:— प्रदिप परियार —: बिर्तामोड । झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहालले आफ्नो पेशागत अनुभव र प्रेरणादायी भोगाईहरु आज नयाँ पुस्ताका पत्रकारहरु माझ सुनाएका थिए ।

प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रममा उनले पत्रकारिता यात्राको सुरुदेखिका जीवन भोगाईहरु सुनाएका हुन् ।
चौतारीको झापा शाखाले गत वैशाखदेखि ‘अग्रजलाई सुनौं’ कार्यक्रमको श्रृंखला चलाउँदै आएको छ । अग्रज दाहाल दोस्रो श्रृंखलामा मुख्य वक्ताको रुपमा आमन्त्रित भएका हुन् । यसअघि अर्का अग्रज पत्रकार शिरोमणि खतिवडा (शिरो सान्दाइ) पहिलो श्रृंखलामा मुख्य वक्ताको रुपमा उभिएका थिए ।
पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अग्रज पत्रकार दाहाल हाल दमकबाट प्रकाशित पूर्वसन्देश दैनिकको सम्पादन तथा प्रकाशन गरिरहेका छन् ।
लेटर प्रेस हुँदै पत्रकारितामा प्रवेश गरेका दाहालले पत्रकारितामा भविष्य रहेको बताए । पत्रकारिताबाटै जीवनमा सामाजिक र आर्थिक उन्नति गरेको बताउँदै उनले नयाँ पुस्तालाई नयाँ ढंगबाट निष्ठापूर्वक निरन्तर काम गर्न सुझाव दिए । नयाँ पत्रकारहरुले पुरानै शैली अपनाइयो भने यो क्षेत्रमा प्रगति गर्न नसकिने उनको तर्क थियो ।

पत्रकारितामा प्रवेश गरेको केहि समयपछि मात्रै पेशाको बारेमा जानकारी पाएको बताए । ‘काम गर्दै गएपछि मात्रै पत्रकारिताको बारेमा थाहा भयो,’ उनले थपे ।
अग्रजलाई सुन्न सहभागी नयाँ र अघिल्लो पुस्तासँग दाहालले पत्रकारितामा आफू नआएको भए बैंकिङ वा शिक्षण क्षेत्रमा जाने सम्भावना रहेको सुनाए । ‘म पत्रकार बनेको थिइँन भने एउटा राम्रो शिक्षक वा बैंकर्स बन्ने थिए,’ उनले भने –‘सुरु सुरुमा सम्मान पाएकै कारण पत्रकारितामा प्रेरित भएर लागियो । पछि त जीवन निर्वाह सहज हुनेगरी आर्जन पनि गरियो ।’
दाहालले अहिलेका पत्रकारहरुको लेखाईमा धेरै प्रभाव नरहेको गुनासो गरे । उनले भने– ‘पहिले सानो समाचार बनाउँदा पनि ठुलै प्रभाव पर्ने थियो, अहिले पहिले जस्तो छैन ।’
कुनै पनि पेशामा निरन्तरता दिए मात्रै सफलता प्राप्त गर्न सकिने पत्रकार दाहालको धारणा छ । उनले भने– ‘निरन्तरताको मिहेनतले नै पूर्वसन्देश र मेरो पत्रकारिता सफल भएको हो । आज पनि मेरो पहिलो प्राथमिकता पत्रिकाकै काममा हुन्छ ।’


छापा पत्रकारिताको युग सकियो कि भन्ने टिप्पणीप्रति दाहालले असहमति जनाउँदै अझै पनि भविष्य रहेको बताए । विज्ञापन र ग्राहक शुल्कबाट व्यवसायलाई अघि टिकाईरहेको बताए ।
०६२÷६३ को आन्दोलनहरुलाई स्मरण गर्दै शाही सेना र माओवादी विद्रोहीको दोहोरो दवदवा रहेका अवस्थामा समाचारमा सन्तुलन ल्याउनु चुनौतिपूर्ण रहेको विषयमा रोचक प्रसंगहरु सुनाए ।
दुई पटक प्रहरीले पत्रिका र छापाखानामा छापा मारे पनि पत्रिका र छापाखानाको काम बन्द नगरेको उनले सुनाए । पत्रिकामा आम नागरिकलाई धेरै विश्वास हुने भन्दै उनले पत्रकारहरुलाई खोज समाचारमा लाग्न आग्रह समेत गरे।
झापामा अग्रज पत्रकारहरुको जीवन अनुभव, पत्रकारिता क्षेत्रमा गरेका संघर्षहरु सुन्नका लागि प्रेस चौतारी नेपाल झापाले सुरु गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रम प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् ।


कार्यक्रमको अध्यक्षता गरेका प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारले अग्रज पुस्ताका अनुभव र भोगाइहरु नयाँ पुस्ताका लागि प्रेरणादायी हुने भएकाले हरेक तीन–तीन महिनामा कार्यक्रमलाई नियमित गरिने बताए । कार्यक्रममा अग्रज पत्रकार दाहाललाई सहभागीहरुले विभिन्न जिज्ञासा समेत राखेका थिए । दाहालले जिज्ञासाहरुको उत्तर दिएका थिए ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज माधव विद्रोही, केन्द्रीय सदस्यहरु सावित्रा दाहाल, शम्भु दाहाल, फाँट इञ्चार्ज मनकुमार गदाल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

Author

You may also like