अचेल म देखिरहेको छु, मान्छे जेमा पनि देशप्रेमको भावना देखाउने गर्छन् । कसैले बोल्यो भने पनि त्यहीं लगेर जोडने । कसैले केही लेख्यो भने पनि त्यहीं लगेर जोडने । कोही कतै गयो भने पनि त्यहीं लगेर जोड्ने । कसैले कुनै देशको बारेमा टिप्पणी ग¥यो भने पनि त्यहीं लगेर जोड्ने । कसैले कुनै सांस्कृतिक अभ्यास जस्तै लाउने खाने कुरामा कतै कसैसंग मिल्यो भने पनि त्यहीं लगेर जोडने ।
यो भूमण्डलीकरणमा स्वतन्त्र बजार अर्थतन्त्र हुन्छ र कुनै एउटा बस्तुको उपभोक्ता यो संसारको हरेक कुनाको मान्छे हुन्छ । यो सत्यताप्रति मान्छे कति अनभिज्ञ हुन्छ भन्ने कुरा यहाँहरूले संधै सुन्नु भएकै होला । एक पटक मैले गर्मी छेल्न सुती कपडाका कुर्ता सुरूवाल सिलाएर लगाएँ । कुर्ता अलिक लामा थिए । एकजना विद्वानले भने, ‘तपाई त रियल हजिबुल्ला देखिनु भयो त’ । उहाँको त्यो शब्दको गहिराई सायद उहाँलाई पनि थाहा भएन । धोती र टोपीको नकारात्मक अलंकार त्यतिकै आएका होइनन् ।
तर देशको यति धेरै प्रेम गर्नेहरूले आजसम्म कसैको विरोधलाई राष्ट्रियता संझे । कसैको समर्थनलाई राष्ट्रियता संझे । अनि देशलाई युवाहरू आकर्षितै हुन नसक्ने गरी निराशाको पापड बनाइदिए । ती अहिले पनि त्यही पापड सेकाइरहेका छन् । देख्छु, अचम्म लाग्छ, कोही विद्या भण्डारी चीन जाँदा रमाउनेहरूको एउटा जुलुश छ । कोही प्रधानमन्त्रीको लुगाका देश खोज्दैछन् । अर्थमन्त्रीको विचारमा देश खोज्छन् ।
राष्ट्रियताको मुकुण्डो लगाउनेहरूको यो भीडमा म अहिले उभिएको छु । यिनले देशप्रेमको काँचो रोटी पकाएर नेपालीहरूलाई खुवाए । परिणाम, पचहत्तरले भेट्टायो । राष्ट्रियतामो पखाला । यिनीहरूको राष्ट्रियताको गीत सुन्दा सुन्दा कान फुटिसके, तर त्यो बेमौषमी गीत कहिल्यै सकिएन । यनिको त्यो गीत सुन्दा सुन्दा मलाई यी मान्छे केन्याका उपन्यासकार नगुगी थ्योङ्गोको उपन्यास ‘ए ग्रेन अफ ह्विट’ १९६७ ) अर्थात् ‘गहुँको चामल’) को झलझली याद आयो ।
के छ त त्यो उपन्यासमा ?
केन्याले ब्रिटिस औपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गर्न गरेको सङ्घर्षमा आधारित ऐतिहासिक तथा राजनीतिक उपन्यास हो यो । त्यसबेला, र अहिले पनि, पश्चिमाहरूको मूल नारा नै हो ‘ओरिन्टालिजम’ अर्थात् (पश्चिमाहरू मात्रै सभ्य र शिक्षित हुन्छन् भन्ने मान्यता) हो । त्यस्तो सोचको शिकार भएका केन्यालीहरूले स्वतन्त्रताको लािग कस्तो लडाईं लड्नु परेको थियो होला भनेर अनुमान लागाउन सकिन्छ । त्यो संद्दर्ष भयानक र दर्दनाक थियो । मुख्यतः सन् १९६३ को डिसेम्बरमा केन्या स्वतन्त्र हुनुभन्दा ठीक अघिका दिनहरूमा केन्द्रित यस उपन्यासले राष्ट्रवाद, विश्वासघात, बलिदान, अपराधबोध, औपनिवेशिक हिंसा र नयाँ राष्ट्र निर्माणको जटिल प्रक्रियाको बिभत्स चित्रण गरेको छ  ।
यस उपन्यासको केन्द्रमा ‘मुगो’ नामक एक शान्त स्वभावको, बाहिरबाट हेर्दा वीर र साहसी देखिने गाउँले पात्र देखा पर्छ । गाउँका मानिसहरू उसलाई साहसी स्वतन्त्रता सेनानी ठान्छन् । ऊ इमान्दार पनि छ । देशप्रेमी छ । किनभने उनीहरूको विश्वासमा उनीहरूको माउ माउ आन्दोलनका शंकास्पद सदस्यहरूलाई औपनिवेशिक सरकारले नजरबन्दमा राखेका बेला मुगोले पनि अनेकौँ कष्ट सहेको थियो । कयौं यातना भोगेको थियो मुगोले । ऊ केन्यालीहरूको गुमेको धर्ती र आकास प्राप्त गर्न चाहन्थ्यो । केन्याको स्वतन्त्रता नजिकिँदै जाँदा गाउँलेहरू ‘उहुरु’ अर्थात् स्वतन्त्रताको उत्सव मनाउने तयारीमा जुटिरहेका हुन्छन् । त्यो घर प्राप्तीको उतसव थियो । हावा, धर्ती, आकास र पानी प्राप्त गर्ने कर्म थियो ।
तर मुगो भने आफ्नो अतीतको बोझले भित्रभित्रै व्याकुल हुन्छ । उसलाई बिगतले एैंठाउँछ । मनोवैज्ञिानिक घाइते हुन्छ ऊ । बाल्यकालमा खान र लाउन नपाएको मात्रै होइन, निम्सरो सामाजिक अवस्थाले गर्दा सारा गाउँलेहरूबाट तिरस्कृत, बहिस्कृत र अपमानित बाल्यकाल उसको पतनको कारक बन्न पुग्छ । गाउँलेहरूले ठानेजस्तो ऊ वीर राष्ट्रवादी हुँदै होइन । औपनिवेशिक शासनकालमा उसले एक महत्त्वपूर्ण स्वतन्त्रता सेनानी किहिकाबारे औपनिवेशिक अधिकारीहरूलाई सूचना दिएर उनीसँग विश्वासघात गरेको थियो । देशद्रोह गरेको थियो । बिदेशीका सामू लम्पसार परेको थियो । बिकेको थियो । पाल्तु कुकुर बनेको थियो । त्यसपछि किहिका पक्राउ प¥यो । र उसलाई मृत्युदण्ड दिइयो । आप्mनो छवि बिगार्ने त्यो भूमिकाले आप्mनो देशलाई माया गर्नेको बिरूद्ध लागेर बिदेशीको दलाली गरेको त्यस घटनादेखि नै मुगो अपराधबोधको भारी बोकेर बाँचिरहन बाध्य हुन्छ ।
उपन्यासको अर्को महत्तवपूर्ण पात्र हा गिकोञ्योे । ऊ एक सिकर्मी हो, जसलाई स्वतन्त्रता सङ्घर्षमा संलग्न भएकै कारण औपनिवेशिक सरकारले वर्षौँसम्म कारागारमा थुनेको थियो । जेलबाट घर फर्केपछि थाहा पाउँछ कि उसले आफ्नी पत्नी मुम्बीबाट काराञ्जासँगको सन्तान जन्मिएको थाहा पाउँछ । काराञ्जा औपनिवेशिक अधिकारीहरूसँग सहकार्य गर्ने व्यक्ति हो । यस घटनाले गिकोञ्योको मनमा ईष्र्या, क्रोध र वितृष्णा उत्पन्न गर्छ । समाजमा भाँडभैलो भएको ठान्न थाल्छ ऊ । काराञ्जा औपनिवेशिक सत्तासँग सहकार्य गर्ने प्रवृत्तिको प्रतिनिधि पात्र हो । ब्रिटिस शासकहरूसँग मिलेर काम गरेकै कारण उसले शक्ति र विशेषाधिकार प्राप्त गर्छ, तर यही भूमिकाका कारण स्वतन्त्रता सेनानीहरूका माझ ऊ अलोकप्रिय बन्छ । कुख्यात ठहरिन्छ । मुम्बीसँगको उसको सम्बन्धले कथालाई अझ जटिल बनाउँछ ।
उपन्यासका मुख्य घटनाहरू घट्नुअघि नै किहिकाको मृत्यु भइसकेको हुन्छ, तैपनि ऊ यस कृतिका सबैभन्दा प्रभावशाली पात्रहरूमध्ये एक हो । उसले क्रान्तिकारी राष्ट्रवाद र बलिदानको प्रतिनिधित्व गर्छ । उसको विश्वास छ–केन्याली जनताले औपनिवेशिक प्रभुत्वको प्रतिरोध गर्दै आफ्नो देशमाथिको अधिकार पुनः प्राप्त गर्नैपर्छ । बिकल्पै छैन ।
स्वतन्त्रताको दिन नजिकिँदै जाँदा गाउँलेहरू किहिकासँग विश्वासघात गर्ने व्यक्ति को थियो भन्ने रहस्य पत्ता लगाउन चाहन्छन् । गाउालेहरू त्यो देशद्रोही को हो भनेर खोज्न थाल्टन् । अन्ततः मुगो नै प्रमाणित हुन्छ । उसले सार्वजनिक रूपमा स्वीकार गर्छ कि किहिकाको विश्वासघातका लागि जिम्मेवार व्यक्ति ऊ स्वयं हो । उसैले गोरेहरूलाई किहिकाको बारेमा भनिदिएर उनीहरूले किहिकालाइै मारेका हुन् । त्यो पापको थैली बोकेर हिंड्नु मुगोलाई निकै कठीन भयो ।
मुगोलाई देशको नायक मानेका केन्यालीहरूले उसलाई एउटा कुख्यात राष्ट्रघातीको रूपमा देख्नु पर्दा राष्ट्रिय नायकको झूटो छविभित्र लुकेर जीवन बिताइरहेको देखे । यस्तो झुटो मकुण्डो लाउनुको कारण सहित उसले आफ्ना कर्महरूको जिम्मेवारी स्वीकार गर्छ । पाप स्वीकार गर्छ । उसको यो सार्वजनिक स्वीकारोक्ति उपन्यासका सबैभन्दा महत्त्वपूर्ण र अर्थगर्भित क्षणहरूमध्ये एक बन्न पुग्छ । र उसन्यास यहीं अन्त्य हुन्छ ।
अहिले यो देशमा अचम्म माननु पर्ने कुरा चाहिं के हो भने हिजो मुगोको भूमिकामा जीवन बिताएकाहरू आज देशप्रेमको कुरा गर्छन् । आप्mनो दल बिदेशमै जन्माउने । दलको झण्डा बिदेशकै राख्ने । दलको विचार बिदेशीहरूकै राख्ने । नेता बिदेशीलाई नै मान्छे । बिदेशमै बसेर, त्यहीं खाएर, त्यहीं हुर्किएर, त्यहींको सहायताले स्वदेशमा बिद्रोह गर्ने, राष्ट्रको मुण्डन गर्न बिदेशीकै जुठेल्नामा गएर तिनैले लेखिदिएको ‘बण्डापत्रमा’ सही गरेर यहाँ आएर ‘अंश’ लिने, एक पटक तिनका ढोका ढकढक्याउँदा मन्त्री र पद पाउनेहरू नै अहिले सबैभन्दा बढी राष्ट्रवादको कुरा गरेर रोइरहेका छन् । वर्तमान परिवेशको आलोचना गरिरहेका छन् । मुगोले त अंत्यमा गाउँलेमाझ माफी मागेर त्यो उपन्यास सकिएको छ, यहाँका यी साढे ३ दशकदेखि ‘राज गरेका मुगोहरू’ ले चाहिं केही गर्नु पर्दैन ? अभैm यिनले राष्ट्रियताको मुगोवादी रोटी सेक्ने प्रयास गरिरहेकै हुन त ?

Author

You may also like