दमक/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले रुपन्देही अदालतको बार्दलीबाटै बयान सकेर निस्कने क्रममो खोरमा थुन्दैमा बाघ स्याल नहुने बताएका छन् । सहकारी रकम ठगी प्रकरणको अनुसन्धानका
क्रममा रुपन्देही पुर्याइएका रवि लामिछानेको अहिले अदालतमा बयान सकिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सुप्रिम सहकारीको बचत रकम अपचलनमा अनुसन्धानका लागि मंगलबार रास्वपाका कार्यकर्ताको भिडलाई छिचोल्दै रुपन्देही रुपन्देही पुर्याइएको हो ।
मंगलबार मध्याह्न १२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रवि लामिछाने बोकेको बुद्ध एयरलाइन्सको जहाज उडेको थियो । उक्त जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको हो । विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरिरहेका थिए विमानस्थलभित्र प्रवेश गर्न कसैलाई दिइएको थिएन । हिरासतमुक्त बनाएर अनुसन्धान गर्न माग गर्दै रास्वपाका कार्यकर्ताको आन्दोलन जारी रहेको छ । उनीहरुले कास्की हुँदै आज रुपन्देहीमा समेत आन्दोलन गरेका छन् ।
कडा सुरक्षा घेराभित्र उनको बयान लिइएको थियो । विमानस्थल, जिल्ला प्रहरी कार्यालय, अदालत र सरकारी वकिलको कार्यालय वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । लामिछानेलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालयमा लगेर खाना खाएपछि मात्र सरकारी वकिलको कार्यालयमा पुर्याएर ६ घण्टा लामो बयान लिए पछि लामिछाने बाहिरिएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनले बयानपछि सरकारी वकिलको कार्यालयको बार्दलीबाट समर्थक र पत्रकारहरूतिर फर्किएर छोटो टिप्पणी गर्न भ्याए ।
सरकारी वकिलसँग बयानपछि बार्दलीबाट भ्यानतर्फ झार्ने क्रममा उनलाई समर्थकहरूले ‘रवि दाइ डन्ट ओरी’ भन्दै हौसला दिए । रविले पनि बार्दलीबाट थम्स अप गर्न भ्याए ।
त्यसपछि उनले बार्दलीबाट झर्नै लाग्दा दबिएको स्वरमा भने, ‘खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन ।’ रविले बोल्न भ्याएपछि अत्तालिएका प्रहरी अधिकारीले उनलाई तत्कालै ठेल्दै भ्यानतिर लिएर गए । यसअघि पोखरामा पनि उनले अदालत परिसरमा बोल्दा विवाद भएको थियो ।
गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पटकपटक म्याद थप गराउँदै कास्की प्रहरीले सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा उनलाई मंगलबार रुपन्देही लगिएको हो ।
लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ । रुपन्देही प्रहरी प्रमुख एसपी रन्जीतसिंह राठौरले सम्भावित घटना रोक्न सुरक्षाव्यवस्था चुस्त बनाइएको बताए ।
सरकारी वकिल कार्यालयको केही पर बुद्धचोक र लुम्बिनी गेट अगाडि रास्वपा कार्यकर्ता र सहकारी पीडितहरुले छुट्टाछुट्टै प्रद्धर्शन गरेका छन् । दुवै पक्षले सहकारी ‘पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर, स्वतन्त्र न्याय सम्पादन गर’ लगायतका नारा लगाएका छन् ।
रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो । अदालतको अनुमतिअनुसार सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई रुपन्देही ल्याइएको हो ।