दशैं दशा नबनोस्

आज सोमबारका दिनदेखि बडादशैं शुरु भएको छ । घटस्थापनाका दिन परेकाले आज नेपाली हिन्दुहरुले घर घरमा नवदुर्गा भवानीको आशिर्वाद प्राप्त होस् भन्दै जमरा राख्ने गर्दछ । साथै नवरात्रभरि पूजा पाठ गर्ने गर्दछन् भने विजयादशमीका दिनदेखि आ-आफ्ना मान्यजनबाट आशिर्वाद थाप्नुका साथै रातो अक्षताको टिका र जमरा ग्रहण गर्ने गर्दछन् ।

यो चलन नेपालमा लामो समयदेखि चल्दै आएको छ । फूलपातीका दिन शाकाहारीहरुले दहि, चिउरा, कोला, फलफूल लगायतका मिष्ठान्न भोजन गर्दछन् भने मांसाहारीहरु खसी लगायतको बली दिइ मांशाहार गर्ने गर्दछन् ।

यो हामी नेपालीहरुको पुरानो परम्परा हो । दशैंमा विजयादशमीका दिनदेखि पाँच दिन अर्थात् पूणर्िमाका दिनसम्म टिका जमरा ग्रहण गर्ने गरिन्छ । साथै मान्यजनले आफूले मान्नुपर्ने नातेदारहरुलाई र कतिपय अवस्थामा ज्येष्ठहरुलाई उनीहरुलाई मान्नुपर्ने अवस्थामा दक्षिणाका रुपमा नगद र लुगा कपडा दिने प्रचलन पनि छ । घरमा आएका पाहुनाहरुलाई मिठो मसिनो पाक पकवानहरु खुवाउने चलन पुरानै हो । विगतका दुई वर्षमा कोरोनाको महामारीले खासै जमेर दशैं मनाउन सकिएन ।

तर अहिले यो अवस्था छैन । कोरोनाको महामारी फाटफुट्ट रुपमा रहेपनि मत्थर भइसकेको छ । नेपालका बजारहरु र गाउँबस्तीमा मानिसहरुको आवतजावत बढेको छ । विदेश र स्वदेशका विभिन्न स्थानमा व्यापार, व्यवसाय र नोकरीका लागि गएकाहरु आफ्नो मूलघर फर्कने तयारीमा लागेका छन् । दशैंमा देश विदेशमा रहेका दाजुभाई तथा दिदीबहिनी र इष्टमित्रहरु एकै ठाउँमा भेला भएर भलाकुसारी गर्ने र दशैंलाई महान चाडका रुपमा मनाउने गर्दछन् । यो प्रचलन पहिलेदेखि नै चलेको हो ।

तर चाडवाड मनाउने नाममा ऋणपान गर्ने र तडक भडक गरी दशैं मनाउने गर्दा कतिपयको आर्थिक अवस्था नाजुक हुने गरेको पाइन्छ । हुनेखाने र धनी साथै सम्पन्न वर्गले त सकेसम्म खर्च गर्ने र दक्षिणा पनि धेरै धेरै दिने गरेको कतिपय अवस्था विगतको समयलाई फर्केर हेर्दा पाइन्छ । तर यो राम्रो कुरा होइन । अनि त्यसैको देखासिकी गर्ने चलनले झन खराब अवस्था निम्त्याउँछ । विपन्न र गरीव परिवारले आफ्नो गच्छे अनुसारको दशैं मनाउनु पर्छ । उखानै छ, घाँटी हेरी हाड निल्नु । आफ्नो क्षमताअनुसारको मात्र खर्च र लवाईखवाई गर्नुपर्छ । अहिलेको अवस्थामा नेपालीहरुको आर्थिक अवस्था पनि विगतको कोरोनाको महामारीले गर्दा भनेजस्तो छैन । उद्योगी व्यवसायीको पनि आर्थिक स्थिति खस्किएको छ । आम्दानीको बाटो बन्द हुँदा र व्यापार व्यवसाय भनेजसरी नचल्दा पैसा कमी हुनु स्वाभाविक पनि हो ।

अझ कृषि प्रधान मुलुक नेपालमा किसानहरुको हालत झनै कमजोर छ । निर्वाहमुखी खेती प्रणाली अपनाएको अवस्थामा भनेजतिआम्दानी हुँदैन । खाडी लगायतका मुलुकमा गएको होनहार युवाहरुले पठाएको पैसाले सँधैभरि चल्दैन । त्यो त उमेर र बलबैंश छउन्जेल मात्र हो । युरोप अमेरिका जानेहरु पनि कमै छन् । यस अवस्थामा दशैंलाई मितव्ययी तरीकाले मनाऔं ता कि दशैं कसैका लागि पनि दशा नबनोस् ।

Leave a Reply

Your email address will not be published.