दमक/ पूर्वी पहाडी जिल्लाका कृषकहरुको मुख्य नगदेवाली अलैंचीले मूल्य नपाउँदा कृषक मारमा परेका छन् । चाडपर्व मनाउँन भरथेग हँदै आएको अलैचीले उचित मूल्य नपाएपछि किसानलाई नजिकिँदै गरेका चाडपर्व मनाउन पनि धौ धौ भएको छ । अलैँचीको निर्यात घट्दा पूर्वी इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा लगायतका जिल्लामा किसान समस्यामा परेका हुन् । नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने अलैँचीको निर्यात पछिल्ला वर्षहरुमा भने खस्कन थालेपछि श्रमको ज्याला पनि नउठ्ने चिन्ताले किसानलाई थप चिन्तित बनाएको छ भने दशैं तिहार मनाउने खर्च जुटाउन पनि समस्या हुँदै भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३१ दशमलव ४६ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आर्थिक वर्ष २०७९/०८० को साउन र भाद्रमा पनि ३५ दशमलव ८९ प्रतिशतले गिरावट आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको सुरुवातदेखि नै अलैँचीको निकासी निरन्तर ओरालो लागिरहेको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैँचीको निर्यात घटिरहेको छ । अलैँची विक्रिकेन्द्र काँकडभिट्टा कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो साउनमा ३५ करोड ६५ लाख रुपैयाँको निकासी रहेकोमा चालू आवको साउनमा भने यो निकासी २२ करोड ८५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । परिमाणका हिसाबले अलैँची निकासी झनै घटेको देखिन्छ । अघिल्लो साउनमा ४ लाख ५३ हजार १५० केजी अलैँची निकासी भएकोमा चालू वर्षको साउनमा भने २ लाख ७७ हजार ८७० केजीमात्र निकासी भएको छ ।
नेपाली अलैँचीको मुख्य बजार भारत भए पनि भारत सरकारका विभिन्न प्रावधानका कारण अलैँचीको निकासी ओरालो लाग्दै गएको अलैँची उत्पादक संघका निवर्तमान अध्यक्ष राजकुमार कार्कीले बताए । अलैँची निकासी गर्दै आएका व्यवसायीहरुका अनुसार भारतले अलैँचीको भन्सार मूल्यांकन बजार मूल्यभन्दा बढी गर्ने भएकाले निकासीकर्ता निरुत्साहित छन् । नेपाली बजारमा अलैँचीको मूल्य प्रतिकिलो ५ सय ५० रुपैयाँ रहे पनि भारतीय भन्सारले ५ सय भारु अर्थात् ८ सय रुपैयाँ नेपाली कायम गरेपछि किसानहरू समस्यामा परेका हुन् । नेपालको बजार मूल्यभन्दा २ सय ५० रुपैयाँ बढी मूल्यांकन हुँदा नेपाली किसानहरूले बढी जीएसटी तिर्नुपरेको अलैँची उत्पादक संघका निवर्तमान अध्यक्ष कार्कीको भनाइ छ । उनका अनुसार नेपाली किसानहरूले जीएसटीबापत प्रतिकिलो १५ देखि २० रुपैयाँ बेहोर्नुपर्ने अवस्था आएको छ । भारतीय व्यापारीले अलैँचीबापत लाग्ने जीएसटी रकम नेपालीलाई तिर्न लगाएका छन् । कार्कीका अनुसार अलैँचीको भुक्तानी गर्दा भारतीय व्यापारीले जीएसटी कटाएर भुक्तानी गर्दा किसानहरू मर्कामा परेका हुन् । पश्चिम बंगालको सिलिगुडीबाट नेपालको अलैँची कोलकाता हुँदै अन्य मुलुकमा जाने गरेको छ ।
नेपालले भारतलाई निकासी गरे पनि भारतले त्यसमा मूल्य अभिवृद्धि गरी दशौं गुणा बढी फाइदा उठाइरहेको व्यवसायीहरु बताउँछन् । कुनै बेला किसानले प्रतिमन अर्थात् ४० केजीको १ लाख रुपैयाँमा बिक्री गरेको अलैँचीको मूल्य पछिल्लो समय भने निरन्तर ओरालो लागेको छ । ५ वर्षअघि प्रतिमन १ लाखका दरले बिक्री भएको अलैँची हाल २० हजार प्रतिमनमा आइपुगेको छ । विगतमा नेपालबाट उच्च निकासी हुने सूचीमा रहेको अलैँचीको खेती पनि बढ्दै गएको छ ।
पहाडी जिल्लाका ग्रामीण भेगहरूमा अलैँची खेती गर्ने किसानको संख्या बढ्द गएको छ । सेपिलो र पानीको स्रोत भएको जमिनमा राम्रो उत्पादन हुने भएकाले किसानको रोजाइमा अलैँची खेती पर्दै आएको व्यवसायीहरू बताउँछन् । एक जिल्लामा सरदर ८ सय क्विन्टल अलैँची उत्पादन हुने अनुमान छ । छोटो समयमा खेर गइरहेको जग्गाबाटै अत्यधिक आम्दानी हुने अलैँची खेतीको विस्तार भइरहेको छ । पूर्वका पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, पाँचथर, संखुवासभासहित देशका ४० जिल्लामा अलैँची उत्पादन
हुँदै आएको छ ।