देश–समाज राष्ट्रिय समाचार स्थानीय

देशभर झण्डै २९ हजार कैदीबन्दी, क्षमता भन्दा अत्याधिक राखिँदा ठाउँ ठाउँमा झडप

दमक । कैलाली कारागारमा कैदीबन्दीबीचको सामूहिक झडप सेलाउन नपाउँदै यता विराटनगरको बालसुधार गृहमा पनि सामूहिक झडप भएको छ । सो झडपमा परी नियन्त्रणका क्रममा सुधार गृहको सुरक्षामा खटिएका प्रहरी शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरणकुमार मण्डल घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दिउँसो करिब १ बजेबाट सुधार गृहमा झडप भएको थियो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायण चिमोरियाका अनुसार कानुनी विवादमा थुनामा रहेका बाल विज्याइकर्ताबीच झडप भएको हो ।
दिउँसो दुवै पक्षबीच झडप भएपछि केहीबेर तनावको अवस्था रहे पनि अहिले गृहको स्थिति शान्त रहेको प्रहरी उपरीक्षक चिमोरियाले जानकारी दिए ।
झडप सुरु भएको खबरसँगै गृहमा वडा प्रहरी कार्यालय विराटनगर र अन्य युनिटबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । झडपका क्रममा सुधार गृहको मेश भवन, सुरक्षा ब्यारेक, कार्यालय कोठा, झ्याल सिसा र कुर्सीहरू तोडफोड गरिएको छ ।
यद्यपि, केही समय सुरक्षाकर्मीसमेत गृहभित्र प्रवेश गर्न पाएका थिएनन् । झडप सामान्य बनाउने क्रममा सुरक्षाकर्मीले सुधार गृहलाई घेरा हालेर नियन्त्रणमा लिएका थिए । ५० जनाको क्षमता रहेको गृहमा २ सय ४९ जना बाल बिज्याइकर्ता रहेका छन् । झडपसँगै करिब १ सय ३० जना बाल विज्याइकर्ताले सुधार गृहको मूलढोका फोडेर भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनापछि प्रहरीको नियन्त्रणसँगै गृहबाट कोही भाग्न नपाएको बताए। विभिन्न अपराधमा संलग्न १८ वर्षमुनिका बाल वित्याइकर्तालाई अदालतको आदेशअनुसार सुधार गृहमा राखिने भए पनि वैकल्पिक व्यवस्था अभावमा १८ वर्ष पार गरेका थुनुवासमेत गृहमा राखिएको छ । जसकारण समय–समयमा विवाद र झडप हुने गरेको छ ।
कारगार र सुधारगृहका अनेक घटनामा जोडिएर समाचार बाहिरिए पछि गृहमन्त्री रमेश लेखकले कारागारहरुको अवस्थाका विषयमा जानकारी गराएका छन् । गृहमन्त्री लेखकले बुधबारको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै कारागार व्यवस्थापनका निमित्त केही नीतिगत र कानुनी व्यवस्था रहेको बताए ।
उनले नेपालमा ७२ वटा जिल्लामा ७५ कारागारहरु रहेका छन् । जसमध्ये भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । गृहमन्त्रीका अनुसार अनुसार काठमाडौं, दाङ र बाँकेमा एउटै जिल्लामा दुई वटा कारागार छन् ।
कैदीबन्दीको तथ्याङ्क
देशभर अहिले २८ हजार ७ सय १८ जना बन्दी कैदीहरु रहेका छन् । यो तथ्यांक २०८२ को असार मसान्तसम्मको हो । गृहमन्त्री लेखकका अनुसार थुनुवा पुरुषतर्फ ९ हजार ८ सय ३९, महिला थुनुवा ५ सय ९६ गरी कुल १० हजार ४ सय ३५ जना रहेका छन् । कैदीहरुमा पुरुषतर्फ १७ हजार ३ सय २९ जना र महिलातर्फ ९ सय ५४ जना गरी कुल १८ हजार २ सय ८३ जना रहेका छन् । थुनुवा र कैदी गरेर पुरुषतर्फ जम्मा २७ हजार १ सय ६८ र महिलातर्फ १ हजार ५ सय ५० गरी २८ हजार ७ सय १८ जना रहेका छन् ।
६०१ जना ज्येष्ठ नागरिक कैदीबन्दी
गृहमन्त्री लेखकले ६५ वर्ष माथिका ६०१ जना कैदीबन्दी रहेको बताउनु भयो । उहाँकाअनुसार आश्रित बालबालिकाको संख्या ६४ जना रहेका छन् । कुनै मानिस थुनुवा वा कैदीका रुपमा आमा रहेको छ भने आमासँगै बस्नुपर्ने बालबालिकालाई पनि आमाको सामिप्यताको लागि राख्ने गरिन्छ ।
नेपालमा विदेशी
बन्दीको संख्या १ हजार ४ सय २७
नेपालमा कुल विदेशी बन्दीहरुको संख्या १ हजार ४ सय २७ रहेको गृहमन्त्री लेखकले बताए । यो संख्या नेपालमा रहेका २८ हजार ७ सय १८ जना बन्दी कैदीहरुमध्ये हो ।
मुद्दागत कैदीबन्दीहरुको अवस्था
नेपालमा मुद्दाको हिसावले हेर्दा जबरजस्तीकरणतर्फ २५.५४ प्रतिशत, लागुऔषधतर्फ २४.३७ प्रतिशत, कर्तव्य ज्यान मुद्दाको १६.१२ प्रतिशत, सवारी ज्यान तथा सवारी अंगभंगको ४.१६ प्रतिशत, चोरीको ३.८२ प्रतिशत मुद्दाका कैदीबन्दीहरु रहेका छन् ।
कारागारको भौतिक अवस्था
कारागारको कुल क्षमता पुरुषतर्फ देशभरमा ७५ वटा कारागारको कुल क्षमता १६ हजार ६ सय २५ रहेको गृहमन्त्री लेखकले बताउनु भयो । जम्मा क्षमता १६ हजार ६ सय २५ रहेकोमा पुरुष बन्दीतर्फ २७ हजार १ सय ६८ जना रहेका छन् । देशभरमा रहेका कारागारको कुल क्षमता भन्दा बन्दीको संख्या ६७ प्रतिशत बढी रहेको उहाँले बताउनु भयो । महिलातर्फ देशभर सञ्चालनमा रहेका ५० वटा कारागारको क्षमता २ हजार ५ सय १ रहेको छ भने महिला बन्दीको संख्या १ हजार ५ सय ५० जना रहेको छ । धनगढी कारागारमा पनि क्षमता करिव २ सय भएकोमा ७ सय जना बन्दीहरु रहेको गृहमन्त्री लेखकले बताए ।
क्षमता भन्दा सात गुणा बढी कैदीबन्दी
रुकुमपश्चिमको कारागारमा क्षमता भन्दा सात गुणा बढी कैदीबन्दीहरु राखिएको छ । सल्यान ताप्लेजुङ, ओखलढुङ्गा र उदयपुरमा ६ गुणा बढी छन् भने सुर्खेत, बैतडी, कैलाली र गुल्मीमा पाँच गुणा बढी कैदीबन्दी रहेका छन् । धनकुटा, घोराही, दाङ, रोल्पा, गोरखा, काभ्रेपलाञ्चोक, सिरहा, सिन्धुलीमा चार गुणा बढी कैदीबन्दी रहेको उनले बताए । सल्यानमा चार गुणा बढी कैदीबन्दी राखिएको उहाँले बताए । गृहमन्त्री लेखकले सबै कारागारमा कारागार स्वास्थ्य चौकी रहेको उहाँले बताए । स्वास्थ्यको दरबन्दी पनि रहेको छ। सबै कारागारमा बिरामीको चाप उच्च रहेको छ । मानसिक रोगीको संख्या पनि बढ्दै गएको छ । कैदीबन्दीको स्वास्थ्योपचारका लागि विनियोजित बजेट न्युन रहेको उहाँले बताउनु भयो । बन्दीहरुको स्वास्थ्य बीमा पनि गर्न शुरु गरिएको उनले बताए ।
१ हजार ३ सय ७४ बालबालिका कैदीबन्दी
नेपालमा भक्तपुर, मकवानपुर, विराटनगर, वीरगञ्ज, रुपन्देही, कास्की, बाँके र डोटीमा गरी ८ जिल्लामा ९ वटा बाल सुधार गृह रहेका छन् । २०८२ को असार मसान्तसम्म बालविजयीकर्ताको संख्या थुनुवामा बालक ५ सय ७३ छन् भने बालिका २१ जना रहेका छन् । ५ सय ९४ थुनुवा रहेका छन् । कैदी बालक ७ सय ६३ र बालिका १७ जना गरी जम्मा ७ सय ८० रहेका छन् । कुल बालक र बालिकाको संख्या बालक १ हजार ३ सय ३६ र बालिका ३८ गरी १ हजार ३ सय ७४ बालबालिका कैदीबन्दीका रुपमा रहेको गृहमन्त्री लेखकले बताउनु भयो । लेखकका अनुसार ७ हजार बन्दीहरुलाई उत्पादनमुलक काममा लगाइएको छ ।

Author

You may also like