–ः किशोर गौतम दिव्यमः–
चन्द्रमास गणनाविधि अनुसार फाल्गुन पूर्णीमा तिथिमा होली पर्व मनाईन्छ । बिभिन्न प्रकारका हास परिहास गीत संगीत आदिका माध्यमले मनलाई आनन्दित पार्ने यो पर्वलाई सामाजिक समरसताको पर्वका रुपमा व्याख्या पनि गरिन्छ । होली पर्वको महत्व समाजका सबै वर्गमा बराबर रहेको छ । यो पर्वले मानव चेतना स्वास्थ्य र सामाजिक एकताका लागि अति महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अहिलेको परिप्रेक्ष्यमा मानिसहरु आफू र दौतरीहरुबीच विभिन्न प्रकारका रङहरु दलेर रमाईलो गर्दै होली मनाउने गर्दछन । यद्यपि होली पर्वको ईतिहास अध्ययन गर्ने हो भने यो पर्व वैदिक सोमयज्ञको स्वरुप हो । वैदिक यज्ञहरुमध्ये सोमयज्ञ सवैभन्दा उत्तम यज्ञ मानिन्छ । वैदिककालमा पर्याप्तमात्रामा प्राप्त हुने सोमलताको रस निकालेर सोही रसबाट विधिपूर्वक जुन यज्ञ गरिन्थ्यो त्यही यज्ञलई सोमयज्ञ भनेर शास्त्रमा विवेचना गरिएको पाईन्छ । यसरि सोमयज्ञमा प्रयोग गरिने सोमलता कालान्तरमा लोप भएका कारण यज्ञ यागादि सम्पादन गर्न निर्देशन गर्ने ब्राह्मण ग्रन्थहरुमा विकल्पका रुपमा पूतिक अर्जुनबृक्ष जस्ता धेरै वनस्पतिहरुको निर्देशन गरिएको छ । आयुर्वेदका अनुसार अर्जुनबृक्ष हृदयरोज निवारणका लागि महत्वपूर्ण मानिन्छ । सोमलता र अर्जुन बृक्षबाट निर्मित सोमरसको सेवन गरेर यसको शक्तिका प्रभावले ऋषिमुनिहरु ऋमरताको अनुभव गर्दथे भनेर ऋग्वेदमा वर्णन गरिएको छ । (अपाम सोमममृता अभूम–ऋग्वेद) वैदिक यज्ञको यो सर्वोत्तम सोमयाग एकाह अहीन र सत्रयाग कारुपमा तीन प्रकारले आयोजन गरिन्छन । वैदिककालमा सत्रयाग एक वर्षसम्म गर्ने गरिन्थ्यो । यो यज्ञमा ऋत्विक ब्राह्मणले कुनै दक्षिणा लिदैनथे, यत्रको फल नै दक्षिणा मानिन्थ्यो ।यसरी वर्षभरि यज्ञ गरेर शारिरिक रुपमा थाकेका ब्राह्मणहरु आपसमा मनोविनोद हास परिहास गरेर आनन्दिति हुने गर्दथे । सत्रयाग समापनको दिन फाल्गुन पूर्णिमामा यज्ञको पूर्णाहुति पछि सबै मिलेर उत्सवको आयोजन गरिन्थ्यो । होलीमा विभिन्न समुदायहरु एक आपसमा हास्य व्यंग्यका माध्यमले समुदायका कमी कमजोरीहरुलाई देखाईदिने गर्दथे । यस प्रकारका हास्ययुक्त व्यंग्यहरुलाई ”अगिभर अपगर” संबादको रुपमा लिईन्थ्यो । शास्त्रका व्याख्याताहरुका अनुसार अगिभर शब्दले ब्राह्मणलाई जनाउछ भने अपगर यो शब्दले शुद्रलाई चिनाउँदछ । यसरी एक बर्षे सोमयज्ञ समापन गरेपछि बर्षभरिको निरसता हटाउँदै ब्राह्मण र शूद्रहरु एक आपसमा आरोप प्रत्योप लगाएर हास परिहास गरेरै आनन्द लिने गर्दथे । ताड्य ब्राह्मणग्रन्थको होली पर्वको वर्णनमा (सव्र्वा त्वाचो वदन्ति संस्कृताश्च ग्राम्य वाचश्च) भन्ने विवेचना अनुसार यो समयमा सबै नागरिकहरु संसदीय र गाउले लवजका भाषाहरु बेलेर विभिन्न प्रकारका प्रदर्शनहरु गर्ने चलन रहेको पाईन्छ ।
सोमयज्ञ समापनको केही दिन पहिला औदुम्बर (डुम्री) को हाँगा हवन कुण्डका छेउमा गाडेर बिभिन्न प्रकारका गीत संगीत आरम्भ गर्ने परम्परा रहेको थियो । जुन परम्परा हाल चीर गाडने परम्पराका रुपमा प्रचलनमा आएको छ । आयुर्वेद अनुसार डुम्री अति औषधीय गुण भएको वनस्पति मानिन्छ । डुम्रीको हाँगालाई माधुर्यको प्रतीकका रुपमा पनि लिईन्छ । साथै निरन्तर गतिशीलव्यक्तिलेमात्र औदुम्बरको फल खान पाँउदछ भन्ने आशयले पनि यज्ञशालामा यो वनस्पति राखिने गरेको कुरा ऐतरेय ब्राह्मण ग्रन्थमा उल्लेखगरेको पाईन्छ । (चरन्त्वादुमुदुम्बरम् )
होली पर्वका दिन घर घरमा मीठा मीठा परिकारहरु बनाउने चलन अहिले पनि रहेको छ । यस्ता परिकारहरु यज्ञ अनुष्ठान गराउने आचार्यहरुलाई सेवन गराउने उद्देश्यका साथ बनाईन्थ्यो । यसरी वैदिककालमा सोमयज्ञ समापनउत्सवका रुपमा प्रतिवर्ष मनाइने होली पर्वमा समय र व्यवस्थाको माग अनुसार विशेष पक्ष र लक्ष्यहरु थपिदै गए । कालान्तरमा होली पर्वमा भगवानका भक्त प्रह्लादको र उनकी फूपू होलिकाको आख्यान पनि जोडियो । यसरी एक वर्षसम्म चल्ने सोमयज्ञ महाब्रत क्रमस होलि पर्वका रुपमा अनेक विशेषताका साथ उत्तसवका बिभिन्न प्रकल्पहरु थ्प हुदै प्रबद्र्धन भयो ।
हेलि पर्वलाई नवशस्येष्टि पर्व पनि भनिन्छ । प्राचिन कालदेखि नै भारतवर्षमा प्रचुरमात्रामा हिउदै अन्न फल्ने गरेको पाईन्छ । कृषिकर्मबाट उत्पादित अन्न यज्ञ गरेरमात्र उपयोग गर्ने शास्त्र विधि रहेका कारण होलि पर्वका दिन गहु चना जस्ता अन्नलाई आगोमा पोलेर भुटेर सेवन गर्ने गरिन्छ । यस्तो भुटेको पोलेको अन्नलाई होलक भनिन्छ । होलक सेवन गर्ने पर्व भएका कारण पनि यो पर्वको नाम होलि रहेको हो भन्न सकिन्छ ।
यो पर्व काम उद्दीपन पर्व पनि हो । मानव जीवनका चार मुख्य पौरख धर्म अर्थ काम र मोक्ष हुन, ऋतुपरिवर्तन यज्ञ समापन अन्न भण्डारण भएपछि यसको उपभोग नै काम हो । होली पर्वमा गीत संगीत कला कौशल प्रदर्शन, बिभिन्न प्रकारका हास परिहास ब्यंग्य विनोद आदिले मनमा काम बासना जागृत हुन्छ र युवा युवतीले एक आपसमा नैसर्गिक प्रेम प्रकट गर्दछन । यसरी होलि पर्वलाई मानव जीवनको तेस्रो पुरुषार्थ काम वासनाको धर्म अनूकुल उपभोग गर्ने स्वस्थ मान्यता होलि पर्वले प्रदान गरेको छ ।
होलि पर्वमा गरिने सबै प्रकारका विधि र कृयाकलापहरु समाज उपयोगी, वैज्ञानिक र तर्कसम्मत रहेको पाइन्छ । होली पर्वमा गरिने नाच गान हो हल्ला र आदि पनि मानव स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ, आयुर्वेदमा वर्णन गरिएको छ बसन्तऋतुमा “कफश्चित्तो हि शिशिरे वसन्तेर्कांशु तापितः। हत्वाग्निंकुरुते रोगानतस्तं त्वरया जयेत” अर्थात शिशिरऋतुमा हामीले खाएका अनेक प्रकारका भोजनका प्रभावले हाम्रो शरिरमा कफ पित्त आदि जमेको हुन्छ र जव बसन्त सुरु हुन्छ तव त्यो कफ पित्त आदि पग्लन थाल्दछ जसको परिणाम स्वरुप हामीलाई रुघा, सर्दी ज्वरो स्वास प्रस्वासको समस्या आदि आउन थाल्दछ यस्ता मौसमी रोगबाट बच्नका लागि ठूलो स्वरले चिच्याउने,हानीरहित औषधियुक्त नस्यसेवन गर्ने, आगोमा पोलेका भुटेका अन्नहरु खाने, व्यायाम र बिभन्न प्रकारका आघातबाट शरिरलाई थकित बनाउनु पर्ने कुरा आयुर्वेदमा बताईएको छ ।
होलि पर्वमा सबै भन्दा प्रमुखताका साथ प्रयोग गरिने वस्तु भनेको रङ हो । प्राचीन आयुर्वेदमा रङबाट गरिने उपचारको विशेष वर्णन पाईन्छ । रङचिकित्सा प्राच्यविद्याको आयुविज्ञानमामात्र हैन यो उपचारबिधि संसारभरी नै प्रचलित छ । प्राचीनकालमा ओलिमा प्रयोग गरिने रङ बिभिन्न प्रकारका वनस्पतिबाट तयार गरिन्थ्यो । विशेष गरेर पलासको फूलबाट रङ बनाएर एक आपसमा दल्ने गरिन्थ्यो । आयुर्वेदमा पलासको बोक्रा, पत्ता, जरा र यसको चोपबाट विभिन्न प्रकारका औषधिहरु निर्माण गरिन्छ । पलासको फूलबाट तयार गरेको रङशरिरमा लगाउदा विभिन्न रोगहरु ीनको हुने कुरा आयुर्वेद ग्रन्थमा यसरी बर्णन गरिएको छ । “एतत्पुष्पं कफं पित्तं कुष्ठं दाहं तृषामपि । वातं स्वेदं रक्तदोषं मूत्रकृच्छं च नाशयेत ”अर्थात पलासको फूलले कफ, पित्त, कुष्ठरोग, छालापोल्ने रोग, अति प्यास लाग्ने रोग, बात पसिनाको दुर्गन्ध रगतको समस्या, पिसाव सम्बन्धी दोषलाई निको पार्दछ । यसरि दिन भरी होलीमा रङ दलेर अपराह्नमा नुहाएर शरिर साफ बनाएपछि ईष्टदेवताको पूजा गरि आफन्त र मान्यजनसंग भेटघाट गरेर यथायोग्य अभिवादन गरि आपसी मनमुटाव समाप्त गरिन्छ । र सबै समुदाय बर्ग को हित र आत्मकल्याणका लागि आपफूलाई तयार गरिन्छ ।