दमक/ दमक नगरपालिकाले पटक–पटकको पत्राचार र सूचनाको बेवास्ता गर्दै सडक वारपार गरी जथाभावी टाँगिएका इन्टरनेट तथा दूरसञ्चारका तार हटाउन थालेको छ । नगर क्षेत्रलाई सुन्दर, आधुनिक, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने अभियानअन्तर्गत नगरपालिकाले मंगलबारदेखि अव्यवस्थित तार काटेर हटाउने काम सुरु गरेको हो ।
नगर प्रहरी प्रमुख रुद्र कार्कीका अनुसार मंगलबार दिउँसो ११ बजेदेखि दमक बजारका विभिन्न क्षेत्रमा सडक वारपार गरी टाँगिएका तथा नगरपालिकाले तोकेको स्थानभन्दा फरक ठाउँबाट क्रसिङ गरिएका तार हटाउने काम सुरु गरिएको हो ।
नगरपालिकाका अनुसार मंगलबार नगरपालिका गेटदेखि हार्डवेयर लाइन, दमक थाना, जेसीज चोक हुँदै शङ्खधर चोक, भृकुटी चोक, रातो पुल, भानुभक्त चोक, फाल्गुनन्द चोक तथा नगरपालिका आसपासका क्षेत्रका सैयौ पोलहरुमा रहेका अव्यवस्थित तार हटाउने काम गरिएको छ ।
नगरपालिकाले यसअघि नै नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कार्यालय दमक तथा दमक क्षेत्रमा सञ्चालित इन्टरनेट सेवा प्रदायक संस्थालाई पटक–पटक पत्राचार गर्दै तार व्यवस्थापन गर्न आग्रह गरेको थियो । नगरपालिकाले सडकको दायाँ–बायाँ पोल गाडेर विद्युत्, टेलिकम तथा इन्टरनेट सेवा प्रदायकका तार व्यवस्थित रूपमा जडान गर्न सकिने व्यवस्था गरे पनि सेवा प्रदायकहरूले सडक वारपार हुने गरी तार टाँग्ने क्रम नरोकिएको जनाएको छ ।
नगरपालिकाले भदौ ४ गते नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्र र दूरसञ्चार कार्यालय दमकलाई पत्र पठाउँदै भदौ ७ गतेभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको थियो । पत्रमा भदौ २० गते हुने श्रीकृष्ण रथयात्राको रुटमा पर्ने सडक वारपारका तारलाई विशेष प्राथमिकताका साथ व्यवस्थापन गर्न भनिएको थियो ।
नगरपालिकाले तोकिएको समयभित्र तार व्यवस्थापन नभए भदौ ८ गतेदेखि नगरपालिका आफैँले त्यस्ता तार हटाउने र त्यसबाट हुनसक्ने भौतिक तथा वित्तीय क्षतिको जिम्मेवारी सम्बन्धित कार्यालय तथा सेवा प्रदायकले नै व्यहोर्नुपर्ने चेतावनी दिएको थियो ।
नगरपालिकाले रथयात्राका कारण हुने आवतजावत तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै रुटमा पर्ने सबै तार तत्काल व्यवस्थापन गर्न सेवा प्रदायकलाई आग्रह गरेको थियो ।
नगरपालिकाले तोकिएका क्षेत्रबाहेक अन्य स्थानमा रहेका तारलाई समेत निर्धारित पोलमा व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । अव्यवस्थित तारका कारण शहरको सौन्दर्य बिग्रिनुका साथै सडक आवागमनमा समेत समस्या र जोखिम बढेको नगरपालिकाको भनाइ छ । नगर प्रमुख रामकुमार थापाले अन्तरसम्बन्धित निकायबीचको समन्वय, सहकार्य र आपसी एकताबाट मात्रै सुरक्षित, व्यवस्थित र आधुनिक शहर निर्माण गर्न सकिने भन्दै सबै सरोकार
वालालाई नगरपालिकाको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।