नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई नेपालीले जनताले अवसरको रुपमा लिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र न ५ झापाले आइतबार दमकमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारलाई हराउन मंसिर ४ गतेको निर्वाचनलाई जनताले अवसरको रुपमा लिनुपर्ने बताए ।
एमाले क्षेत्रीय समन्वय कमिटी झापा क्षेत्र नं ५ का संयोजक तुलसी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एमालेलाई जिताएर रोकिएको मुलुकको विकास समृद्धिको यात्रालाई अघि बढाउन एमालेलाई मतदान गर्नुपर्ने बताएका हुन् । एमालेको सरकार बनेपछि जन्मसिद्ध नागरिकताको समस्या एक महिना भित्र हल हुने नेता ओलीले जिकिर गरे ।
अहिले पनि गठबन्धन सरकारको दम्भका कारण नागरिकता विधेयक संशोधन नहुँदा समस्या जहाँको त्यहीँ रहेको उनले बताए । ५ वर्ष भित्र सुकुम्बासीहरुको धनीपुर्जा लगायतका समस्या अन्त्य हुने नेता उनको भनाई छ । स्वास्थ्य बिमाको प्रसंग उठाउँदै अहिलेको सरकारले स्वास्थ्य बिमा बन्द भएको घोषण नगरे पनि ब्यवहारमा बन्द गरेजस्तै भएको नेता ओलीले आरोप लगाए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी प्रदेश नम्बर १ का सदस्य तथा सशस्त्र प्रहरी बल नेपालका पूर्वप्रहरी उपरीक्षक भरतबाबु कार्की सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

उनलाई अविर र खादा लगाएर एमाले पार्टीमा अध्यक्ष ओलीले स्वागत गरे । कार्कीसहित उल्लेख्य संख्यामा झापा क्षेत्र नम्वर ५ भित्रका नेपाली काँग्रेस, एस, माओवादी केन्द्र,राप्रपा, स्वतन्त्र ब्यक्तिहरु समेत एमालेमा प्रवेश गरेको एमाले क्षेत्रीय समन्वय कमिटीले जनाएको छ । एक साता अघि एमालेमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले आफू प्रहरी प्रमुख हुँदा आपराधिक गतिविधिका कार्यहरुलाई नियन्त्रण गरेको बताउँदै अब राजनीतिक फटाहालाई तह लगाउन एमालेमा प्रवेश गरेको सशस्त्र प्रहरी बलका पूर्व प्रहरी उपरीक्षक कार्कीले बताए ।
कार्यक्रममा बोल्दै पार्टी केन्दीय सदस्य तथा उद्योग विभागका उपसंयोजक दुर्गा प्रसाईले विदेश पलायनलाई रोक्न उद्योग सञ्चालन गर्नुपर्ने, मिहिनेत गरेर खानु पर्ने बताउँदै पार्टी प्रवेश गर्ने युवा विद्यार्थी लगायतका ब्यक्तिहरुलाई पार्टी प्रवेश पछि कुनै पछुतो हुन नदिने धारणा राखे । झापा आएका ओली आइतबार राती दमकमा बास बसी आज सोमबार विर्तामोडमा हुने एक कार्यक्रममा सहभागी हुने जानकारी गराइएको छ ।
अध्यक्ष ओलीले आइतबारनै दमक नगरपालिका-९ स्थित धिमाल जाति संग्रहालय र दमकमै बनिरहेको भ्यू टावर अवलोकन गरेको सो पार्टीको प्रदेश कमिटीका सदस्य होम बहादुर थापाले बताए । अध्यक्ष ओली आज सोमबारनै राजधानी काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ ।