लेख विचार/वहस

कायर बनेर पनि जित्न सकिन्छ .. पाठ सिक सिकौँ

ओँठे जवाफ फर्काउनु उच्च ओहोदाको मानिसको सुन्दर पक्ष हुँदै होईन। शास्त्रले भन्छ “कम बोल्नु र धेरै सुन्नु” असल र सफल मानिसका ब्रह्मअस्त्र हुन् । जसलाई ठिक समयमा प्रयोग गर्न सकियो भने जस्तोसुकै संकटबाट मोचन प्राप्त गर्न सकिन्छ । तित्रा जस्तो प्यार प्यार बोलिरहने सबै खाले मानिसहरूको प्रश्नको जवाफ नदिए आफू पराजित भएको ठान्ने जस्ता दरिद्र मानसिकता बोकेको उच्च वर्ग मानिएका मानिस आफैमा उच्च हुन सक्दैनन् । उच्च मानिस हुनलाई उसले जीवनमा धेरै पटक हारेको, दुःख कष्ट भोगेको हण्डर खाएको हुनुपर्दो रहेछ । व्यक्तिले प्राप्त गरेको दुःख र हण्डरबाट नै उसले करौडौँ मूल्य खर्च गर्दा पनि प्राप्त गर्न नसकिने संयमता, धैर्यता, सहनशीलता जस्तो अनुभव कमाएको हुँदो रहेछ । जसले मानवमूल्य र मान्यताको पूर्ण कदर गर्न सक्दछ । मानिस पानी जस्तो तरल बनिदिएको राम्रो हुने रहेछ । कारण पानी आफू बहने बाटोमा जस्तोसुकै अवरोध भएता पनि त्यसलाई सहज रूपमा तर्किएर अर्को बाटो तय गर्न सक्दो रहेछ । तर मानिस जब चट्टान जस्तो कडा बन्छ, ऊ हरेक यात्रीको बाधक बन्दछ । यात्रीले आफ्नो यात्रालाई अबिरल बनाउन कि त त्यो चट्टानलाई त्यस स्थानबाट विस्थापित गर्न भिरबाट खसाउनु पर्छ, या त त्यसलाई बलियो फलामे हतियारले टुक्राटुक्रा बनाएर उसको ज्यादतिपूर्ण अवरोधलाई अस्तित्ववीहिन अवस्थामा पुर्याउनु पर्दछ । यी दुवै विकल्प चट्टानको लागि किमार्थ राम्रा होईनन् । तसर्थ मानवले मानवपेक्षी व्यवहार देखाएर समाजमा सबैको अाँखाको नानी बनेको राम्रो मानिन्छ ।
सभ्यताका उषाकालमा, ऋषिमुनिहरू जो हरेक शास्त्रको जननी ठानिन्थे, उनीहरू मध्ये को ठिक र को बेठिक भनेर कसी लगाउन उनीहरू बिच नै शास्त्रास्त्र गराईन्थ्यो । तर्क वितर्कको भारी प्रयोग गराइन्थ्यो । शासकहरूको राजप्रसादमा प्रकाण्ड विद्वानहरू राखेर उनीहरूको सल्लाह वमोजिम् राज्यव्यवस्था संचालन हुन्थ्यो । तर हामी संसारकै उत्कृष्ट मानिएको गणतन्त्र, संघीयता र प्रजातन्त्ररूपी समुन्नत मखमली फूलको गलैँचामा पदार्पण गरिसकेका छौँ । आम जनताको हित नै राज्यको सर्वोपरि हित हो भन्ने मान्यताबाट अभिप्रेरित छौँ । तर यो अवस्थामा आईपुग्दा पनि हाम्रा शीर्षस्थ नेताहरूको सल्लाहकारहरूका रूप र सार हेर्दा यस्तो लाग्छ, के यो मुलुकमा अव सरकारको उपल्लो तख्तामा राजगर्ने राज्य प्रमुखहरूलाई बौद्धिक वर्गको खडेरी लागेकै हो ? यो अनुत्तरित प्रश्न हो ।
अनेकन कहावत् र किस्साको स्रोत बनेको भारतका तत्कालीन मुश्लिम बादशाह अकबरले आफ्नो राज्यलाई सुसंगठित र सुव्यवस्थित ढंगले संचालन गर्न चारैतिरको प्रकट अप्रकट विरोधको सामना गर्दै हिन्दू मुलका वीरबललाई आफ्नो मुख्यमन्त्री बनाई उनीबाट कैयन बिकट घडीमा पनि सहज अवतरण गराएको हामीले अध्ययन गरेका छौँ । मलाई प्रश्न गर्न मन लाग्छ ।के आजका राजनेताहरूमा यो हैँसियत छ ? आफूभन्दा भिन्न विचार राख्छ तर ऊ राज्य संचालनका हरेक विषयमा काबिल छ भने उसलाई आप्mनो प्रमुख सल्लाहकार किन नबनाउने ? हरेक परिदृष्यले यो संभव देखाउदैन । “यहाँ त मानिसले कुनै महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु पर्यो भने ऊ संग कडा राजनीतिक रंग हुनुपर्यो । धमिरा लागिसकेको भए पनि पार्टी सदस्यको टिकट हुनु पर्यो । चाकडी र चाप्लुसीमा पारंगत हुनपर्यो । स्वामी भक्ति यति बिघ्न हुनुपर्यो उसको विवेकको कुनै मूल्य र मान्यताको ख्याल गर्नु भएन। “यसरी राज्य संचालनको लागि जुन कुराको आवश्यक्ता पर्ने हो त्यही कुरा नै गौण बनाएर अगाडि बढ्दा राज्य संचालनले सही दिशा अवलम्बन गर्न सक्ला त ? हाम्रा राजनेताहरू यो बारेमा किन सोच्दैनन ? समय र परिस्थिति अनुसार आफू हार्न किन जान्दैनन् ? राज्यको सर्वोपरी हित हुन्छ भने कहिलेकाँही कायर पनि बन्नु पर्दछ भन्ने सोच किन राख्दैनन् ? बहादुरीता प्रस्तुत गर्न मात्र सबै कुरा होईन कायरता प्रस्तुति पनि राज्य कौसल हो भन्ने कुरा किन आत्मसात गर्दैनन् ? राज्य संचालन कार्यविधिमा । युद्धमा कहिलेकॉही आफ्नो बहादुरी नदेखाई कायरताको बाटो अपनाएर पनि सही स्थानमा पुग्न सकिन्छ । विजय प्राप्त गर्न सकिन्छ भन्ने हेक्का किन राख्दैनन् ? अहिलेको परिस्थितिले मागेका उत्तरका प्रश्नहरू यिनै हुन् ।
यसै प्रसंगमा एउटा दृष्टान्त जोड्न उचित ठान्छु । महाभारतको युद्धमा आप्mनो पिता द्रोणाचार्यलाई पाण्डव पक्षले छलकपटपूर्ण ढंगले मारे पश्चात द्रोणाचार्यका पुत्र वीरयोद्धा अस्वस्थामाले यसको बदला लिन चाहे । उनी यति बिघ्न क्रोधित बने कि पाण्डव सेनामाथि तात्कालीन समयको भयानक अस्त्र “नारायण अस्त्र” प्रयोग गर्ने निर्णय गरे । यस्तो अस्त्र केवल भगवान विष्णु, श्री कृष्ण, श्री राम , गुरू द्रोणाचार्य र अस्वस्थामा सँग मात्र थियो । जुन अस्त्रको प्रयोगले अग्नी वर्षा गराई सबै योद्धाहरूलाई भष्म गराउन सक्ने हुँदा युद्ध मैदानका कुनै महायोद्धाहरूले यसको प्रतिकार गर्न सम्भव थिएन । यसबाट बच्ने एउटै मात्र उपाय थियो, अस्वस्थामाले यो अस्त्र प्रयोग गरेको बखत कोही व्यक्ति वा योद्धा निशस्त्र रहेछ भने उसलाई कुनै असर पुर्याउन सक्दैन थियो । यो गोप्य र भयंकर प्रलयकारी घटना घट्दैछ र घटाईँदैछ भन्ने सुँईको पाण्डवपक्षका श्री कृष्णले पाएपछि आफ्नो पक्षका सबै योद्धालाई निशस्त्र हुन निर्देशन दिए र कृष्णको आदेश सबैले पालना गरे । अश्वस्थामाले नारायण अस्त्र प्रयोग गरे तर उनले जुन पक्षको नष्ट गर्न खोजे, त्यो पक्षलाई कुनै क्षति भएन । नारायण अस्त्रको समयावधि सकिए पश्चात सबै सकुशल रहे । यसरी पाण्डवहरूले कायर बनेर पनि विजय प्राप्त गरे ।
त्यसैले भन्नै पर्दा पटकौ व्यवस्था र अवस्था फेरिइसकेको यो भूमिमा व्यवस्था र अवस्था फेर्नको लागि अहोरात्र लागि पर्ने, नेपाल आमाको हजारौ सन्ततीहरूलाई परिवर्तनको बलीवेदीमा होम्याउन सक्ने नेताहरू आज मुलुक निर्माणको लागि र आम मुक्तिकामी नेपाली जनताको बृहत्तर हितको लागि आफूमा भएको रिस, दम्भ, घमण्ड, अहंकार र व्यक्तिवादी चरित्रलाई किन परित्याग गर्न सक्दैनन् ? घरि आप्mनो कर्तुत् आफै उदाँगो बनाउँदै, घरि ढाकछोप गर्दै कतिदिन अस्वस्थ नाटक मन्चन गर्दछन्, हाम्रा छिनछिनमा रंग बदल्ने नेताहरू ? यो दलीय राजनीतिको साँघुरो घेराभित्र रूमल्लिएर मुलुकलाई किन अनिर्णयको बन्दी बनाई रहन्छन् उनीहरू ? परिस्थिति अनुसार आफू कायर भएर पनि किन आम नागरिकलाई बिजयी बनाउन चाहादैनन् हाम्रा नेताहरू ? यो यक्ष प्रश्नको जवाफ जान्न सबै नेपाली आतुर छन् । अस्तु ।

Author

You may also like