समाचार

दशैंमा बढेन व्यापार, व्यापारी चिन्तित

     दमक/सामान्यतया दसैं आउन लाग्दा किनमेल गर्नेको भीड बजारमा लाग्ने गर्दछ । दसैंका लागि सामग्रीको जोहो गर्न दसैं आउन एक महिनाअघिदेखि शहर बजारमा चहलपहल हुनु पर्नेमा यस वर्ष दसैं भित्रिइसक्दा पनि अपेक्षित व्यापार नहुँदा व्यापारी चिन्तित बनेका छन् । पूर्वका शहर बजारका व्यपारीहरू दसैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् । दसैंको समयमा अघिल्ला वर्षहरूमा ग्राहकहरुको ठेलमठेल हुने बजारमा अहिले चहलपहल कम मात्र छ । केही चहलपहल त छ तर सोचेअनुसारको ब्यापार हुन नसकेको व्यापारीले गुनासो गरेका छन् ।

कोरोना महामारी पछि व्यापार व्यवसाय राम्रोसँग फष्टाउन नसकेको उर्लाबारी-७ का व्यापारी हेमराज अग्रवाल बताउँछन् । गाउँ गाउँमा साइकलमा सामान बिक्री गर्ने झोलेपोके व्यापारीका कारण पनि बजार सुस्ताएको उनको भनाई छ । कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकको चहलपहल कम भएको हुनसक्ने अग्रवाल बताउँछन् । उनले विगतका वर्षको तुलनामा यस वर्ष कमै मात्र व्यापार भएको बताए । यस्तै उर्लाबारीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका मनोरथ भण्डारी सोचेअनुसारको व्यापार नहुँदा पसलको भाडा तिर्न पनि हम्मेहम्मे परेको बताउँछन् ।

दसैं नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याएका व्यवसायीहरू ग्राहक नआउँदा समस्यामा परेको बताउँछन् । कोरोना भाइरसको संक्रमण कम भएपनि बढ्दो डेंगीका कारण नागरिकहरू दसैंको सामान किन्न खासै बजार निस्किएका छैनन् ।

ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण कमै देखिएको छ । उर्लाबारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङ दसैँ आएपनि व्यापारमा भने दसैँ नआएको बताउँछन् । ‘कोरोना कालको दसैँभन्दा पनि व्यापारमा गिरावट आएको छ’ उनले भने, ‘खरिदबिक्रीको अवस्था नाजुक छ ।’ मुलुकको गिर्दो आर्थिक अवस्थाका कारण व्यापारमा गिरावट आएको महासचिव गुरुङको बुझाई छ ।

कोरोना महामारीमा थिलथिलो बनेको बजार यस वर्ष दसैंको समयमा सुध्रिने अपेक्षा गरिएको छ । महामारीअघि दसैं तिहार नजिकिएसँगै शहर बजार र साप्ताहिक हाटमा किनमेल गर्न सर्वसाधारणको घुइँचो हुने गर्दथ्यो । तर, दुई वर्ष कोरोना महामारीले दसैं बजार ठप्पप्राय बन्यो भने अहिले महामारी कम भएपनि पहिलेकै लय लिन नसकेको उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई बताउँछन् ।

व्यापार व्यवसायमा यस्तै अवस्था रहेमा कतिपय व्यापारी, व्यवसायी पलायन हुने अवस्थामा पुग्ने आंकलन गरिएको छ । ‘कोरोना महामारीका कारण धेरै व्यापारी टाट पल्टिए एक व्यापारीले भने, ‘अझै यस्तै गरी व्यापारमा मन्दी रहीरहने हो भने अरुको पनि भविष्य सुनिश्चित छैन ।’

You may also like