भोजपुर/ परम्परागत खेतीपाती छाडेर नगदेबालीका रूपमा कफीखेतीबाट राम्रो आम्दानी हुने देखेपछि भोजपुरका किसान केही वर्षयता यसको व्यावसायिक खेतीमा लागेका छन् । आफूले उत्पादन गरेको प्राङ्गारिक (अग्र्यानिक) कफीको माग अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्न थालेपछि भोजपुरको षडानन्द नगरपालिकाका कृषक जीवन थापा निकै उत्साहित देखिन्छन् ।
थापाले ६५ रोपनी क्षेत्रफलमा कफीखेती विस्तार गरेका छन् । उनले उत्पादन गरेको कफीको बजारका लागि कुनै समस्या छैन र यो स्वदेशी बजारमा मात्र नभई विदेशमा समेत निर्यात हुन थालेको छ । उनी अहिलेसम्म करिब एक हजार केजी कफी विदेश निर्यात गरिसकेको बताउँछन् ।
हाल उनी आफ्नै प्रशोधन उद्योगमार्फत कफीको मूल्यवद्र्धन गरिरहेका छन्। ‘कच्चा दाना मात्र बेच्नुभन्दा प्रशोधन गरेर बेच्दा मूल्य दोब्बर हुन्छ,’ उनी भन्छन् । थापाजस्तै अन्य किसान पनि कफीखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय कृषक प्रितमकुमार राई कफीखेतीलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा लिनुपर्ने बताउँछन् । ‘एकपटक रोपेको कफीले वर्षौँसम्म उत्पादन दिन्छ, त्यसैले यो टिकाउ खेती हो,’ उनी भन्छन् ।
अर्की स्थानीय सङ्गीता राईले नगरपालिकाबाट बिरुवा, मल र उपकरण पाएपछि काम गर्न निकै सजिलो भएको र यसमा महिलाहरूको सक्रिय सहभागिताले महिला सशक्तीकरणमा समेत योगदान पु¥याएको बताइन् । वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय कृषक मुक्ति राई पनि विदेश जानुभन्दा गाउँमै मिहिनेत गर्दा कफीबाट राम्रो आम्दानी लिन सकिने अनुभव सुनाउँछन् ।
गरिबी न्यूनीकरण र कृषिको व्यवसायीकरणलाई लक्ष्य बनाउँदै षडानन्द नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा करिब ३ करोड रुपैयाँको लगानीमा प्राङ्गारिक कफीखेती विस्तार तथा व्यवसायीकरण परियोजना सुरु गरेको छ । कफीलाई आयआर्जन र रोजगारीको मुख्य आधार बनाउने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनको ‘ब्रान्डिङ’ गर्ने लक्ष्यसहित कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो ।
कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले १ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने किसानको लागत साझेदारीसमेत समावेश गर्दा परियोजनाको कुल आकार २ करोड ८९ लाख रुपैयाँ पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद दाहालले जानकारी दिए । सार्वजनिक–निजी साझेदारीको यो अभ्यासले उत्पादन र बजारबिचको दूरी घटाउने तथा आगामी पाँच वर्षभित्र षडानन्दलाई ‘कफी हब’ का रूपमा विकास गर्ने नगरपालिकाको योजना छ । पहाडी भूभाग, मध्यम तापक्रम र उपयुक्त वर्षाले कफीका लागि अनुकूल वातावरण प्रदान गरेको छ ।
परियोजनाअन्तर्गत पहिलो चरणमा १५७ जना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने कृषि शाखा प्रमुख शिला पुन मगरले जानकारी दिइन्। उनीहरूका लागि ७५ हजार वटा कफी बिरुवा, खेत जोत्नका लागि ५ एचपी क्षमताका ११३ वटा र ७ एचपी क्षमताका ५० वटा मिनीटिलर उपलब्ध गराइनेछ। साथै २० वटा ब्रस कटर, २५७ वटा स्प्रेयर र १६ वटा सिकेचर वितरण गरिनेछ। खेतीलाई पूर्ण रूपमा प्राङ्गारिक बनाउन २२ हजार ६२० केजी गोठेमल, २१ हजार ३६० केजी हड्डी मल, ८६ लिटर खनिज तेल, १०० लिटर बोर्डो पेस्ट र ३३ लिटर इएम (इफेक्टिभ माइक्रोअर्गानिज्म) समेत उपलब्ध गराइनेछ ।
कृषि क्षेत्रको व्यवसायीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणका लागि यो कार्यक्रम सञ्चालन गरिएको षडानन्दका नगरप्रमुख सुरेन्द्रकुमार उदास बताउँछन् ।
नगर उपप्रमुख प्रमिला राईका अनुसार यो कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै टिकाउने आधार तयार गर्नेछ । नगरपालिकाले सामग्री वितरणमा मात्र सीमित नरही बिरुवा रोप्ने विधि, रोग नियन्त्रण र पोस्ट–हार्भेस्ट व्यवस्थापनलगायतका विषयमा क्षमता अभिवृद्धि तालिम समेत सञ्चालन गर्नेछ । कफीखेतीका लागि समुद्री सतहबाट ८०० मिटरदेखि १ हजार ८०० मिटरसम्मको क्षेत्र उपयुक्त मानिन्छ र षडानन्दका १४ वडामध्ये १३ वटा वडामा यो खेती विस्तार भइरहेको छ । कफीलाई पर्यटनसँग जोडेर ‘एग्रो–टुरिज्म’ को रूपमा विकास गर्ने सम्भावना समेत रहेको छ ।