समाचार

सांसद महेन्द्रकुमारीद्वारा बालुवाटार घटनाका दाेषीलाइ कारवाही गर्न माग

दमक/ दमक–८ बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पार्ने विषयमा निष्पक्ष छानविन गर्न नेपाली काङ्ग्रेसले माग गरेको छ । सो प्रकरणमा जोसुकै संलग्न भए पनि कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने काङ्ग्रेसको धारणा छ ।
नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमकले मङ्गलबार दमकमा गरेको पत्रकार भेटघाटमा नेपाली काङ्ग्रेसकी नेतृ तथा सङ्घीय सांसद महेन्द्रकुमारी लिम्बूले दमक ८ स्थित चर्चामा रहेको ऐलानी जग्गा प्रकरणमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेकी हुन् । लिम्बूले सुकुम्बासीहरूको जग्गालाई अनधिकृत रूपले स्थानीय एक व्यक्तिले सत्ता र शक्तिको पहुँचका आधारमा कब्जा गरेकोमा आपत्ति जनाउँदै त्यसमा संलग्नलाई छानबिन गरी कारबाही गर्न माग गरिन् । रतुवा खोलाबाट विस्थापित भएका सुकुम्बासीहरूको फिल्डबुकसमेत कायम भएका जग्गालाई सङ्गठित गिरोहले आफ्नो नाममा बनाएको भन्दै सुकुम्बासी मार्ने काम काङ्ग्रेसलाई स्वीकार नहुने प्रस्ट पारिन् । सांसद लिम्बूले आफू यस क्षेत्रको जनप्रतिनिधि भएकाले कसैले पनि जनता मार्ने कार्यविरुद्ध आफू कठोर रूपमा प्रस्तुत हुने स्पष्ट पारिन् ।
यस जग्गा प्रकरणमा सरकारले कसैलाई छुट दिन नहुने बताउँदै उनले बालुवाटारको जग्गा वास्तविक सुकुम्बासीको नाममा कायम हुनुपर्ने औँल्याइन् । पत्रकार भेटघाटमा काङ्ग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले दमक ८ स्थित बालुवाटार जग्गा प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे । दमकको विकास र समृद्धिमा नै जग्गा घोटला प्रकरणले सिङ्गो दमकलाई नै गम्भीर असर पु¥याएको भन्दै यस्ता घटना नियन्त्रण गर्न स्थानीय सरकार संवेदनशील नभएको उनको आरोप थियो । जग्गा प्रकरणमा काङ्ग्रेसका स्थानीय नेताहरूको नाम जोडेर कुनै व्यक्तिले सामाजिक सञ्जालमा हालेको भए पनि त्यसमा संलग्नता नभएको उनको जिकिर थियो । पार्टीले यसअघि नै जग्गा प्रकरणमा काङ्ग्रेसका कुनै पनि नेता, कार्यकर्ताहरू संलग्न नभएको विज्ञप्तिमार्फत प्रस्टयाएको थियो ।
युनियनका माईपश्चिम अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा काङ्ग्रेस महासमिति सदस्य सुरेश सुब्बा, पार्टी जिल्ला सहसचिव राजेन्द्र भण्डारी लगायतका नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बालुवाटार जग्गा घोटला प्रकरणमा दमक ६ निवासी नेकपाका केन्द्रीय सदस्य रेवतराज पुरी (गगन) ले अनधिकृत रूपले सो जमिन आफ्नो नाममा कायम गरेको आरोप छ । फरार रहेका पुरीविरुद्ध जिल्ला अदालत झापाले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । पुरीले शक्तिको प्रभावमा वास्तविक सुकुम्बासीका जग्गाहरू आफ्नो नाममा बनाउन सफल भएको अभियोग लागेको छ । जग्गा प्रकरणमा मालपोत र नापीसहित पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

Author

You may also like