देश–समाज

मेची सहकारीद्वारा सहकारी संवाद सम्पन्न, झापामा ८ सय बढी सहकारी सञ्चालित

सहकारी संवाद कार्यक्रम

दमक/ दमकस्थित मेची सहकारी संस्था लिमिटेडको प्रकाशन तथा सञ्चार उपसमितिले बुधबार सहकारी संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको सभाहलमा आयोजित कार्यक्रममा सहकारी अभियन्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । ६५ औं सहकारी दिवसको मूल नारा “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” मा जोड दिँदै कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपानेले सहकारीले गरेका राम्रा कामहरु सूचनाका माध्यमबाट सदस्यहरुसम्म पु¥याउन मेची सहकारीले सुरु गरेको सहकारी संवाद कार्यक्रम प्रभावकारी भएको बताए ।

झापामा ८ सय बढी सहकारी क्रियाशील रहेको जानकारी दिँदै झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य प्रेम कोइरालाले ५ सय बढी सहकारीहरु जिल्ला सहकारी संघको सदस्य भइसकेको बताए । सरकारले ल्याएको सहकारी एकीकरणको नीतिले सहकारीका सदस्यहरुको चाहनालाई पूरा गर्न थप टेवा पुग्ने समेत उनले बताए ।

कार्यक्रममा दमक नगरपालिकाका सहकारी विभागका कर्मचारी इच्छाराम चम्लागाईले न.पा.मा सहकारी विभागको काम गर्ने एक जना मात्र कर्मचारी रहेकोले न.पा.मा सञ्चालित सहकारीहरुको आवश्यक अनुगमन गर्न नसकिएको बताए ।

सञ्चार तथा प्रकाशन उपसमिति संयोजक गीता कुँवरको संयोजकत्वमा भएको कार्यक्रममा सोही समितिका सदस्य विष्णुप्रसाद पोख्रेलले सञ्चालन गरेका थिए । कार्यक्रममा बोल्दै कृषि संघ केन्द्रीय उपाध्यक्ष मीना ढकालले सहकारी संस्था उत्पादनमा लाग्नुपर्ने र कृषिमा आत्मनिर्भर बन्नका लागि एकमात्र थलोको रुपमा सहकारी संस्थामा विकास हुनुपर्ने बताइन् । साथै कोभिड १९ को असरले युवाहरुमा देखिएको बेरोजगारी समस्या समाधान गर्न सहकारी संस्थाहरुले कृषिलाई व्यवसायीकरण गर्नुपर्ने बताइन् ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले मेची सहकारी संस्था लिमिटेडको कारोबार २ अर्ब ७५ करोड माथि रहेको र झापा जिल्लामा रहेका धेरै सहकारी संस्थाहरुलाई प्रविधि, नीति, विधिमा जोड्दै एकीकरण अभियानमा लागेको समेत बताए ।

Author

You may also like