बिवश बलिभद्र कोइराला
संसारको सबैभन्दा अभागी मान्छे
ऊ
आफ्नो मृत्युमा
आफैं मात्र शोक गीत गाउँछ
आफू एक्लै मलामी जान्छ
र, आफ्नो मृत्युको संवेदना
आफैं मात्र दिन्छ ।
,,,,,,,,,,भुँइकुइरो
आदरणीय दाजु प्रकाश बुढाथोकीले लेख्नु भएका कविताहरुको सङ्ग्रह ‘भुँइकुइरो’ केही दिन अघि मात्र दमकमा बरिस्ठ गायक तथा सङ्गीतकार दाजु शिव शंकर थापाको प्रमुख आतिथ्यता तथा पूर्वका अधिक साहित्यकारहरुको उपस्थितिमा भब्यताका साथ विमोचन भयो । कवितामा निक्कै लामो, प्रेरणादायी र अनुकरणीय साधना, योगदान र अभियानको यात्रा तय गरि स्थापित उहाँ सङ्ग्रह प्रकाशन पूर्व नै स्थापित र चर्चित कविको कित्तामा उभिएको कवि हो । हुन त प्रकाश दाजुका कविता सुन्दै र साथमा विभिन्न किसिमका कार्यक्रमहरु उत्पादन र सम्पादन गर्दै हुर्किएको म यत्तिकै पनि दाजुका रचनाहरुको र उहाँको हार्दिकता, सरलता र सादगीपनको खुल्ला प्रशंसक हुं । त्यसकारण पनि हुनुपर्छ मैले एकमुष्ट रुपमा कवि प्रकाश दाजुलाई ‘भुँइकुइरो’ मा पढ्न पाएँ । यो मेरा लागि मात्र नभएर सबैका लागि खुसीको कुरा भयो । म कविताका बारेमा अझ भनौं प्रकाश दाइका कविताका बारेमा बोल्ने हुति, सामथ्र्य र दुस्साहस केही पनि गर्न सक्तिन । तर दाजुका कविता बुझाउन अर्को उन्नत खेतालो खोज्नु नपर्ने भएर होला सङ्ग्रहमा प्रकाशित सबै कविताहरु हुरुक्कै हुनेगरी मन परेका छन् ।

दशैं बिदाईका दिन कदम थिएटरको आयोजनामा एउटा फरक स्वाद र शैलीमा कार्यक्रम आयोजना भएर पुस्तक लिएर घर आएपछि के के कुराहरु भने खेलिरहेका छन् । कदम थिएटर आफैंमा क्रियाशील सिर्जनात्मक युवाहरुको संस्था हो । सिर्जनात्मक विविध आयामहरुमा निरन्तर वाहवाही ! कमाउन सफल छ यो पूर्वमा । कलाकार, लेखक, कवि, निर्माता, निर्देशक, प्रशिक्षक, गायक सबैको साझा थलो हो दमकको कदम थिएटर । सिक्नेहरुको खुला गन्तव्य पनि । नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकार हेमन्त बुढाथोकीको साथ, हौसला र सहयोगमा स्थापित यस मञ्चले नियमित अवसरहरुको सिर्जना गरि दक्ष सर्जकहरुको उत्पादन गरिरहेको छ । जस्ले प्रकाश दाइको पुस्तक प्रकाशित गरि कविको, कविताको सम्मान त गरेकै छ, कविता पारखी पाठकको तिर्खालाई पनि सम्बोधन गरेको छ । यसका लागि कदम थिएटरलाई स्यावासी छ ।
बगलामुखी अफसेट प्रेस काठमाडौंले छाप्ने जिम्मा पाएको भुइँकुइरोले निक्कै शक्तिशाली कविताहरु छाप्ने मौका पायो भन्ने लाग्छ । कविका, कविताहरुले ढिलै भएपनि एकैठाउँमा समेटिन पाए तर सजिन पाएनन् कि भन्ने लागेको छ । कविताको बान्की अनुसार पुस्तकले बान्की नभेटेको हो कि जस्तो लाग्ने । अलिक पुरातन शैलीमा आधुनिक व्यञ्जन सजाएको जस्तो, खल्लो खल्लो लाग्ने । पहिलो संस्करणले अवस्य दाजुका कविताहरुको मागलाई धान्दैन । त्यसैले दोस्रो संस्करणमा चाहिँ प्रकाशक र मुद्रक दुवैको ध्यान पुग्ने आशा गर्दछु । हुन त रुप चाँही गुणका अघि फिक्का हो । दाजुका कविताले पाठकको मन लुटी हाल्छन् । तै लागेको कुरा बोलियो, दाजुलाई बधाई । प्रकाशक, वितरक सबैलाई धन्यवाद । भुँइकुहिरोले पाठकको मनलाई निथ्रुक्कै पारोस् । हार्दिक शुभकामना ।