देश–समाज राजनीति विचार/वहस स्थानीय

निर्वाचनको भीडमा हराएको राजनैतिक चेतना

जेन्जीहरूको आन्दोलनको परिणाम देश निर्वाचनको भूमरिमा रूमल्लीरहेछ । जेन्जीहरूले देशमा बिकृति, बिसंगति, अन्याय, अत्याचार र भ्रष्टाचारको जे वास्तविकता देखे, यो सभ्यता र देश विकासको सूचक हुदै होईन भन्ने कुरा महशुस गरेर आन्दोलनको बिगुल फुके । आन्दोलन केवल २ दिन चल्यो तर जेनजीहरूले चाहेर नचाहेर देशका व्यक्तिगत एवम् सार्वजनिक संरचनाहरू माओबादीको दश बर्षिय जनयुद्दमा भन्दा पनि बढी क्षति भयो । यसप्रति देशको आगाध माया गर्ने सबैको मन मुटु छियाँछियाँ त भएकै छ । तर प्रकृतिमा एक पटक देखिएको विकराल विपत्तिपछि वातावरण शान्त हुन्छ भन्ने प्राकृतिक नियम झैं धेरैले जेनजी आन्दोलनमा भएको क्षतिलाई अलिकति पर राखेर आसा गरे, अब देशले बिस्तारै सभ्यताको पखेटा फट्फटाउने छ । भ्रष्टाचारका दुर्गन्धहरू बिस्तारै किनारा लाग्दै जानेछ र देश विकासको गतिमा एक कदम अगाडि बढ्ने छ ।
जनताले भोग्नु परेको पीर र ब्यथाका चाङहरू बस्तारै किनारा लाग्दै जानेछन् । तर परिस्थितिले यस्तो आँकलन गर्न सकिने अवस्था पटक्कै निर्माण गरिरहेको छैन । जनताका खुशिहरू ब्यबहारमा उतार्न सकिने कुनै प्रारूप नै देख्न सकिएन अहिले देशमा । यसको मूख्य जिम्मेवारी कोसंग छ, जनतासंग कि नेतासंग ? यो निरूत्तरित प्रश्न बनेको छ ।
विश्व इतिहासलाई नियाल्ने हो भने विश्वका ठूठूला राज्यहरू जे जसरी परिवर्तन भए, त्यसपछि उनीहरूले विकास निर्माणको क्षेत्रमा पछाडि फर्किएर हेर्नु नपरेको गौरवमय इतिहास बोकेका राज्यहरू छन् ।
कुनै दिन रोमन साम्राज्यको उपनिवेशमा रहेको ब्रिटेन पाँचौं शताब्दीमा रोमन साम्राज्यबाट स्वतन्त्र भएपछि आजसम्म विकासको गतिमा अक्कासिँदो अवस्थामा अगाडि बढिरहेछ । विश्व साम्राज्य खडा गर्नसम्म सक्षम राज्य आज पनि उ निर्णायक शक्तिकै दर्जामा छ ।
ई.स. १७७६ को परिवर्तनपछि अमेरिका आज सम्म पछाडि फर्कनु परेको छैन । उ नजानिँदो पाराले विश्व सम्राट बन्न खोजिरहेको छ । सन् १९१७ मा स्वतन्त्र भएको रूसले विश्वलाई चुनौति दिईरहेको छ । सन् १९५० देखि राजनैतिक परिवर्तनसंगै विकासको लय समातेको चीन आज अमेरिकी समकक्षमा छ । सन् १९४७ मा स्वतन्त्र भएको भारत आज दक्षिण एसियाली क्षेत्रीय शक्तिको रूपमा उदाईरहेछ । नेपाल र भारत स्वतन्त्रताको इतिहास एकै दशकको छ तर नेपालमा जत्रोसुकै परिवर्तनकारी आन्दोलन गरेर ठूठूला परिवर्तन ल्याए पनि यो परिवर्तनले किन स्थायित्व प्राप्त गर्न सकेन ? हामी किन एक कदम अगाडि र दुई कदम पछाडिको स्थितिमा छौं ? र किन क्रान्ति क्रान्तिको सस्तो नारा जपि रहेछौं ? के अहिले पनि देशले क्रान्ति नै खोजेको हो त ? क्रान्ति किन र के–का लागि यो पेचिलो प्रश्न बनेको छ ।
देश अहिले निर्वाचनमा होमिएको छ । बहुदलीय राजनैतिक ब्यबस्था भएको देश हुनाले देशमा धेरै राजनैतिक दल हुनु अनौठो होईन । निर्वाचनमा प्रत्येक राजनीतिक दलको उम्मेदवार हुनु स्वभाविक हो । तर, राजनैतिक दलहरू संख्यामा जति धेरै छन् गुणमा पनि त्यही अवस्थामा हुनु पर्ने हो । तर स्थापनाको हिसाबले नयाँ राजनैतिक दलमा मात्र होईन बर्षले पुराना भनिएका राजनैतिक दलमा पनि राजनैतिक संस्कार नदेखिनु, उनीहरूमा संयमता र धैर्यताको खडेरी पर्नु देशको लागि अत्यन्त जोखिम हो भन्ने सबैले समयमा बुझिदिएको राम्रो ।
आज यो निर्वाचनको घडिमा धेरै राजनैतिक दलका नेताहरू उच्च शैक्षिक योग्यता हासिल गरेकाहरू पनि देखिएकाछन् । आफूलाई राजनीतिका मसिहा ठान्ने नेताहरू बग्रेल्ती छन् । गड्याङगुडुङको बेला आकास थाम्ने हुटिट्याउहरू जस्ता आफू राजनीतिमा नभए देशै नरहने जस्तो हुँकार गर्ने नेताहरूको संख्या पनि कम छैन देशमा । तर बोलि बचन, व्यवहार, एकले अर्कोलाई गर्ने मान–सम्मान हेर्दा उहाँहरूमा राजनैतिक संस्कारको कुरा त धेरै पर, राजनैतिक चेतना नै नभएको आभाष हुन्छ । लाज नमानी भन्नुपर्दा नेताहरू नुवाकोटमा पर्वको रूपमा जुधाईने साँढे जस्तो फाक्क–फुक्क, हाक्क–हुक्क गर्ने प्रकृतिको देखिनु हुन्छ ।
यो प्रवृति देश निर्माणको लागि जीवन हत्केलामा राखेर अघि बढेका राजनेताहरूको लागि शोभाको अलंकार हुँदै होईन ।
नेताहरूको भाषणमा आफ्नो नीति, सिद्धान्त, दृष्टिकोणका कुराहरू हुँदैै हुँदैनन भने पनि हुन्छ । भएपनि तिलस्मी पाराको । पुरा गर्न नै नसकिने । बाँकी समय विपक्षको क्षिद्र खोजी खोजी माछाको काँढा टक्टक्याएको जस्तो टक्टक्याएर नांगो बनाउनु भन्दा अरू केही हुँदैन । के यो राजनैतिक संस्कारको अनुभूति हो र ? निर्वाचनबाट फर्किएपछि हाम्रो सामाजिक सद्भाव सबै हराएर जाने हो ? नेताको यस्तो हर्कतबाट आफ्ना कार्यकर्ताले के सिक्ने ? त्यही गाली गलौज ? त्यही क्षिद्र पहिचान ? निकृष्ट भाषाको प्रयोग ?
हामीले यो बुझ्न जरूरी छ कि, अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, न्यूजिल्याण्ड आदि जस्ता देशका जनताहरूमा राजनैतिक चेतना नै नभएर वा धेरै दल खोल्न पहुँच नपुगेर द्वि–दलीय ब्यवस्था कायम गरिएको होईन । ब्रिटेनमा एक थान सबल संबिधानको पुस्तक छाप्न नसकेर अलिखित संविधान कायम गरिएको हुदै होइन । संबिधान र कानून त सचेत नागरिकले कानून सम्मत ढंगबाट मान्ने अवस्थासम्म मात्र त हो । ती देशमा पनि निर्वाचन हुन्छ तर देशका नेता तथा कार्यकर्ताहरू गाली गलौजको यस्तो निकृष्ट धरातलमा उक्लिएको महशुस हुँदैन । हो हाम्रो देशमा यही कुराको बिकराल खडेरी परेको देखिएको छ अहिले ।
खेल पनि एउटा राजनीति हो– खेल–राज–नीति । त्यहाँ पनि खेलको नियमको उच्च पावन्दी हुन्छ । खेलमा प्रवेश गर्ने उमेर हुन्छ र कुन उमेर सम्म खेल्दा आफूले पर्याप्त परिणाम दिन सकिन्छ ? त्यसको मूल्यांकन आफै गर्दछन् खेलाडीहरू । खेलको नियम नमान्नेहरू रातोकार्डबाट बेईज्जती ढंगले मैदानबाट बाहिरिनु पर्दछ । खेलको लय बिग्रदै गएपछि खेलाडीहरूलाई अरूले खेलबाट सन्यास नलिन लाख अनुरोध गरेपनि आफै सम्मानपूर्बक सन्यास लिन्छन् । खेलबाट बर्हिगमन हुन्छन् । के हाम्रा नेताहरूमा ती खेलाडीहरूको जत्तिको सामान्य सोच पनि छैन ? उहाँहरूलाई सुखद् बर्हिगमनको ईच्छा हँुदैन ? जीवनभर परिश्रम र मिहिनेत गरेर जीवन हत्केलामा राखेर कमाएको मान प्रतिष्ठा आफू जीवित हँुदा नै खरानी बनाउने ईच्छा हुन्छ उहाँहरूलाई ? यस्तो तीतो तर सत्य प्रश्न सोधेर कसले सचेत गराउने उहाँहरूलाई । यो अहिलेको जटिल प्रश्न हो यसैले अहिलेका नेताहरुको उदाङ्गीएको चरित्रलाई इंगित गरिदिने द ईम्पेरर न्यू क्लोथ्सको असल पात्र त्यो निष्पक्ष बच्चा जन्माउने उचित समय हो यो । हरेक नेता र कार्यकर्ताहरुले निर्वाचनको पगरी गुत्थे होडबाजीमा उनीहरुको राजनीतिक चेतना थोरै मात्र नभएपनि नगुमोस् यो आम नेपालीको चाहना हो ।

Author

You may also like