पूर्वसन्देश समाचार
दमक/ गत असार ३१ गते पारित आर्थिक वर्षको बजेट पुस्तिका गौरादह नगरपालिकाले केही दिनअघि मात्र सार्वजनिक ग¥यो । कुल ८५ करोड ५२ लाख रुपैयाँको बजेटमा भरसक सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । जसमध्ये केही नगरका महत्त्वपूर्ण भनिएका कार्यक्रममा अन्यभन्दा ठुलो अङ्क रकम समेत विनियोजन गरिएको छ । यद्यपि यी कार्यक्रमको कार्यान्वयन गर्ने योजना भने बनेकै छैन ।
गौरादहका पोखरीहरूको प्रवर्धन र विकास, बसपार्क निर्माण, खेलमैदान निर्माण तथा डम्पिङ साइट निर्माण नगरले प्राथमिकतासहित बजेट विनियोजन गरेका कार्यक्रम हुन् । यी प्रत्येक कार्यक्रमका लागि १÷१ करोड रुपैयाँ विनियोजन गरिएको छ । तर यी चारमध्ये पोखरीको विकास र प्रवर्धनको कार्यक्रम गत वर्षदेखि नै कार्यान्वयनमा रहेको छ भने बाँकी तीन ओटा कार्यक्रमका लागि योजना बनिसकेको छैन ।
नगरपालिकाका प्रमुख रोहितकुमार साहले नगरका लागि यी कार्यक्रम महत्त्वपूर्ण ठानिएकाले रकम विनियोजन गरिएको र तत्काल काम सुरु गर्ने बताएका छन् । नगरमा बढिरहेको सहरीकरणलाई व्यवस्थित पार्न बसपार्क, डम्पिङसाइट बनाउने भनी बजेट विनियोजन गरिएको उनले जनाएका छन् । यस्तै नगरमा कम्तीमा एउटा स्तरीय खेल मैदानको आवश्यकता महसुस गरी बजेटको व्यवस्था गरिएको उनले जनाए । बसपार्क निर्माणका लागि नगरबासीबाट जग्गा आह्वान गरिएको र नगरले पनि खोजी गरे पनि व्यवस्था हुन नसकेको बताए ।
त्यसैले यस वर्ष नगरले नै उपयुक्त स्थानको छनौट गरी बसपार्क निर्माण प्रक्रिया अघि बढाउने उनले जनाए । यस्तै नगरमा खेलकुद क्षेत्रको विकासका लागि पनि उपयुक्त स्थानमा जमिनको छनौट तथा व्यवस्था गरी काम अघि बढाउन प्राथमिकताका साथ बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
धेरै जसो योजना वडास्तरबाटै छनोट भएका र नगरले दूरगामी महत्त्व राख्ने केही कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको नगर प्रमुखको भनाइ छ । नगरले वडा स्तरमै कार्यक्रमहरू सञ्चालन गर्न छुट्टै बजेट सिलिङको व्यवस्था गरेको छ । नगरपालिकाको बजेटमा वडागत रुपमा सम्भाव्यता र अवस्थाका आधारमा बजेट सिलिङ तोकिएको हो । जस अनुसार वडा नं. १, ५, ६ र ९ लाई १ करोड २० लाख रुपैयाँका दरले जम्मा ४ करोड ८० लाख, वडा नं. ४, ७ र ८ का लागि १ करोड १० लाखका दरले ३ करोड ३० लाख, वडा नं. २ र ३ का लागि १ करोडका दरले २ करोड गरी १० करोड १० लाख रुपयाँ विनियोजन गरिएको छ । उनका अनुसार विगतमा वडा कार्यालयलाई लक्षित कार्यक्रमको लागि दिइएको अनुदान १० लाख रुपैयाँलाई बढाएर १२ लाख पु¥याइएको छ ।
वडा कार्यालयमा फोहोरको थुप्रो
नगरपालिकाले चालू आर्थिक वर्षमा डम्पिङ साइट निर्माणका लागि बजेट छुट्याए पनि कहाँ बनाउने भन्ने टुङ्गो लागेको छैन । यसले बजेट कार्यान्वयनमा ढिलाइ भइरहेको छ । नगरको बजार क्षेत्रबाट सङ्कलन हुने फोहर हाल वडा नं. १ को वडा कार्यालय अगाडि नै फाल्ने गरिएको छ । गौरादहका पहिचानका रुपमा रहेका पोखरीको डिलैमा हाल ठेलामा सङ्कलन गरी फोहर फाल्ने गरिएको हो । नगरपालिकाका प्रवक्ता समेत वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले चाँडै नै फोहर फाल्ने स्थानको टुङ्गो गरिने बताएका छन् । यसका लागि जुरोपानीमा नगरपालिकाकै स्वामित्वमा रहेको जमिन उपयोग गर्नेबारे छलफल भइरहेको उनले जनाए । सो स्थानमा नगरपालिकाको साढे ३ बिगाहा जमिन रहेको र सोही स्थानमा डम्पिङ साइट बनाउने बारेमा कुरा भइरहेको नगरपालिकाले जनाएको छ ।
योजना नहुँदा बजेट फ्रिज
नगरपालिकाले गत वर्ष पनि डम्पिङ साइटका लागि बजेट व्यवस्था गरेको थियो । तर त्यसको कार्यान्वयनका लागि योजना नहुँदा बजेट कार्यान्वयन हुन सकेन । नगरपालिकाले २ वर्षदेखि डम्पिङ साइटका लागि जग्गा खोजी गरेको भए पनि जमिनको व्यवस्था हुन नसकेको नगर प्रमुखले बताए । जसका कारण विनियोजित रकम फ्रिज भएको छ । यस वर्ष पनि जमिनको व्यवस्था र कार्ययोजना तय हुनसकेको छैन ।
नगरप्रमुख साहले भन्छन्, ‘गौरादहका लागि एउटा डम्पिङ साईट जरुरी भइसक्यो, त्यसैले यस वर्ष हामी बजेट फ्रिज हुन नदिने गरी तयारीमा लागेका छौं ।’ नगरले प्रमुख महत्त्व दिएका चार योजनामध्ये १२ बिगाहाको पोखरीमा घेराबारा गरिएको र नयाँ डीपीआर समेत बन्ने प्रक्रियामा रहेको उनको भनाइ छ । यस वर्षसमेत प्रदेश सरकारसँगको सहकार्यमा पोखरी व्यवस्थापन, पूर्वाधार निर्माण तथा प्रवद्र्धनको काम गरिने जनाइएको छ । अन्य तीन ओटा योजना बसपार्क, खेलमैदान र डम्पिङ साइट निर्माणको योजना भने अन्यौलमै छ ।
