त सभागृह निर्माण भएको हो । २ वटा हल रहेको सभागृहमा एउटामा १५ सय जना र अर्को ३ सय जना र अटाउने क्षमताको रहेको छ । सभागृह सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको सहयोगमा निर्माण भएको हो ।
सफा नगर नै दमकको परिचय
दमकलाई हरित र सफा नगरको रुपमा पनि चिनिन्छ । दमक नगरपालिका २०३९ सालमा स्थापना भएको नगरपालिका हो । पूर्वधारको हिसाबले दमक व्यवस्थित नगरपालिकामा पर्छ । दमकका अधिकांशजसो बाटा न्यूनतम् २० फुटका छन् । सुन्दर र सफा नगरको परिचय बनाएको दमकमा नगर स्तरीय योजनामा पनि संघीय सरकारले अरबौको बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारको सहयोगमा दमक–२ मा भुटानी शरणार्थीको सम्झनामा संग्रहालय निर्माण गर्ने योजना डीपीआर भइसकेको छ । दमकमै बन्ने सपिङ कम्प्लेक्स, रोज गार्डेन पार्क, सहिद बनबाटिका लगायतका काम निर्माण प्रक्रियामा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताए ।