विचार/वहस

वीर रस, लिपुलेक र हामी

वीर रसको कुरा
यो हप्ता सन् १८५४ मा प्रकाशित भएको बेलायती कवि अल्फ्रेड लर्ड टेनिशनको कविता ‘द चार्ज अफ द लाईट ब्रिगेड’ पढने मौका मिल्यो । उसबेला बेलायतले रसियाको विरुद्ध बालाक्लाभमा लर्ड कार्डिगनको नेतृत्वमा युद्ध गरेको थियो । र बिजय हासिल गरेको थियो । उसैवेला बेलायतका राष्ट्रकवि भइसकेका टेनिसनले यो कविता लर्ड कार्डिगनलाई स्तुति गरेर लेखेका थिए । र यो कविताले देशभर स्यावासी पाएको थियो । कविता यस्तो थियो

सिपाइहरुले हेक्का नराखेका हौइनन्
कसैले नाकै काटे
तिनको काम जवाफ फर्काउने होइन
तिनको काम वाहानावाजी गर्ने होइन
तिनको काम त
छ सय माइल परसम्म
मृत्युको आहालमा लडने
र साहदत प्राप्त गर्न परे
देश, पुर्खा र राजाको लागि
नतमस्तक हुने हो ।

यो कविता देशको लागि लडेका वीर सैनिकहरुलाई कठोर बन्न दिएको उपदेश दिन लेखिएको थियो । त्यो सैन्य राष्ट्रवादको पराकाष्ठा थियो । हामी आज दुईसय वर्षपछि पनि यही सैन्य राष्ट्रवादमा आइपुगेका हौं त ?
के यस्तो राष्ट्रवाद अहिले कहाँ कहाँ छ ? हामी यस्ता विशाल र शक्तिशाली छिमेकीहरुको बिचमा कति चेप्टिनु ? कि कुटनैतिक तरिकाले मुलुकको हितमा जाने दक्षिण कोरिया, भुटान, न्यूजिल्याण्ड, कतार, दुवई जस्ता मुलुकहरु हिंडेको बाटोमा जाने ? देश दुःखेको कुरा मैले अस्तिको अंकमा पनि गरेको थिएँ । आज जताततै यही माहोल छ ‘गो ब्क्याक इन्डिया’ । यो कविताको घानमा आज लिपुलेक चिच्याइरहेछ । देश मरणासन्न छ । लिपुलेकलाई भारतले आप्mनो भू—भाग भनेर नयाँ नक्सा बनाएपछि नेपालमा जताततै देश प्रेमका जोशिला आवाजहरु निस्किन थाले । कतिले बलभद्रलाई सम्झिए । कतिले भक्ति थापालाई । कतिले अमरसिंह थापालाई । कतिले भिनसेन थापा र पृथ्वीनारायण शाहलाई । कतिले ‘ग्रेटर नेपाल’ को नारा लगाएर हिंडनेहरुलाई । ती जोशले बोलिरहेका छन् । देशप्रेम सबैभन्दा ठूलो भावनात्मक विषय हो । यो देश अहिले वीर रसले सिंचिएको छ ।

भारतले यो नयाँ नक्सा निकालेर नेपालीहरुलाई भारतविरोधी कित्तामा उभिन बाध्य पारिरहेको छ । पटक पटक नाकाबन्दी गरेर होस्, वा राजनीतिमा देखिने गरी हस्तक्षेप गरेर होस् वा देशका बिभिन्न ठाउँहरुमा सिमाना मिचेर होस, नेपालीहरु ऊ प्रति नकारात्मक बन्दै गइरहेका छन् । यो राम्रो होइन एउटा विश्व मानचित्रमा उदाइरहेको विशाल लोकतान्त्रिक मुलुकका लागि । यसमा भारतको पनि नोक्सानी छ । तर ऊ बुझिरहेको छैन ।
अथवा यो पनि हुन्छ, नेपालीहरु जसै गरे पनि भारतको पक्षमा हुँदैनन् भन्ने निश्कर्षले पनि भारतको मनोविज्ञान बिग्रिएको हो ।

लिपुलेकको कुरा
लिपुलेक चीनको कैलाश मानसरोवर, सिगात्से तथा ल्हासा जानका लागि सहज मार्ग भएकाले यो व्यापार, पर्यटन र तीर्थाटनका दृष्टिले निकै महत्वपूर्ण विन्दु हो । यो लिपुलेक भन्ने ठाउँ बाघको मुखको हरिण हुन पुग्यो । मीठो ।
लिपुलेकलाई नेपालले भारत र चीनसंगको आफ्नो त्रिदेशीय विन्दु मान्दै आएको छ । तर यो दाबीलाई भारतले अस्वीकार गरेको छ । तात्कालीन ब्रिटिश इण्डिया कम्पनी सरकार र नेपाल सरकारबीच दुई सय वर्षअघि भएको सुगौली सन्धिको भाषिक अस्पष्टता नै लिपुलेक विवादको चुरो हो ।

उक्त सन्धिमा नेपालको पश्चिमी सिमाना ‘काली नदी’ भनेर तोकिएको छ तर उक्त नदीको मुहानबारे केही उल्लेख गरिएको छैन । लिपुलेक वा लिपुलेकको पश्चिम, हाल भारतमा पर्ने भनिएको लिम्पियाधुरा या कालापानीभन्दा केही तल पर्ने काली मन्दिरमध्ये कुनलाई काली नदीको मुहान मान्ने भन्नेमा भिन्नाभिन्नै धारणा छन् नेपाल र भारतका ।
नदीको सबैभन्दा ठूलो र लामो स्वरुप जहाँबाट निस्कन्छ त्यसलाई नै मुहान मान्नुपर्ने धारणा छ नेपाली इतिहासविद् तथा सीमाविद्हरुको । यसो गर्दा लिम्पियाधुरातिरको भाग पनि नेपालमै पर्ने हुन्छ ।

सन् १८६० भन्दा अघिका सम्पूर्ण नक्साहरुमा लिम्पियाधुराबाट निस्किएको नदीलाई काली भनेर लेखिएको छ । त्यसपछिका नक्साहरुमा चाहि त्यो काली नदीलाई कुटी याङ्ग्दी भन्नेमा बद्लेर लिपुलेक भञ्ज्यांगबाट निस्किएको नदीलाई चाहि काली भनेर लेखेको पाइएको छ । अर्को भारतीय नक्साहरुमा चाहि यी दुवैलाई हटाएर टिंकर भञ्ज्याङ्ग नजिकै पंखागाड खोला नजिकको कालीको मन्दिरबाट निस्किएको नदीलाई काली भनिएको छ । यसले गर्दा काली नदीको मुहान विवादास्पद बन्न गयो ।
तर नेपाल सरकार स्वयम्ले लिम्पियाधुरापट्टिको झण्डै दुई सय वर्र्ग िकलोमिटरको भूभागमाथिको दावी औपचारिक रुपमै परित्याग गरिसकेको कतिपय ऐतिहासिक दस्तावेजहरुले देखाउँछन्। लिम्पियाधुरा क्षेत्र त्यागेर नेपालले लिपुलेकसम्म समेट्ने गरी बनाएको नक्सा पनि भारतले अस्वीकार गरिदिए पछि अहिले यो विषय सडकमा पोखिन पुग्यो ।
भारतले आफ्नै नाकाको रुपमा लिपुलेकबाट भारतीय तीर्थयात्रीहरुलाई चीनको मानसरोवरको यात्रा गराउनेदेखि लिएर कालापानीमा इण्डो टिबेटन बोर्डर पुलिस फोर्सका सुरक्षाकर्मीहरु तैनाथ गर्नेसम्मका काम गरिरहेको छ ।
कालापानीलाई विवादित क्षेत्रका रुपमा स्वीकार्दै आएको उत्तरी छिमेकी चीनले पनि लिपुलेकबाट द्विपक्षीय सीमा व्यापार विस्तार गर्न भारतलाई साथ दिएपछि मात्रै नेपाली पक्ष झस्किएको हो । विवादका कारण नेपाल र भारतले अहिलेसम्म सो क्षेत्रको दुवै पक्षलाई मान्य हुने नक्सा तयार पार्न सकेका छैनन् । तर यसको टुंगो लाग्नुपूर्व नै दिल्ली र बेइजिङले लिपुलेकलाई द्विपक्षीय रुपमा व्यवहार गरेपछि विवाद उत्पन्न भएको हो ।

नेपालले दावी गर्दै आएको रणनीतिक रुपले त्यति महत्वपूर्ण क्षेत्रबारे नेपाललाई समावेश नै नगरी दुई ठूला छिमेकीहरुले आपसी सहमति गरेर चीनले पनि नेपालको सार्वभौमिकतालाई निस्वार्थ स्वीकारेको देखिँदैन । उसले पनि नेपालको नभएर आप्mनै हुँदो गर्न खोज्छ भन्ने प्रमाणित भएको छ । यही हो कारण, नेपालका लागि सो विवाद सुल्झाउन भने त्यति सहज हुनेछैन । किनभने चीनको स्वार्थ भारतसंग मिलेको छ र भारतले पनि सुगौली संन्धीको भाषामा गरिएको लापरवाहीको फाइदा लिइरहेको छ । नेपालले यो मुद्दालाई शसक्त रुपमा अन्तर्राष्ट्रिय समुदायमा उठाउन सक्ने सामथ्र्य राख्ने काम हिजोका दिनमा गरिएको छैन । हेरौं यसपटक । यो समय हतियारको होइन, कुटनीतिको हो । यसैमा हामी असफल भइरहका छौं । खरो आवाजको वीर रस मीठो त छ तर लिपुलेकको यथार्थ त्यति मीठो छैन ।

You may also like