दमक । दमक बहुमुखी सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति तथा वित्तीय अवस्थाबारे समीक्षा गर्दै आफ्नो २४औँ साधारणसभा सम्पन्न गरेको छ । दमक–८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष मोहनकुमार श्रेष्ठले गरेका थिए ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दमक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष रुवल अधिकारीसहित विभिन्न वित्तीय संघसंस्थाका प्रतिनिधि, संस्थाका वर्तमान तथा निवर्तमान कार्यसमितिका पदाधिकारी, पूर्वअध्यक्ष, सल्लाहकार, विभिन्न समिति तथा उपसमितिका पदाधिकारी, संस्थापक, संयोजक र ज्येष्ठ शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
संस्थाका उपाध्यक्ष बसन्तप्रसाद उपाध्यक्षले सञ्चालन गरेको कार्यक्रममा अध्यक्षको प्रतिवेदन, सञ्चालक समितिको प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा आफ्नो जगेडा कोषमा १६ लाख १७ हजार ५३९ रुपैयाँ थप गरी कुल २ करोड ८२ लाख ६१ हजार १४८ रुपैयाँ पु¥याएको छ । त्यस्तै, ऋण जोखिम कोषमा ५ लाख ८ हजार २०० रुपैयाँ थप भई कोषको कुल रकम ७१ लाख २ हजार ७०८ रुपैयाँ पुगेको जनाइएको छ ।
संस्थाले सहकारीसम्बन्धी प्रचलित कानुन तथा नियमअनुसार विभिन्न कोषमा रकम विनियोजन गरी संस्थाको वित्तीय अवस्था थप मजबुत बनाउँदै लगेको जनाएको छ ।
त्यस्तै, संस्थाले आर्थिक वर्षको असार मसान्तसम्म २० करोड ७७ लाख ८१ हजार ९५१ रुपैयाँ ऋण लगानी गरेको विवरण साधारणसभामा प्रस्तुत गरिएको थियो ।
उत्कृष्ट विद्यार्थी तथा ज्येष्ठ शेयर सदस्य सम्मानित
साधारणसभाका अवसरमा संस्थाले सदस्यका छोराछोरीमध्ये विभिन्न तहका परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
एसईई प्राविधिकतर्फ एक जना, सामुदायिक विद्यालयतर्फ छात्र–छात्रा गरी दुई जना, निजी विद्यालयतर्फ छात्र–छात्रा गरी दुई जना तथा प्रमाणपत्र तह, स्नातक तह र स्नातकोत्तर तहबाट एक–एक जना गरी कुल आठ विद्यार्थीलाई जनही २ हजार ५०० रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुने विद्यार्थीमा आनन्दीकुमारी साह, निसेन कन्दङ्वा, गौरव पौडेल, अकान्छी मण्डल, प्रतीक अर्याल, इशिका नायक, सौरभ रिजाल र स्वप्निल रेग्मी रहेका छन् ।
त्यस्तै, संस्थाले नौ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । सम्मानित हुनेमा गजेन्द्रकुमार श्रेष्ठ, रत्नकुमारी श्रेष्ठ, विश्वनाथ भट्टराई, चक्रबहादुर कार्की, रामकुमारी राई, खगेन्द्रप्रसाद भण्डारी, अम्बिकादेवी उप्रेती, कान्छीमाया खवास र गौरा खड्का रहेका छन्।
यसैगरी कर्मचारीतर्फ गंगा खतिवडालाई सम्मान गरिएको छ भने उत्कृष्ट कर्जा कारोबार, उत्कृष्ट कारोबार, उत्कृष्ट बचतलगायत विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सदस्य तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।
साधारणसभाले संस्थाको वित्तीय अवस्था, सेवा प्रवाह तथा आगामी कार्यदिशाबारे समेत छलफल गर्दै सहकारीलाई थप व्यवस्थित, सदस्यकेन्द्रित र आर्थिक रूपमा सबल बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।