टेण्डरको माध्यमबाट लिजमा दिइने
दमक । प्रधानमन्त्री आज झापा आउँदैछन । दमकमा नवनिर्मित व्यापारिक कम्प्लेक्स (भ्यु टावर) को उद्घाटन तथा विविध कार्यक्रममा सरिक हुन २ दिने कार्यक्रम लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली गृह जिल्ला झापामा आउने भएका हुन । प्रधानमन्त्री ओलीसँग उपप्रधान तथा सहकारी विकास मन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव तथा डिजीहरुसहितको टोली उद्घाटनमा आउने पूर्वाधार विकास समितिको सभापति प्रदेश सांसद होम बहादुर थापाले बताएका छन् ।
थापाका अनुसार प्रधानमन्त्रीको ओली भद्रपुरबाट सिधै मेचीनगर–४ बाहुनडाँगी पुगेर मानव सेवा आश्रमको तयारी भवनको उद्घाटन तथा नयाँ भवनको शिलान्यास गर्ने भएका छन् । त्यसपछि २ बजेसम्ममा दमक व्यापारिक कम्प्लेक्स (भ्यु टावर) उद्घाटन हुने कार्यक्रम रहेको छ । कार्यक्रम उद्घाटन पछि सो कम्प्लेक्स हस्तान्तरणको कार्यक्रम रहेको पनि थापाले बताए । नेपाल सरकारले बनाएको सञ्चालन कार्यविधि पास गरेको छ । झापाको व्यापारिक कम्प्लेक्स, काठमाडौंको धरहरा, बानेश्वरको अन्तर्राष्टिूय सम्मेलन केन्द्रसहित अन्य ठाउँका ६ वटा आयोजना सञ्चालन गर्नका लागि समिति बनाइएको छ । सो कार्यविधिले यी छ वटै आयोजना सञ्चालन गर्ने बाटो दिएको छ । सो कार्यविधिमा सहरी विकास मन्त्रालयको सचिव, अर्थमन्त्रालय, गृहमन्त्रालय, पर्यटन मन्त्रालयका सहसचिवहरु, सहकारी विकास मन्त्रालयको भवन विभागको सहसचिव र डिजी त्यसको सदस्य रहेका छन् । उद्योग वाणिज्य महासंघ, होटल व्यवसायी महासंघका प्रतिनिधि पनि त्यसको सदस्य रहने प्रावधान राखिएको सांसद थापाले बताए । त्यसलाई हेर्नको लागि एक जना कार्यकारी निर्देशक निश्चित योग्यता र क्षमताका आधारमा खुल्ला प्रतिष्पर्धाबाट आउने प्रावधान राखिएको छ । यहि फ्रेमभित्रबाट सो कम्प्लेक्स सञ्चालनमा आउनेछ । सोही टिमबाट ६ वटै आयोजनाको सञ्चालन गर्ने पनि थापाले बताए । उद्घाटनपछि सोही समितिलाई हस्तान्तरणको कार्यक्रम रहेको छ । त्यसपछि सञ्चालनका लागि थप विधि र विनियमहरु सोही समितिले बनाएर अगाडि बढ्नेछ । खास गरेर ६ वटै संरचना निजी क्षेत्रलाईलाई लिजमा दिने भने बमोजिम लिजको लागि सूचना निकाल्ने प्रावधान रहेको छ । सोही अनुसार छनौटमा परेका व्यवसायीहरुले त्यसलाई सञ्चालनमा ल्याउने पनि सांसद थापाले बताए । थापाका अनुसार दमक व्यापारिक कम्प्लेक्सको टपबाट दृश्यावलोकनका लागि ठीक हुनेछ भने त्यो भन्दा मुनी होटलहरु सञ्चालन गर्ने गरीका संरचना बनेका छन् । त्यो भन्दा मुनी अन्य व्यवसाय, कार्यक्रम, हल सञ्चालन गर्न मिल्ने खालको संरचनाहरु रहेको बताए । सञ्चालनमा आएको अन्योलाई कार्यविधिले हटाइसकेको हुँदा अब कुनै समस्या नरहेको पनि उनले बताए । त्यहाँ पुग्ने बाटोहरुको सन्दर्भमा पनि ठेक्का लगाउन सहरी विकास मन्त्रालयले बजेटको व्यवस्था गरिसकेको छ । त्यो वरिपरि सहर बनाउने भनेर ल्याण्डकुलिङका लागि उपभोक्ता, जग्गा धनी र सम्बन्धी निकायहरुसँग छलफल चलिरहेको पनि उनले बताए । हस्तान्तरण गरेसँगै यि सबै कामहरु अगाडि बढ्ने पनि थापाले बताएका छन् ।
सचिवको अध्यतामा बन्ने समितिमा सम्बन्धित क्षेत्रका नगरप्रमुख वा गाउँपालिका प्रमुखहरुलाई समेत बैठकमा आमन्त्रण गर्ने गरी व्यवस्था गरेको पनि थापाले सुनाए । यहाँबाट जम्मा भएको पुँजी राज्यकोषमा जम्मा हुने र राज्यकोषबाट स्थानीय सरकार र प्रदेश सरकारसहितलाई बाँडफाँड गर्ने गर्दछ । तसर्थ स्थानीय तहलाई समेत भूमिका दिने गरी व्यवस्था गरिएको उनले बताए ।
यसैगरी २४ गते पहिलो कार्यक्रम विहान १० बजे बेलडागी खानेपानी आयोजनाको भवन दुम्सेमा उद्घाटन कार्यक्रम रहेको छ । ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनीपुर्जा बितरण कार्यक्रम तय भएको छ भने १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ । बिर्तामोडमा २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सांसद थापाले बताएका छन् ।
दमकमा निर्मित व्यापारिक कम्प्लेक्स (भ्यु टावर) उद्घाटनका बारेमा प्रश्न गर्दा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले उद्घाटनको चिठी नगरपालिकामा आएको थाहा पाएको छु । नगरपालिकासँग कुनै सहकार्य र भूमिकाको बारेमा कुरा भएको छैन । छुट्टै व्यवस्थापनबाट कम्प्लेक्स सञ्चालनमा आउने भएछ । राम्रै लागेको छ । दमकमा निर्माण हुने अर्थात् जनतालाई लाभ हुने र सुविधा पुग्ने काममा नगरापलिका सदैव सकारात्मक रहनेछ । कम्प्लेक्स निर्माण भएर धेरै समयसम्म सञ्चालनमा अन्योल थियो । त्यो अन्योल हटाएर सञ्चालनमा आउने भएकोमा खुशी लागेको छ । मेरो शुभकामना । उक्त कम्प्लेक्सलाई जोड्न धेरै सडक निर्माण हुन बाँकी छन । ती चाँडै निर्माण हुन । जनतालाई सुविधा पुगोस् भन्ने चाहान्छु ।
‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको १८ तले सो भवनको शिलान्यास २०७६ असार २७ गते प्रधानमन्त्री ओलीले नै गरेका थिए । ७२ मिटर उचाई कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । सो व्यापारिक भवनको निर्माणमा कुल एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ रुपैयाँ लागत लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीले जनाएको छ । जस अनुरुप यसको लागत एक अर्ब ४५ करोड हुन पुगेको छ ।