दमक/ पहिलो पाइला नेपाल दमक शाखाले ‘भाग्य बोक्ने झोला’ अभियान अन्तर्गत पाँचथरका विद्यार्थीलाई झोला, कापी, कलम तथा खाजा वितरण गरेको छ । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकास्थित विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई सामग्री वितरण गरेको हो ।
मिक्लाजुङ–क्षेत्रमा रहेको चन्द्रेस्वर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सो विद्यालयका ७४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । त्यसैगरी कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयका २५ जना, तीनकुनेस्थित वीरेन्द्र आधारभूत विद्यालयका ८ जना, चुबेकस्थित विद्यालयका १५ जना तथा जोगीडाँडास्थित पञ्चेश्वरी आधारभूत विद्यालयका १७ जना विद्यार्थीलाई समेत शैक्षिक सामग्री तथा खाजा वितरण गरिएको पहिलो पाइला नेपाल दमक शाखाकी सचिव पूजा दाहालले जानकारी दिइन् ।
यो सेवाबाट पाँच विद्यालयका गरी जम्मा १३९ जना विद्यार्थी लाभान्वित भएका छन् । चन्द्रश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महाप्रसाद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि मोहन राई प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, केन्द्रीय सचिव दिवस खतिवडा, सामाजिक अभियन्ता महेश घिमिरे, नेपाल शिक्षक महासंघ मिक्लाजुङका अध्यक्ष शिरीप्रसाद राई, प्रधानाध्यापक रसलाल यादव, सूर्यकिरण विद्यालयका शिक्षक ताराबीर राई, पञ्चेश्वरी आधारभूत विद्यालयका शिक्षक राकेश पण्डित, पहिलो पाइला नेपाल दमक शाखाका उपाध्यक्ष लबराज खड्का, सचिव पूजा दाहाल, कोषाध्यक्ष विनोद अधिकारी, सदस्य नवराज अधिकारी, कन्याटार गोल्ड क्लबका उमेश घिमिरे, अभिभावक, शिक्षक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले भौगोलिक रूपमा विकट र आर्थिक रूपमा विपन्न समुदायका विद्यार्थीहरूका लागि पहिलो पाइला नेपाल दमक शाखाले गरेको सहयोग अत्यन्त प्रशंसनीय रहेको बताए ।
कन्याटार गोल्ड क्लबको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम पहिलो पाइला नेपाल दमक शाखाले विभिन्न सहयोगीदाताबाट प्राप्त आर्थिक सहयोगमार्फत सञ्चालन गरेको जनाएको छ ।
०