वर्खायामसँगै झापा जिल्लामा देखिएको रगतको अभाव केवल एक स्वास्थ्य समस्या मात्र होइन, यो मानवीय संवेदनशीलताको गम्भीर परीक्षा हो । रेडक्रस सोसाइटी झापाले दिएको जानकारी अनुसार असार र साउन महिनामा नियमित रक्तदान कार्यक्रम घट्दा रगत आपूर्तिमा जटिल समस्या देखा परेको छ । झापामा दैनिक ४०–४५ पोका रगतको आवश्यकता पर्छ, तर हालको अवस्थाले यो आवश्यकता पूरा गर्न मुस्किल भएको छ । बिर्तामोड, भद्रपुर र दमकमा रहेका वितरण केन्द्रहरूले सेवा दिइरहेका भए पनि खेतीपातीको चटारो र वर्खायामका कारण स्वेच्छिक रक्तदाताहरू जुटाउन गाह्रो भइरहेको छ । यस्तो अवस्थामा विरामीको परिवारलाई रक्तदाता खोजीमा सक्रियतापूर्वक समन्वय गरिनु सकारात्मक प्रयास हो, तर यो दीर्घकालीन समाधान होइन ।
त्यसैले जीवन–मरणका चरणमा अपरिहार्य मानिन्छ रगत । संसारभरि यसको व्यापार हुन्न । भनिन्छ, ‘रक्तदान जीवनदान ।’ मृत्युको मुखबाट धेरैलाई फर्काउने मनकारी रक्तदाता विश्वभरि धेरै छन् । तैपनि महामारी, ठूला विपत्ति र एकैचोटि धेरै बिरामी हुने परिस्थितिमा यसको जगेडा असन्तुलित हुन पुग्छ । धेरै वस्तु अभाव भएझैं ब्लड बैंकमा रगत पनि नपाइएको वा अपुग भएको खबर सुनिनु चिन्ताको विषय पक्कै हो । रगतको अभाव हुँदा दुर्घटनाका घाइते, रक्तस्राव भएका व्यक्ति, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौलाका बिरामीलाई गाह्रो पर्छ । थालसेमिया, हेमोफिलियामा समस्या पर्छ, आकस्मिक शल्यक्रिया प्रभावित हुन्छ । यी स्वास्थ्य समस्या भएका व्यक्तिले समयमै रगत नपाए ज्यानै जोखिममा पर्ने खतरा हुन्छ । कोभिडकै बिरामी गम्भीर अवस्थामा पुगे रगत चाहिन्छ । रगत अभावको पूर्ति गर्ने आधुनिक चिकित्सा प्रणालीमा अर्को विकल्प अहिलेसम्म पत्ता लागेको छैन । रगत चाहिएमा रक्त समूह मिल्ने अर्को व्यक्तिको शरीरबाट निकालेर दिनुपर्छ । रगत दान नगर्दैमा शरीरमा धेरै रगत हुँदैन, न त दान गरेर यो सकिन्छ । एक पटकमा ३५० मिलिलिटर रगत दान गर्न पाइन्छ । त्यो रगत ३–४ सातासम्म सुरक्षित राख्न सकिन्छ । आवश्यक परेको व्यक्तिले लैजान्छन् । रक्तदाताको शरीरलाई कुनै हानीनोक्सानी हुँदैन । शरीरमा पुरानो रगत क्षय हुने र नयाँ बन्ने प्रक्रिया निरन्तर चलिरहन्छ ।
सबैले बुझ्नुपर्ने कुरा यही हो, त्यत्तिकै नष्ट हुने रगत नै दान गर्ने हो । रगतदानबाट कसैको ज्यान जोगिन्छ वा उसले नयाँ जीवन पाउँछ भने किन नदिने? अहिले पनि समाजमा रगत दिँदा कमजोर भइन्छ भन्ने भ्रम छ । युवा, त्यसमा पनि शिक्षित वर्ग त्यस्तो भ्रम पालेर बसेका छन् । जीवनभर रगत नदिने जमात ठूलो छ । देशका केही जिल्लामा युवा, विद्यार्थी, सहकारी, मिडियालगायतले हरेक तीन तीन महिनामा रक्तदानको शृंखला नै सुरु गरिरहेका छन् । यो अभ्यास देशैभरि गर्न सकिन्छ । यस्तो अभियान सञ्चालन गर्न न कुनै बजेटको आवश्यकता पर्छ, न धेरै जनशक्तिको नै । हामीले बुझ्नुपर्छ, रगतको आवश्यकता कुनै मौसम हेरेर घट्दैनस बिरामी, अपरेशन, दुर्घटना, सुत्केरी लगायत अनेक अवस्थाहरूमा रगत अपरिहार्य हुन्छ । यस्तो अवस्थामा प्रत्येक नागरिकको उत्तरदायित्व हो—समयमै रक्तदान गरेर अरुको जीवन बचाउन सहयोग पु¥याउनु । सरकार, स्थानीय निकाय, सामाजिक संस्था तथा सञ्चारमाध्यमहरू मिलेर जनचेतनामूलक अभियान चलाउनु आवश्यक छ । वर्षातको मौसम भए पनि सुरक्षित स्थानमा रक्तदान शिविर आयोजना गर्न सकिन्छ, मोबाइल रक्त संकलन युनिटहरू परिचालन गर्न सकिन्छ । रगत कुनै कारखानामा उत्पादन हुने वस्तु होइन, यो जीवनदातृ दान हो, जुन मानिसबाट मानिसलाई मात्र दिन सकिन्छ । त्यसैले हामी सबै मिलेर मानवताका नाममा नियमित रक्तदानलाई जीवनशैलीकै हिस्सा बनाउनु पर्दछ । वर्खायाम मात्रै होइन, वर्षभर नै रगतको आपूर्ति सन्तुलित रहनुपर्छ । रगत दान गरौं, जीवन बचाऔं ।